coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बजारको झमेलामा थांका र पौभा

काठमाडौं - सरकारले बजेटमार्फत सन् २०२० लाई भ्रमणवर्षको घोषणा गर्दै २० लाख पर्यटक नेपाल भित्र्याउने योजना बनाइरहँदा कलाकारमा भने भ्रमण वर्षको सदुपयोग कसरी गर्ने भन्ने चिन्ता सुरु भएको छ।

सरकारको चीनबाट रेल ल्याउने घोषणा पूरा भएको खण्डमा त्यहाँबाट आउने चिनियाँ पर्यटकले थांका र पौभा लैजाने धेरैको बुझाइ छ ।अन्तर्राष्ट्रियकरण हुन नसकेको नेपालको मौलिक थांका र पौभा भने स्थानीय बजारमै पनि पर्याप्त उपलब्ध छैन् । राज्यको बेवास्ताले पछि परेका थुप्रै मौलिक कलामध्ये पौभा र थांका पनि हुन् । शनिबार थांका र पौभा कोर्ने कलाकार एकै थलोमा भेला भएर थांका र पौभाको बजार खोज्न जमर्को गरे । २०४६ सालको प्रजातन्त्रपछि थांका कोर्नेहरूले आफूहरू कलाकार त भएको तर  साहुको घेराबाट उम्कन नसकेको निष्कर्ष निकाले ।

बुद्ध नेपालमै जन्मेको र नेपालकै थांका पुरानो हो भन्ने पुष्टि भए पनि  तिब्बती कलाको नाम भिर्न नेपाली थांका बाध्य रहेको कलाकार रामबहादुर लामा बताउँछन् । ‘पौभाले बनाएको बज्रयोगिनी ३२ हजारमा बिक्दा थांका बनाउनेले त्यही बज्रयोगिनी बनाउँदा ८ हजार पाउँछ,’ लामाले चिन्ता जनाए, ‘गल्ली गल्लीका थांका बेच्ने दलालका कारण पनि दुःख गरेर बनाएका थांकाले राम्रो बजार पाउँदैनन् ।’ व्यवसायीले पनि कलाकारले बनाएको कुनै थांकाको अर्को नक्कल ननिस्कुनजेल सजिलै लिन्छन् । तर जब अर्को कसैले त्यस्तै थांका ल्याउँछन् उनीहरु बार्गेनिङमा उत्रन्छन् । थांका जस्तै मण्डला अचेल प्रिन्ट गरेर व्यवसायीले बेच्न थालेकाले कलाकार घाटामा परेको कलाकारहरूको गुनासो थियो।

थांका बेच्ने स्थानीय व्यवसायी कुमार घिसिङले राम्रा थांका अन्तर्राष्ट्रिय बजारमा पुर्याउन व्यवसायीकै कारण सम्भव भएको बताउँछन् । उनले थपे, ‘थांका पौभाजस्तो मौलिक कलाको प्रवर्द्धन गर्नु त सरकारको पनि दायित्व हो नि ।’ काम गरेर महिनाबारी १५ हजार लिने र एउटै थांका पौभाको पन्द्र हजार लिने पनि यहीँ रहेको उनले बताए ।
बजारको यस्तो अव्यवस्थाले कलाकार र व्यवसायी दुवैको भविष्य सुनिश्चित नहुने भएकाले आर्थिक रुपमा बजारमा चल्ने आकारका थांका र पौभाको मूल्य सहमतिमा निर्धारण गरिनुपर्नेमा उनले जोड दिए ।

मिथिला कलाले यतिबेला बजारमा आफ्नो दबदबा कायम गरेको छ । त्यसरी नै नेवारी पौभाले पनि जनस्तरका गतिविधीलाई आफ्नो चित्रमा समेट्ने गरेको छ । तर थांका उही पुरानै ढर्रामा रहेकाले बजारमा पछि परेको हो ।

