७ वैशाख २०८१ शुक्रबार
राजनीति

तीन विधेयक पारित

पोखरा – गण्डकी प्रदेशको आइतबार बसेको प्रदेशसभा बैठकले तीनवटा विधेयक पारित गरेको छ। 

आइतबारको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेकोे ‘प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रस्तुत गरेको ‘स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत रुपमा पारित गरेको हो। 

त्यस्तै बैठकले सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रस्तुत गर्नुभएको ‘खोप सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि पारित भएको छ। बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले मुस्ताङमा भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे। 

प्रदेशसभा सदस्य मायानाथ अधिकारीले मुस्ताङको टिपर दुर्घटनाका मृतक परिवारलाई तत्कालीन राहत एवं घाइतेको प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराए। 

प्रदेशसभा सदस्य एवं नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले फेवातालको अतिक्रमण रोक्न बनाइएको समितिमा अतिक्रमण गर्ने व्यक्तिलाई राख्दा त्यसको प्रभावकारिता नरहने भन्दै त्यसमा ध्यानाकर्षण गराए। 

प्रदेशसभा सदस्य आशा कोइरालाले तनहुँमा हालै रुखले किचेर एकै परिवारका तीन दिदीबहिनीमध्ये एकको मृत्यु र दुई गम्भीर घाइते भएको जानकारी गराउँदै पीडित परिवारलाई उचित राहत एवं उपचारको व्यवस्था गर्न माग गरे। 

विशेष समयमा प्रदेशसभा सदस्य कृष्ण बहादुर थापा, राजीव पहारी, दीपक थापा, मेखलाल श्रेष्ठ, भागवत प्रकाश मल्ल, हरिशरण आचार्यले विभिन्न स्थानमा जनताले भोग्नु परेका समस्याका बारेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए। प्रदेशसभाको अर्को बैठक आगामी साउन ३ गते अपराह्न १ बजे बस्नेछ।  (रासस)

प्रकाशित: २४ असार २०७५ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App