७ वैशाख २०८१ शुक्रबार
अर्थ

गुल्मीमा ३० प्रतिशत मात्र रोपाई

रुरु गाउँपालिका घ्युवेसीमा रोपाई गर्दै किसानहरू। तस्बिरः शिवलाल/गुल्मी

गुल्मी – असार महिना सकिनै लाग्दा गुल्मीमा करिब ३० प्रतिशत क्षेत्रमा मात्र धान रोपाई भएको छ। गत वर्ष भन्दा यस वर्ष समयमै पानी नपरेकाले धान रोपाई गत वर्षको भन्दा ढिलो भएको हो। 

यतिबेला गाउँ गाउँका कृषकहरूलाई रोपाई गर्न भ्याईनभ्याई छ। जिल्लामा अझै ७० प्रतिशत रोपाई गर्न बाँकी रहेकोे जिल्ला कृषि विकास कार्यालय गुल्मीले जानकारी दिएको छ। समयमै मनसुन नहुँनाले रोपाई ढिलो भएको कृषि विकास कार्यालय गुल्मीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले बताए।

कार्यालयको तथ्यांक अनुसार किसानहरूले समयमै धानको ब्याड राखेको भएपनि असार १६ गते अगाडि वर्षा नभएकाले रोपाई ढिलाइ भएको हो। केही आकासे पानीको भरमा रोपाई हुने क्षेत्र बाहेक पानी नटुटने अधिकांश भागमा धान रोपाई सम्पन्न भएको पन्थीले बताए। एकै चोटी सबैतिर रोपाईको चटारोले काम गर्ने मानिसहरू पाउन समेत मुस्किल भएको छ।

गुल्मीमा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमीन मध्ये ९ हजार क्षेत्रफलमा वर्षे धान उत्पादन हुने गर्दछ भने १ हजार हेक्टर क्षेत्रफलमा चैतै धान उत्पादन हुने गर्दछ। केही खेतमा चैते धानका साथै मकै बाली लगाइएको छ।

धान उत्पादनको पकेट क्षेत्र मानिने इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जे क्षेत्रमा पानी परेपछि एकैचोटी रोपाई शुरु भएको छ। यस्तै केही भागहरूमा सडक निमार्ण गर्ने क्रममा कुलो पुरिनुका साथै भत्किएपछि ढिलाई भएको हो। 

प्रकाशित: २४ असार २०७५ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App