८ वैशाख २०८१ शनिबार
विचार

स्वागतयोग्य खबर

गत जेठ २९ गतेका दिन ‘नागरिक दैनिकमा’ एउटा अति स्वागतयोग्य र हाम्रो समाजलाई झक्झक्याउने रमाइलो खबर पढ्न पाउँदा म औधि प्रसन्न भएँ। हो, हाम्रो जस्तो पछाडि परेको समाजलाई प्रगतितिर लम्काउने यस्तै घटनाहरूको उत्तरदायित्व हुन्छ। हाम्रो नेपाली समाज जातभात मान्ने अति नराम्रो परम्पराले तथा पुरुष र नारीलाई असमान ठान्ने निकृष्ट चलनले गएगुज्रेको स्थितिमा पुगेको छ।

यसपालिको जेठ महिनालाई ‘पुरुषोत्तम महिना’ मान्दै म अचेल बस्ने गरेको सरस्वतीनगर काठमाडौँस्थित ‘राधाकृष्ण मन्दिर’मा पुराण लागेको थियो। पुराणवाचक पण्डित नेपाली भए पनि र व्याख्या नेपालीमै रमाइलोसँग गरे पनि प्रसंग (कथाको) वा अध्यायको समाप्तिमा ‘राधाकृष्ण की जय!,’ ‘विष्णुभगवान् की जय !’ भनेर चिच्चाउने गर्थे। ‘जय’ भन्ने शब्द नेपालीमा पुलिंगी वा स्त्रीलिंगी नभई सामान्य रूपले लिंगहीन हो, तर ती पुराणवाचक बनारस, पटना वा भारतका अरु ठाउँबाट बढी प्रभावित हुनाले र स्त्रीजातिलाई तीन कौडीका पनि नमान्ने भएकाले पुरुष–प्रधान कुरा मात्र गर्थे र पुरुषोत्तम महिनामा पूजा गर्ने, व्रत बस्ने र पुराण सुन्ने समस्त पुरुषहरूको प्रशंसा गर्दै दुईहजार, चारहजार वर्षसम्म पुरुषहरू बाँच्छन् भन्दै चिच्चाउँथे । तर नारीहरूलाई ठाडै हेलाँ गर्थे । तिनको पुराण हिन्दीभाषी छिमेकीहरूले लेखेको र छापेको हुनाले हरेक प्रसंगको पुछारमा र अध्यायको समाप्तिमा ‘कृष्ण  की जय ’ ‘विष्णु  की जय!’ राधाकृष्ण की जय !’ आदि चिच्याएको मलाई नरमाइलो लाग्यो । आमालाई हेलाँ गर्दै बोल्ने र विष्णु, कृष्ण र शिवलाई मात्र सम्मान तथा आदर गर्दै तिनले व्याख्या गरेको सुन्दा साह्रै नरमाइलो लाग्थ्यो । राधाकृष्ण मन्दिरको पुराणवाचन सकिएपछि छोटो—छोटो भए पनि मेरी श्रीमतीकी श्रद्धेय दिदीकहाँ लगाइएको पुराणमा पनि म गएँ, तर पुराणवाचकले ‘की जय’ नभनी हाम्रै नेपाली व्याकरणअनुरूप ‘को जय’ भन्नुहुन्थ्यो । ‘राधाकृष्णको जय !,’ ‘विष्णु भगवान्को जय !,’ ‘शिवजीको जय !’ । उहाँलाई मैले सोद्धा ‘पुरुषोत्तम पुराण’ बजारमा पाइन्छ, त्यसको हिन्दीमा व्याख्या पनि हुन्छ, हेर्नुभए हुन्छ भनी उहाँले भन्नुभयो । नारीजातिलाई उहाँले भने सदा सम्मान र आदर गरेर पुराणको वाचन वा व्याख्या गर्नुभयो।

