भोजराज जोशी, पूर्व शिक्षा राज्यमन्त्री
तपाईको विचारमा सहर के हो ?
भूगोल सानो भएपनि सबैखाले आवश्यकता परिपूर्ति गर्ने ठाउँ हो, सहर । सहर देशको ठूलो व्यापारीक केन्द्र पनि हो । त्यहाँ पूर्वाधार विकास, मानिसका दैनिक जीवनका भोक र आवश्यकता हुन्छ । देशको संस्कृति र परम्परा भेटिन्छ।
हाम्रा सहरमा यी सबथोक छन् ?
हामीले सहरको त्यस्तोखाले रुप लिनै सकेनौं । किनभने हाम्र्रा सहरका विगतको झल्को कमै मात्र भेटिन्छ । अहिलेको काठमाडौंको दशा हेर्दा दिक्क लाग्छ ।
केही दिनअघि चन्द्रगिरी गएको थिएँ । त्यहाँ जाने सडकको हविगत देखेर उजाड लाग्यो । सहर छेवैको सडक त यस्तो छ भने देशका अन्य ठाउँम सडक कस्ता होलान् भन्ने सोच आयो । मेरो विचारमा सत्तामा हुनेको सोच नपलाएकोले बाटाघाटा नबनेका हुन्।
तपाई पञ्चायत काल वा सो भन्दा पछिको सरकारमा रहेर प्रत्यक्ष काम गर्ने अवसर पाउनु भएको थियो, त्यो बेला र अहिलेको विकासका काम गर्ने तौर तरीका कस्तो छ ?
हाम्रोमा पहिले देखि नै देशभक्तिको गीत गाउने तर काम नगर्ने प्रवृती बढेको छ । पञ्चालत कालको व्यवस्था भने अलिक फरक थियो । त्यतिबेलो विकास गरेन भने सरकारले ठाउँको ठाउँ कारबाही गथ्यो ।
ठेकेदारलाई पञ्चायत शासनले ठाउँको ठाउँ एक्सन लिन्थ्यो । अहिले १० पल्ट म्याद थपेपनि ठेकेदारलाई कारवाही नै हुँदैन । अदालतले स्टे अडर जारी गरेपछि कारबाहीबाट उम्किन्छन् । अर्कोकुरा, अहिले राजनीतिको आडमा ठूल्ठूला विकासका काममा ठेक्का दिने प्रवृती भइहरको छ । यसले विकासमा पारदर्शीता देखिएको छैन।
सहरीकरणको योजना सार्दैगर्दा हामी कहाँनिर चुक्यौं ?
आज भन्दा ५० बर्ष अघि सहरको विकास गर्नेहरुले अहिलेको सहर सोचेनन । त्यतिबेला जे लाग्छ त्यै गरे । भविष्य नसोचेर विकासका काम गरेका कारण सहरको रुप बिर्गिएको हामीले सहरको नक्सा बनाएनौं । त्यतिखेर बस्ती बसाउँदा ख्याल गरेनौं । त्यतिबेलादेखि नगरपालिकाले भद्रगोले काम गरिदियो ।
सडक, ढल लगायत अन्य नक्सापासका काममा पनि कडाई भएन । पहिले वुद्धि पुर्याएको भए अहिले यो अवस्थामा हुने थिएन।
अब अहिले भइरहेको सहरलाई व्यवस्थित पार्ने विकल्प के देख्नुहुन्छ ?
विगतमा जे हुनु भयो अब काम गर्दा त्यसो गर्नु भएन । हिजो बिग्रिएकोलाई अब व्यवस्थित पार्नुको विकल्प छैन । यति कुरा हो, अब बन्ने नयाँ ठाउँलाई अलि ख्याल गरेर विकासका काम गर्न सकिन्छ । नयाँ ठाउँमा सहर बनाउँदा सय बर्षको कल्पना गर्न सकिन्छ।
तपाईले काठमाडौंलाई कहिलेदेखि चिन्नुभयो ?
म सानैदेखि राजनीतिमा सक्रिय थिए । २०२८ साल भन्दा पहिले राजनीतिक कार्यक्रमहरुमा काठमाडौंमा आउजाउ हुन्थ्यो । त्यतिबेला नयाँ वानेश्वरबाट रत्नपार्कसम्म हिडेर जान्थ्यौं ।
डिल्ली बजारमा डेरामा बस्ने विद्यार्थी न्यूरोडमा खाना खान जान्थे । हामी पनि त्यहीँ जान्थ्यौं । न्युरोडको पीपल रुखमुखी खाजा खाने ठाउँहरु थिए । वरपर ढुंगेधारा थिए । अहिले त्यहीँ ठाउँमा चारैतिर मुख फर्किएका घर छन् । इन्द्रचोक र असनको त्यो बेलाको रुप नै बेग्लै थियो ।
तपाई २०२८- ०२९ सालतिर काठमाडौं आउँदा यहाँको मौलिकता कस्तो थियौं ?
त्यतिखेरको मौलिकता अहिले समाप्त भएको छ । अहिले त्यो मौलिकता खोजेर पाइन्न । सहर विकास गर्दैगर्दा र बसाई सर्दैगर्दा हामीले गरेका ठूला त्रुटी हो । अरुत परकै कुरा यहाँका रैथाने नेवार समुदायले पनि उपत्यकाको मौलिकता जोगाउन सकेनन्।
तपाई नेपाल बाहिर कहाँ कहाँ जानुभएको छ ?
