७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

किमलाई भियतनामको उदाहरण पछ्याउन आग्रह

तस्विर : एजेन्सी

वासिङ्टन– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनलाई भियतनामको उदाहरण पछ्याउन आग्रह गरेका छन्।

उनले भियतनामले अमेरिकासँग सुधारेको सम्बन्धको उदाहरण पछ्याउन र समृद्धिको बाटोमा लाग्न उत्तर कोरियाली नेता किमलाई आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि प्योङयाङले हनोईकै बाटो पछ्याएर अमेरिकासँग सम्बन्ध सुधार गर्ने विषयमा विश्वस्त रहेको उनले बताएका छन् । विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाले भियतनामकै बाटो पछ्याउँदा राम्रो हुने भए पनि त्यसका नेता किम जोङ–उनले उचित समयमा निर्णय गर्न सक्नु पर्ने बताएका छन् ।

भियतनामको राजधानी हनोईमा व्यापारिक अधिकारीहरुसँग बोल्दै विदेशमन्त्री पोम्पेओले अमेरिकाले कुनै दिन भियतनामसँग जस्तै उत्तर कोरियासँग पनि एउटै तहको साझेदारी बाँड्ने विश्वास व्यक्त गरेको रोयटर्सले जनाएको छ । अमेरिका र भियतनाम लामो समयसम्म एकअर्काका विरोधी राष्ट्र थिए तर अहिले दुई देशबीच कूटनीतिक मात्रै नभई व्यापारिक सम्बन्ध पनि अत्यन्तै राम्रो रहेको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किमलाई आणविक हतियकार कार्यक्रम त्याग गराउनेबारेमा प्योङयाङमा भएको कडा बैठकको दुई दिनपछि अमेरिकी विदेशमन्त्री पोम्पेओको यस्तो भनाइ आएको हो । उक्त बैठकमा अमेरिकी विदेशमन्त्री पोम्पेओले ‘ग्याङस्टर’ को जस्तो कूटनीतिक शैली प्रयोग गरेको उत्तर कोरियाले आरोप लगाएको थियो।

दुई देशबीचको पछिल्लो बैठकमा केही तनाबपूर्ण अवस्था आएको भए पनि उत्तर कोरियाले भियतनामकै बाटौ पछ्याउने विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वास व्यक्त गरेको पोम्पेओले आइतबार बताएका हुन् । आफ्नो सार्वभौमिकता र सरकारको संरचनामा कुनै चुनौती हुन नदिने ग्यारेन्टीसहितको अमेरिकासँगको सम्बन्धले मात्रै देशमा सुधार आउने विश्वासहित भियतनामले अमेरिकासँग सम्बन्ध गाँसेको अमेरिकाले बताउने गरेको छ ।उनले विश्वचित्रमा भियतनामको उदय अमेरिकासँग सन् १९८५ मा सुरु भएको युद्धपछि अमेरिकासँगको साझेदारीकै उपज भएको भन्दै उत्तर कोरियालाई पनि भियतनामकै बाटो पछ्याउन आग्रह गरेको रोयटर्सले जनाएको छ ।

पछिल्ला दुई दशकमा अमेरिका र भियतनामबीचको द्विपक्षीय व्यापार बढेर आठ हजार प्रतिशत पुगेको र अमेरिकी कम्पनीले अर्बौं अमेरिकी डलर भियतनाममा लगानी गरेको समेत व्यापारीहरुसँगको भेटघाटमा उनले बताए । ‘हामी मिलिरहेको र झगडा नगरिरहेको तथ्य नै कुनै पनि देशले अमेरिकासँग मिलेर जाँदा प्रगति गर्न सक्छ भन्ने उदाहरण हो र हामी हाम्रा प्रतिबद्धता कायम राख्न सधैं तत्पर छौं,’ पोम्पेओलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । ‘यस्तै चमात्कार उत्तर कोरियाको पनि हुनसक्छ,’ उत्तर कोरियाली नेता किमप्रति इंगित गर्दै पोम्पेओले बताए ।

‘उत्तर कोरियासँग अमेरिकाले के चाहेको छ भन्ने विषय प्रष्ट छ र अब अमेरिकासँग कस्तो सम्बन्ध राख्ने भन्ने विषय उत्तर कोरिया र त्यहाँका नागरिकको हो,’ पोम्पेओले बताए । दुई दिनअघि प्योङयाङमा भएको अमेरिका–उत्तर कोरियाबीचको बैठकमा सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धका बेला मारिएका अमेरिकी नागरिकको बाँकी अवशेष अमेरिका फिर्ता पठाउनेबारेको बैठक यही जुलाई १२ का दिन गर्ने विषयमा सहमति भएको विदेशमन्त्री पोम्पेओले पत्रकार सम्मेलनका क्रममा शनिबार बताएका थिए ।


 

प्रकाशित: २५ असार २०७५ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App