७ वैशाख २०८१ शुक्रबार
समाज

सुन तस्करी पूरक अभियोगमा थुनछेक बहस

विराटनगर - साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप सातजनाविरुद्ध दर्ता भएको पूरक अभियोगमा थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत मोरङमा बुधबार दायर भएको सात जनाविरुद्धको मुद्दामा आइतबार थुनछेक बहस सुरु भएको हो। आइतबार सरकारी वकिलहरूले बहस सकेर प्रतिवादीतर्फका वकिलले बहस सुरु गरेका छन्। कहसमा सरकारी वकिलले सुन तस्करी र संगठित अपराधमा अभियुक्तको संलग्नता देखिएकाले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने तर्क गरेका थिए । उनीहरूले पक्राउ परेकालाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए।

यता प्रतिवादीतर्फका वकिलले भने पक्राउ परेकाको घटनामा कुनै संलग्नता नभएको दाबी गर्दै साधारण तारेखमा छाड्न माग गरेका थिए। आइतबार प्रतिवादीतर्फका वकिलको बहस नसकिएकाले सोमबारमात्रै थुनछेक आदेश हुने सम्भावना रहेको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले बताए । ‘प्रतिवादीतर्फका केही वकिलले मात्रै बहस गर्न बा“की रहेकाले सोमबार थुनछेक आदेश हुने सम्भावना देखिन्छ’, स्रेस्तेदार दुलालले भने। आइतबार सरकारका तर्फबाट दुईजना सरकारी वकिल र प्रतिवादीका तर्फबाट १० जनाले बहस गरेका थिए।

पूरक अभियोग लगाइएकाहरूमा मोरङ उर्लाबारीका रेवन्त आचार्य, उर्लाबारीकै सन्दीप खड्का, झापा दमकका विनोद अधिकारी, चरीकोटका मोतीराम श्रेष्ठ, काठमाडौंका मदन सिलवाल, लक्षबहादुर गुरूङ र रामकुमार तिवारी छन्। पूरक अभियोग लगाइएका मध्ये मोरङ उर्लाबारीका सन्दीप खड्का फरार छन् । अभियुक्तहरुसँग बयान लिने काम बिहीबार र शुक्रबार गरिएको थियो । शुक्रबार बयान सकिएपछि आइतबार थुनछेक बहस सुरु भएको हो।

पक्राउ परेकाहरूलाई आपराधिक समूह स्थापना र सञ्चालन, सुन चोरी पैठारी तथा चोरी निकासी, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको अभियोग लागेको छ। सुुन तस्करी प्रकरणमा अभियुक्तको संख्या ७० पुगेको छ । यसअघि ६३ जनाविरुद्ध मुद्धा दर्ता भएको थियो। तीमध्ये पक्राउ परेका ३३ जनाको सम्बन्धमा थुनछेक आदेश भइसकेको छ।

मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेति (गोरे) सहित अन्य अभियुक्त जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि थुनामा छन्। सुन तस्करी प्रकरणमा अभियोग लागेका मध्ये अझै ३१ जना फरार छन्। यस मुद्दामा प्रतिवादीलाई १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैया“ ९० पैसाबराबरको बिगो पनि लगाइएको छ।

प्रकाशित: २५ असार २०७५ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App