अफ्रिकन मुलुकका केही देश र रसा घुमेको छु । त्यहाँका मौलिकता र बाटाघाटाहरु व्यवस्थित छन् । ट्राफिक नियम चुस्त छ । सहरको मौलिक शैली जोगाइएको छ।
त्यहाँका सहर र हाम्रा सहरबीच भिन्नता के छ ?
हामी नेपालीले सहरलाई सफा राख्न सकेनौंं । विदेशी नागरिकले आफैले पनि सहरलाई सफा राखेका छन् । हाम्रोमा सरकारको मुख ताक्ने परम्परा छ।
सहर कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
सहर व्यवस्थित र सुविधायुक्त हुनुपर्छ । सहरवासीले स्वच्छ हावा खान पाउनुपर्छ । कुनै पनि समस्या र झन्झट देखिनुहुन्न । सुरक्षा पनि उत्तिकै कडा हुनुपर्छ ।
तर, हाम्रा सहर भद्रगोल छन् । महँगीले सहरवासी आक्रान्त छन् । हाम्रा सहरमा पावरमा बस्ने र हुनेखानेको मनपरी चल्छ । सरकारले कहिल्यै पनि नागरिकको सवालमा काम गरेको देखिन्न । एउटा सडक बनाउन वर्षौं लाग्छ । यस्तै–यस्तै कारणले सहर बिग्रिएको हो ।
तपाईं कस्तो सहरको कल्पना गर्नुहुन्छ ?
म मौलिक सहरको कल्पना गर्छु । सहरको बसोबास व्यवस्थित होस् । शिक्षा, स्वास्थ्य, सडक, बजार, यातायात, खानेपानी सबै कुरा मिलेको होस् ।
सहरमा पूरानो संस्कृति भेटियोस् । मेरो परिकल्पना यही हो । म काठमाडौं सुरुमा आउने बेलामा भित्री सहर शान्त थिए । सुन्धारामा नुहाउन जान्थ्यौं । बालाजुका २२ धारा हेर्न जान्थ्यौं । ढुंगेधारमा आफै पानी आउँथ्यो । जब कंक्रिटमा घर बने तबतब धारा सुके । ४० बर्ष अघिसम्म जनताले नुहाउने ठाउँ नै सुन्धारा र ढुंगेधारा थिए । तर, पुरानो सहरलाई बचाउनलाई हामी कसैले पनि सोच्न सकेनौं।
काठमाडौं उपत्यका कस्तो लाग्छ ?
धेरै माया लाग्छ । सुदरपश्चिम वा उपत्यका बाहिरकाले उहिले देखि नै नेपाल जाने भनेर काठमाडौंलाई भन्थे । तर, अहिले त काठमाडौं अस्तव्यस्त भएको छ । हामी सबै मिलेको भए काठमाडौं यति बिग्रने थिएन । काठमाडौंले धेरैलाई रोजगार दिएको छ । धेरैको जीवन अड्याएको छ । नेतालाई मन्त्री बनाएको छ । तर, तिनीहरूले काठमाडौंलाई केही दिएनन्।
काठमाडौं किन बिग्रियो जस्तो लाग्छ ?
विकास गर्छु भनेर कसम खाएका नेताहरू निजी स्वार्थमा लिप्त भए । जनसंख्याको चापले पछिल्लो समय काठमाडौं फोहोर र भद्रगोल भएको हो ।
अरू देशका सहर हेरीकन हामी धेरै नै अस्तव्यस्त छौँ । हामीले सहरको विकास गर्ने नाममा देखासिकी मात्रै गर्यौँ । अरु देश कहाँ पुगिसके तर हाम्रो राजधानीमा आठ लेनको बाटो बल्ल बन्दै छ । हामीले विकास निर्माणका काममा ढिलो गरेकै कारण पछि परेका हौँ।
हामीकहाँ सोच र योजना नभएको हो ?
राजनीतिक अस्थिरता भएको मुलुकमा विकासको गति यस्तै हुन्छ । हाम्रोमा सहरीकरण भइरहँदा सहरको भिजन भएन । कसैले पनि सहरलाई यसरी बनाउनुपर्छ भनेर सोचेनन्।
काठमाडौं कसरी सफा बन्ला ?
पुराना गाडीहरू विस्थापित गर्ने, जथाभावी फोहोर नफाल्ने, सडकको आसपासमा बिरुवा रोप्ने, भत्किएका संरचना समयमै जीर्णोद्धार गर्नेजस्ता काम गर्ने हो भने उपत्यका सफा बन्न सक्छ ।
काठमाडौंलाई कस्तो बनाउने सहरवासीको हातमा पनि छ । सहरमा बस्ने सबैले यसलाई संरक्षण गर्नुपर्छ । सहरको सफाइमा नागरिक पनि सभ्य हुनुपर्छ । जथाभावी फोहोर फाल्ने बानी त्याग्नुपर्छ।
उपत्यकाको राम्रो लाग्ने पक्ष कुन हो ?
काठमाडौंले सबैलाई अँगालेको छ । यो ठाउँ नेपालीकोे सपनाको ठाउँ पनि हो । यहाँ सबै सुविधा छन्, रोजगार छ । यहाँको हावापानी, मठ–मन्दिर, हरियाली डाँडाकाँडा अति नै सुन्दर लाग्छ।
उपत्यकाको मननपर्ने कुरा के हो ?
भीडभाड, अस्तव्यस्त, ट्राफिक जाम र प्रदूषण एकदमै मननपर्ने पक्ष हुन् ।
प्रस्तुति : शिवहरि घिमिरे
प्रकाशित: २५ असार २०७५ ०२:३९ सोमबार