coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आरामको यात्रा कहिले ?

हिले–लेगुवा सडकखण्ड अन्तर्गत पाख्रिबासमा सडक भत्किएपछी डोजर प्रयोग गरेर बनाइदैँ।   तस्बीर : मेघराज/नागरिक

संखुवासभा – वर्षायाम सुरु भएसँगै संखुवासभा र धनकुटाको हिले जोड्ने तुम्लिङटार–हिले सडक खण्डमा यात्रुहरूले मार खेप्नु परेको छ। कच्ची सडकका कारण सवारी आवात–जावतमा समस्या परेको हो। 

यो सडक खण्डको केही स्थानमा बाटो राम्रो भएपनि लेगुवा–हिले खण्डमा सडकको दुर्दशाका कारण यात्रुहरूले सास्ती भोग्नु परिरहेको छ। कच्ची सडक भएकाले पानी पर्ने बित्तिकै यातायात ठप्प हुन्छ। साँघुरो सडक त्यसमा पनि ठूला मालबाहक गाडीहरूको आवत–जावतले सडकको स्थिति झनै कमजोर बन्दै गएको हो। 

सरोेकारवाला निकायले ध्यान नदिँदा र जनप्रतिनिधिहरूले यस विषयमा चासो नराख्दा  सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ। जनप्रतिनिधिहरूले सडकको स्थितिको बारेमा अहिलेसम्म चासो नराखेको र सम्बन्धित निकायलाई खबरदारी नगर्दा यात्रुहरू बीचैमा अलपत्र पर्ने गरेको उनीहरू बताउँछन्। 

हिउँदमा सडक धुलाम्मे भएपनि तीन घण्टामा पार गरिन्थ्यो तर अहिले दिन भरीमा पनि नसकिने र कष्टकर यात्रा हुने खाँदबारीका मोहन तामाङले बताए। उनले भने, “अकरको बाटो त्यसै नै सानो छ, त्यस माथी वर्खायामको वर्षासँगै यात्रा गर्न जोखिम हुने र अरु विकल्प नहुँदा जोखिम यात्रा गर्न बाध्य भएका छौं।”

चुनाबका बेला यी सडकखण्डहरू बाह्रै महिना सञ्चालन गर्ने मुख्य एजेन्डा लिएर निर्वाचनमा होमिएकाहरू अहिले बेखबर छन्। निर्वाचनमा हारेकाको त कुरै छाडौं जीतेकाहरूले मुख बाएका छैनन्, स्थानीय देवराज पुरीले भने। सडकमा परेको खाल्डोमा सवारीसाधन फस्दा दुई घण्टाको दूरी पार गर्न ६ घण्टासम्म लाग्ने गरेको छ। 

हिलो सडकमा सवारी साधन गुड्न नसक्दा संखुवासभाबासीले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत वर्षैपिच्छे सास्ती ब्यर्होनु परेको छ। हिउँदका समयमा धनकुटाको हिलेबाट सामान लोड गरेर दुई दिनमा सदरमुकाम खाँदबारी पुग्ने भए पनि वर्षायाममा एक सातासम्म लाग्ने गरेको डम्बर श्रेष्ठले बताए। 

सडकको दुर्दशाका कारण यसरी यात्रुहरूले सास्ती भोग्नु परेको यो नौलो कुरा भने होइन। हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने यो सडकमा वर्षै पिच्छे छुट्याइएका मोटो रकम यसरी नै धुलो र हिलोमा परिणत हुने गरेको छ। लेगुवा–हिले र टुटेदेउराली–मुडे गरी दुई ओटै संखुवासभा प्रवेशमार्गका सडकको यस्तो अवस्थाका कारण यात्रुहरूले कहिलेसम्म दुख पाउने हो भन्ने टुंगो छैन।

प्रकाशित: २४ असार २०७५ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App