एकाध कलाकारको प्रयासले अन्तर्राष्ट्रियकरण भए पनि संस्थागत अन्तर्राष्ट्रियकरणमा व्यवसायीको भूमिका महत्वपूर्ण हुने उनको आसय थियो । ललितकला प्रज्ञा प्रतिष्ठानस्थित परम्परागत तथा शिल्पकला विभागको आयोजनामा भएको थांका तथा पौभा कलाकार एवं व्यवसायीबीचको अन्तरक्रियामा विभागका प्रमुख निमा घ्याम्चो लामाले सिजनकै बेला पनि थांका र पौभा कलाको बजारमा अभाव रहने गरेको जनाए ।

भ्रमण वर्षको तयारीका लागि पनि कलाकार र व्यवसायी दुवैले यि दुई कलाको संचय गर्नुपर्ने उनले सुझाए । ‘आदिवासी नेवार, तामाङ, शेर्पा लगायतका जनजातिले निर्माण गर्ने थांका तथा पौभा शास्त्र, संस्कृति र धर्ममा आधारित यसभित्रको मौलिकता विश्वलाई चिनाउनु जरुरी छ,’ उनले भने, ‘त्यसैले पनि स्थानीय बजारबाट माथि उठेर कला प्रवद्र्धनमा एकजुट हुन आवश्यक छ।’

पौभामा जति मेहनत नेवारी समुदायले गरेका छन् त्यस्तै मेहनत थांकामा गरेर लोककलालाई त्यसमा प्रविष्ट गराउनुपर्नेमा कलाकारहरू एकमत भएका थिए । जसरी स्थानीय लोक संस्कृति बोकेर आएको मिथिला कलाले यतिबेला बजारमा आफ्नो दबदबा कायम गरेको छ  त्यसरी नै नेवारी पौभाले पनि जनस्तरका गतिविधीलाई आफ्नो चित्रमा समेट्ने गरेको छ । 

तर थांका उही पुरानै ढर्रामा रहेकाले बजारमा पछि परेको कलाकारले स्वीकारे । परम्परागत धार धर्मसंस्कारका लागि ठीक भएपनि बजारमा प्रतिस्पर्धा गर्न नसक्ने उनीहरूको दाबी छ । आधुनिक कलाकारले पौभा र थांकालाई नक्कलको कला भनेर हेप्ने प्रवृत्तिबाट मुक्ति पाउँदै गर्दा थांकालाई भने तिब्बती कला भनिदिँदा नेपाली जनजातीय पहिचान थांकाले नपाएको दुखेसो पासाङ लोले गरे ।

पौभा कलाकार लोक चित्रकारले भने बजार चलेकै थांकाको कारण रहेको दाबी गरे । पौभा कलाकार घरभित्रै रहेर बजार खोज्छन् तर थांका हरेक पसलमा मात्र सीमित रहेको  उनको भनाइ थियो । पूर्वराजदूत गणेश योञ्जनले जनसंख्याको आधारमा पाँचौ ठूलो जाति तामाङ भएको र यसको सभ्यता बोकेको थांकाप्रति गर्व गर्न सक्ने अवस्था भने नरहेको सुनाए।कलाकार उदयचरण श्रेष्ठले कलाकार हुन सजिलो नभएको भन्दै एउटा चित्रमा गर्नुपर्ने सबै काम गर्नेलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यसैगरी, बजारको कुरामा व्यवसायी ललितकलाका प्राज्ञको एकैमत नरहेकाले कलाकारले दुःख पाइरहेको धारणा उनले राखे।

सरकारको कला संस्कृतिप्रतिको नीतिले पनि कलाकारका दुःखेसो र चिन्ता पुष्टी गर्छ । सरकारको प्राथमिकतामा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १७ स्थानमा पर्छ । अझ त्यसमा पर्यटन र नागरिक उड्डयनपछिमात्र कला संस्कृति प्राथमिकतामा पर्छ । यसले आफ्नै देशको कला संस्कृति प्रवद्र्धनमा सरकारी चासो नरहेको देखाउँछ । कलाकार मेहनत गर्ने व्यवसायी बजारको समस्या र सरकारी बेवास्तामा परिरहँदा बनेका थांका र पौभा कलाकारका घरघरमै थन्किने अवस्था सिर्जना भएको छ ।

 

प्रकाशित: २५ असार २०७५ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App