७ वैशाख २०८१ शुक्रबार
समाज

ह्विल चियरमा विश्वकप

काठमाडौं - दैलेखका २० वर्षीय रमेश क्षेत्रीले २०७२ सालको भूकम्पमा दुवै खुट्टा गुमाए । त्यसयता उनी ह्विल चियरमै छन् । यसैमा बसेर उनले बास्केट बल सिके । विभिन्न ठाउँमा पुगेर पौडी खेले । मंगलबार भने उनी विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा रमाउँदै थिए ।

‘फुटबल खेल्दा मात्र हैन, हेर्दा पनि उत्तिकै खुसी मिल्छ,’ उनले भने, ‘म अहिले सबै कुरा भुलेर फुटबलमा रमाइरहेको छु ।’ खुट्टा गुमाउनुभन्दा पहिला फुटबल खेलेर रमाउने गरेको उनले सुनाए । ‘खेल्दा र हेर्दा दुवैमा रमाउन सकिने खेल रहेछ फुटबल,’ उनले भने, ‘यसले हामीलाई खुसी दिएको छ ।’
विश्वकप फुटबलको लहरले खुट्टा चल्नेमात्र हैन खुट्टा नचल्ने पनि उत्तिकै रमाएका छन् । ह्विल चियरमा जीवन अगाडि बढाउँदै आएका उनीजस्ता फुटबल पारखीले जोरपाटी नारायणटारस्थित एउटा संस्थामा समूहमै बसेर फुटबल हेर्दै आएका छन् । ह्विल चियरमा बसेर हेर्दा उनीहरुमा उत्साहको कमी छैन । न त खेल्न नसक्दा खेलप्रति उनीहरुको गुनासो छ ।

‘हामीले फुटबल खेल्न नसक्नुमा फुटबलको दोष छैन,’ फुटबलका अर्का पारखी नवराज कार्कीले भने, ‘त्यसैले हामी रमाउँछौं । एकछिन त खुट्टा छैन भन्ने कुरा पनि हामी बिर्सन्छांै ।’ १९ वर्षको उमेरमा दुर्घटनामा परेर स्पाइनलकड (मेरुदण्ड) मा चोट लागेपछि उनको खुट्टाको चल्ने शक्ति गुमेको हो ।
‘संसारभरका अन्य दर्शक र हामीमा केही फरक छैन,’ ३८ वर्षीय कार्कीले भने, ‘ग्राउन्डमा खेल्ने बाहेक त सबै हेरेरै रमाइलो लिने त हो नि ।’ नारायणटारस्थित बोधीसत्व नाम गरेको संस्थामा उनीजस्तै २० देखि २५ जनाले विश्वकप फुटबल हेर्न गरेका छन् ।

खुट्टा गुमाएका कलिला नानीहरुलाई पनि फुटबलले खुसी दिएको छ । २०७२ सालको भूकम्पमा देब्रे खु्टटा गुमाएका ९ वर्षीय प्रेमछिरिङ तामाङ एक हातमा बैसाखी टेकेर ह्विल चियरमा बस्दै गरेका ११ वर्षीय साथी मनीष पुनसँग फुटबलको चर्चा गर्दै थिए । रोनाल्डोका प्रशंसक रहेका प्रेमछिरिङले फुटबल हेर्दा खुसी मिल्ने बताए । मनीषले भने आफू नेइमार र मेसीको फ्यान रहेको सुनाए । ‘अरू पनि मन पर्छ,’ उनले भने, ‘त्यसैले भ्याएजत्ति हेर्ने गरेको छु ।’

क्यान्सरका कारण दुवै खुट्टा गुमाएका रोल्पाका २४ वर्षीय तेजबहादुर मगर सात वर्षकै उमेरदेखि अपांगता भए पनि फुटबल हेर्ने रहर भने पुरानो नभएको सुनाउँछन् । ‘खुट्टा नभए पनि खेल्ने रहर हराएको छैन,’ उनले भने, ‘त्यो रहर अहिले हेर्नमा छ, फुटबल खेल्नमा मात्र हैन हेर्नमा पनि उत्तिकै रमाइलो छ ।’ खेलाडीले बल अगाडि बढाउँदा आफैं अगि बढेजस्तो लाग्ने उनले सुुनाए ।

प्रकाशित: २५ असार २०७५ ०६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App