त्यसरी नै मलाई म कक्षा तीन वा चारतिर पढ्दाको सधैँ सम्झना हुन्छ । म पूर्वी इलामको फिक्कल (अर्थात् अचेल ‘सूर्योदय नगरपालिका’ ‘अन्तु’ नामक सैर्य झुल्केको डाँडो त्यसैको पूर्वमा, दर्जीलिङकै सीमा छेउमा भएकाले) भनिने स्थान–स्थित ‘आदर्श चन्द्र पाठशाला’मा तेस्रोमा चौथो कक्षामा पढ्थेँ । हामीलाई काठमाडौँ जन्मेका चन्द्रभक्त कसजु भन्ने असाध्यै राम्रो नेपाली र अति स्पष्ट अंग्रेजी जान्ने अनि अत्यन्त सुन्दर हस्ताक्षर भएका गुरुले पढाउनुहुन्थ्यो । आदर्श चन्द्र पाठशालामा ३/४ टिनका छाना भएका कटेराहरू पनि थिए । सबैलाई पाठ सिकाइसकेपछि आफैँ सुत्ने त्यस्तै कटेरामा गएर उहाँ लेखपढ गर्नुहुन्थ्यो र त्यता जाँदा छात्रछात्राले हल्ला नगरून्, राम्ररी पढून्, नबरालिऊन्, भनी मलाई ‘राम्ररी हेर्दै, तिनीहरूलाई बुझाउँदै, हेर्ने गर है !,’ भनी जिम्मा दिनुहुन्थ्यो । एक दिन ठूलो आँधी आयो । विद्यालयको सिकुवामा एउटा टेबल र एउटा बेन्चीमा चन्द्रवीर गढाल र कर्णबहादुर मोहन पढ्ने गर्थे । उनीहरू तल्लो जातका (अर्थात् दलित) भएकाले भित्र पस्न पाउँदैनथे । आँधी आउँदा उनीहरू नराम्ररी भिज्न लागे । अरू थोक भन्दा पनि पारसमणि प्रधान (दार्जीलिङ)को पसलमा छापिएका तिनका नेपाली पुस्तक भिज्ने र नष्ट हुने भए भन्ने मलाई डर लाग्यो र तिनका पुस्तक चाहिँ आँधीबाट बचाइदिने प्रेरणा जागेकाले ‘तिम्रा किताबहरू मलाई देऊ’ भनी तिनीहरूसँग झ्यालबाट मैले मागेँ । ‘अहँ ! हजुरहरूको जात जान्छ, स्केल बन्द हुन्छ, छोइछिटो हुनाले हुन्दिनोस् !,’ भनेर तिनीले भन्दा मैले भनँे, ‘गुरुले हामीलाई सबै मानव बराबरी हुन् भनी सधैँ सिकाउनु हुन्छ, फेरि मेरो जिम्मामा तपाईंहरूको हेरचाह छाडेकाले यी किताबलाई म भिज्न दिँदै दिन्नँ भनी मैले जबर्जस्ती ती किताबहरूलाई भेला पारेर तानी भित्र ल्याएँ । ईश्वरले कसरी मलाई शक्ति दिए मलाई थाहा छैन ! तर म तिनका पुस्तक र कापीहरू बचाउन समर्थ भएँ!

भित्रका सबैजना ‘अब हाम्रो स्कुल बन्द हुनेभयो, अछेतका पुस्तकहरू त्यसरी भित्र ल्याउनै हुँदैनथ्यो भनेर उनीहरू कराउँदा कराउँदै गुरु पनि आइपुग्नुभयो र भन्नुभयो, हो त तारा, हामी सबैको जात गयो, अब यो पाठशाला बन्द हुन्छ!’

सर, तपार्इंले नै हिजो हामीलाई, ‘माता च पार्वतीदेवी पितादेवो महेश्वर ! बान्धवा मानवा सर्बे स्वदेशो भुवन त्रयम् !!’ भनेर सिकाउनु भएको होइन?

त्यति नै बेला झ्वाट्ट मेरा पूजनीय पिता प्रजापति शर्मा त्यहाँ आइपुग्नुभयो । उहाँ त्यस विद्यालयको सञ्चालक समितिका अध्यक्ष हुनुहुन्थ्यो । तर उहाँले मलाई अब हर्कानुहोला, कुट्नुहोला भन्ने मेरा साथीहरू र सरको शंकालाई एकातिर पन्छाउँदै, मलाई समातेर शिरमा म्वाइँ खाँदै भन्नुभयो, ‘स्याबास तारा ! मैले तँलाई जन्म दिएर ठूलो काम गरेछु छोरा !’ अनि उहाँले ती पुस्तकहरूको रक्षा गरेकामा र दुवै ‘चन्द्रवीर र कर्णबहादुर’लाई भित्र तानेर आँधीबाट बचाएकामा धन्यवाद दिनुभयो । यसरी हाम्रो चन्द्र पाठशालाले इलामभरिका अरू विद्यालयहरूलाई पनि क्षुद्र जातभात र छुवाछूतको घृणित प्रथाबाट मुक्ति दिएको थियो!

हाम्रो ‘नागरिक’मा चाहिँ आफ्ना पिताको काजकिरिया दुइटी छोरीहरूले अघि सरेर आफैँकिरियापुत्री बसी गरेको घटना वर्णित छ। हो त, छोराहरूले मात्र काजकिरिया गर्ने साँघुरो नियमलाई पूरा विरोध गर्दै २० वर्षिया शिक्षा र १८ वर्षिया सुरक्षाले ज्वलन्त नमुना देखाई आफैँ आफ्ना प्यारा बुवाको अन्तिम काजकिरिया गरेका छन्, कोरामा बसेर पूरै दागबत्ती दिएका छन् । बावु वा आमा छोराछारीहरू दुवैका उत्तिकै महत्वपूर्ण जन्मदाता हुन्, श्रद्धेय हुन् र दुवै छोराछोरीले तिनको काजकिरिया गर्नु सराहनीय विषय हो।

प्रकाशित: २५ असार २०७५ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App