coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालगन्जमा पूर्व राजा र कम्युनिष्ट नेताहरुको संयोग

बागेश्वरी मन्दिर दर्शनका क्रममा पुर्व राजा ज्ञानेन्द्र । तस्विर सौजन्यः जयनारायण शाह

बाँके- नेपालगन्ज नेपालको पुरानो व्यापारिक सहर। नेपालको हरेक राजनीतिक परिवर्तनमा नेपालगन्जले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। जनआन्दोलनमा पनि नेपालगन्जको महत्वूर्ण भूमिका रह्यो। पछिल्लो घटनाक्रमले नेपालगन्ज राजावादी र राजनीतिक पार्टीको शक्ति आर्जन गर्ने थलोका रुपमा देखिएको छ। 

दुइ साता अघि नेपालगन्जमा राष्ट्रिय प्रजातन्त्र (राप्रपा) नेपाल अध्यक्ष कमल थापा आए। थापापछि पूर्व राजा ज्ञानेन्द्र परिवार सहित अहिले नेपालगन्जमा बसिरहेका छन्। यस अघि पनि पूर्व राजा नेपालगन्ज आएका थिए। त्यतिबेला उनले विभिन्न शक्तिपिठको दर्शन गरेका थिए।

यस पटकको नेपालगन्ज बसाई उनका लागि अझ महत्वपूर्ण रह्यो। पूर्व राजा ज्ञानेन्द्रले शनिबार आफ्नो ७२ औं जन्म दिन पनि यही मनाए। त्यही बहानामा मध्य तथा सुदुरपश्चिमका जनतासँग भेटेर राजाले जन्मदिनको खुसी साटे। जन्मदिनमा राजा विहानै शक्तिपिठ बागेश्वरी माताको मन्दिर दर्शन गरेर आएपछि जनतासँग भेटघाट गरेका थिए। मन्दिरमा राजालाई फूलको गुच्छा दिएर स्वागत गर्ने मानिसको भिड थियो।

 कार्लमार्क्सको सिद्धान्तबारे प्रशिक्षण दिर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनाल । तस्विरः नागरिक

जनतासँग भेट्ने क्रममा उनले वर्तमान राजनीतिक अवस्थाको बारेमा कुराकानी गरेका थिए। राजाको जन्मदिन र भ्रमणलाई भब्य बनाउने राजावादी नेताहरु नेपालगन्जका सडकमा माइकिङ गरेर हिडिरहेका बेला नेपालगन्जमा कम्युनिष्ट नेता तथा कार्यकर्ता कार्लमाक्र्सको जन्मदिन मनाइरहेका थिए। करिब १५ सय कार्यकर्तालाई नेताहरु माक्र्सवाद बारे प्रशिक्षण दिइरहेको थिए। कार्लमाक्र्स जन्म द्धिशतवार्षिकी मनाउनका साथै अगुवा कार्यकर्तालाई माक्र्सवाद र वर्तमान राजनीति बारेमा प्रशिक्षण पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह, प्रशिक्षण समारोह समिति संयोजक घनश्याम भुषाल लगायतका नेता नेपालगन्जमा आएका थिए। यो एउटा नेपालगन्जका लागि दुर्लभ संयोग थियो। पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताहरुले प्रशिक्षण प्रदान गरेका थिए।

राजाले नेपालगन्ज भुजइ गाउँस्थित होटल सोल्टीमा विहान १० देखी करिब २ बजे सम्म जनतासँग भेटघाट गरेका थिए। राजालाई भेटन मध्य र सुदुरपश्चिमको पहाडी जिल्लाबाट जनता आएका थिए।

नेकपाका नेताले माक्र्सवादी विचारको बारेमा प्रशिक्षण दिइरहेका बेला राजावादी भने नेपालगन्जमा हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना गर्ने अभियानमा लागिपरेका छन्।

राजावादी नेताहरु नेपालगन्जबाट राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापना गर्ने अभियानलाई शक्तिशाली बनाउनेमा जोड दिइरहेको छन। नेपालगन्ज उपमहानगरपालिका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका महामन्त्री डा. धवल शमशेर राणाले मेयर जितेको क्षेत्र हो। हिन्दुराज्य पुर्नस्थापनाको एजेन्डा सहित एक साता अघि राप्रपा अध्यक्ष कमल थापा युवा कार्यक्रमलाई प्रशिक्षण दिन नेपालगन्ज आएका थिए। नेपालगन्जबाट हिन्दु राष्ट्रको अभियानले नयाँ मोड लिने घोषणा गरेर फर्किएको सातापछि राजा ज्ञानेन्द्र नेपालगन्ज आइपुगेका हुन। गत पुस १३ गते करिब दुइ साता भन्दा बढी समय मध्य तथा सुदुरपश्चिम क्षेत्रको भ्रमण गरेर पूर्व राजा काठमाडौं फर्केका थिए। त्यतिबेला धार्मिक भ्रमण भनिएपनि भारत उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यसँग राजाले भेटेपछि भेटघाटलाई कुटनीतिक रुपमा लिइएको थियो। यसपटकको भ्रमणमा पनि राजाले मुख्य मन्त्री आदित्यनाथसँग नेपालगन्जमै भेटने कार्यक्रम रहेको राजावादी नेता भुवनकृष्ण श्रेष्ठले बताए। 

अखिल नेपाल युवक संघ महासचिव एवम जनमोर्चा बाँकेका पूर्व अध्यक्ष कृष्ण पाण्डेले राजा ज्ञानेन्द्र र कार्लमाक्र्सको जन्मदिन मनाउने संयोग परेको बताउँछन। उनले भने, ‘ शक्ति आर्जन गर्ने भन्दा राजा ज्ञानेन्द्र र कार्लमाक्र्सको जन्मदिन मनाउने कार्यक्रम संयोग हो। शक्ति आर्जन गर्ने प्रयास सबैले गर्छन। राजाले के गरिरहेको छन भन्ने त्यो हामीलाई चासोको विषया भएन। नेपालगन्जमा सुरु भएको प्रशिक्षण कार्लमाक्र्सको समाजवादी आन्दोलनको प्रचार– प्रसार हो । कम्युनिष्ट एकता बलियो बनाउने हो । शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणमा सहयोग गर्ने हो। क्रान्तिकारी माक्र्सवादी लेलिनवादी पार्टी निर्माण गर्ने बहस पनि हो। यसले कम्युनिष्ट पार्टीलाई बलियो बनाउँछ।’ 

 

 

प्रकाशित: २४ असार २०७५ १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App