८ वैशाख २०८१ शनिबार
अर्थ

रुपन्देहीमा घरजग्गा कारोबार घट्यो

भैरहवा - रुपन्देहीमा यो वर्ष घरजग्गाको कारोबार घटेको छ । प्रदेश ५ को अस्थायी मुकाम भएसँगै जग्गाको बिक्री बढ्ने अनुमान विपरित कारोबार घटेको हो ।

मालपोतको तथ्यांक अनुसार जिल्लामा चालु वर्षको असार १५ सम्म २१ हजार पुर्जा बिक्री भएको छ । गत आर्थिक वर्षमा ३७ हजार बढी लालपुजी भएका थिए ।सरकारले गत साउनदेखि ल्याएको घरजग्गा सम्बन्धी नयाँ निर्देशनका कारण कारोबारमा गिरावट आएको हो । जग्गाको खण्डीकरण र खेतीयोग्य जमिन मासिने क्रम बढेपछि सरकारले गत साउन २६ मा एक वर्षमा एउटा मात्रै कित्ताकाट गर्न पाउने नियम लागू गरेको थियो । त्यसको प्रत्यक्ष असर घरजग्गा कारोबारमा देखिएको हो ।

भूकम्प र नाकाबन्दीका बेला समेत फष्टाएको घरजग्गा कारोबार यसपालि घट्नुको एउटा कारण स्थानीय सरकार पनि हो भन्छन् जग्गा कारोबारीहरु । स्थानीय तहको निर्वाचन लगत्तै कृषिलाई जोड दिँदै जनप्रतिनिधिहरुले खेतीयोग्य जमिन टुक्रिन नदिन व्यवस्थित सहरीकरण र कृषि भूमि संरक्षण नीति बनाउने अभिव्यक्ति दिन थालेपछि घरजग्गामा लगानी घटेको हो ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले पनि चालु वर्षको सुरुदेखि नै लगानीमा कडाइ गरेका छन् । एकजना जग्गा व्यवसायी भन्छन्, ‘कारोबार हुँदै नभएको होइन पछिल्लो सात–आठ वर्षमा रुपन्देहीमा घरजग्गा कारोबारले जुन रफ्तार लिएको थियो त्यस अनुसार भएन ।’ भविष्यमा प्रदेशको स्थायी राजधानी बन्ने सम्भावनाका कारण घरघडेरी र व्यावसायिक प्रयोजनका लािग जग्गा खोज्नेहरुको भने कमी नभएको उनको भनाइ छ।

चालु वर्षको असार १५ सम्म रुपन्देहीमा घरजग्गा बारोबारबापतको राजस्व एक अर्ब २९ करोड ३० लाख संकलन भएको छ । यो रकम गत आर्थिक वर्षको तुलनामा २१ करोडले कम हो । जिल्लामा भैरहवा, बुटवल र मझगावामा गरी मालपोतका तीनवटा शाखा छन् । सबैभन्दा बढी मालपोत बुटवलले ५९ करोड १४ लाख ८२ हजार संकलन गरेको छ । गत आर्थिक वर्षमा मालपोत बुटवलले ८२ करोड ७७ लाख संकलन गरेको थियो । यो वर्ष भैरहवाले ६७ करोड ७३ लाख ६८ हजार र मझगाँवा शाखाले दुई करोड ४१ लाख राजस्व उठाएका छन् ।

असार १५ सम्मको संकलित राजस्वमध्ये रजिस्ट्रेसन दस्तुर अर्थात घरजग्गा किनबेच गर्दा उठ्ने राजस्व ७४ करोड ४५ लाख २७ हजार छ । गत वर्षको तुलनामा यो वर्ष रजिस्ट्रेसन दस्तुर ३२ं.१५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष ०७३÷७४ मा रजिस्ट्रेसनबापतको एक अर्ब नौ करोड ७० लाख उठेको थियो ।

यो वर्ष रुपन्देहीमा २१ हजार पुर्जा बिक्री भएका छन् । गत वर्ष ३८ हजार बिक्री भएका थिए । पुँजीगत लाभकरबापतको ४३ करोड नौ लाख उठेको छ । भैरहवाको अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको मुआब्जाका वितरणका कारण यसपटक पुँजीगत लाभकर शीर्षकमा बढी राजस्व उठेको भैरहवा मालपोतका सूचना अधिकृत दामोदर भण्डारीले बताए । यसका अलावा मालपोतले सेवा शुल्क, जग्गा रोक्का, गुठी, प्रतिलिपि शीर्षकमा राजस्व संकलन गर्छ।

चालु वर्षको असार मसान्तसम्म ३० लाखभन्दा माथिको सम्पत्ति बेच्दा तिर्नुपर्ने पुँजीगत लाभकर साउनदेखि १० लाखको सम्पत्ति किनबेचमा तिर्नुपर्ने भएको छ । घरजग्गा कारोबारका लागि इजाजत लिनुपर्ने व्यवस्था लागू हुँदैछ । भू–उपयोग नीति लागू गर्न सर्वोच्चले आदेश जारी गरिसकेको छ । घरजग्गा व्यवसायलाई नियमन र कडाइ गरेसँगै आगामी आर्थिक वर्षमा कारोबार अझ घट्न सक्ने अर्थ विश्लेषकहरु बताउँछन् ।

अर्थ विश्लेषक आरसी आचार्य भन्छन्, ‘राजस्वकै आँखाबाट मात्र हेर्दा कारोबार घट्नु त्यति राम्रो देखिँदैन तर, कृषिका लागि यो सुभ संकेत हो ।’ सरकारले कित्ताकाटमा मात्रै रोक लगाउँदा अंशबण्डाको नाममा जग्गा टुक्र्याउने प्रवृत्ति भित्रिएको भन्दै उनले भू–उपयोग नीति पनि कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिए ।

विशुद्ध मुनाफाका लागि गरिने जग्गा प्लटिङ र किनबेच घटे पनि व्यावसायिक प्रयोजन र घरघडेरीका लागि हुने किनबेच भने घटेको छैन । विकास र सुविधाको खोजीमा पहाडबाट तराइ झर्ने र व्यावसायिक प्रयोजनका लागि जग्गा किन्नेहरुको संख्या अझै पनि उल्लेख्य रहेको मालपोत बुटवलका लेखा अधिकृत रामप्रसाद ज्ञवालीले बताए।

‘यो वर्ष प्लटिङ र ठूला जग्गा कारोबारी कम आए । घरघडेरी र उद्योग व्यापारका लागि जग्गा खरिद गर्नेहरु धेरै छन्,’ लेखा अधिकृत ज्ञवालीले भने । प्रदेशको अस्थायी मुकाम रहेको रुपन्देहीमा पर्यटन, व्यावसायिक कृषि, उद्योग तथा व्यापार व्यवसायमा प्रसस्त सम्भावना छ । भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल, विशेष आर्थिक क्षेत्र सेजजस्ता ठूला आयोजना तथा निमार्णाधीन भौतिक पूर्वाधारहरुले रोजगारी र सुविधा बढाउने निश्चित छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि रुपन्देही अग्रणी जिल्ला हो ।

प्रकाशित: २५ असार २०७५ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App