८ वैशाख २०८१ शनिबार
राजनीति

भविष्य युवाको हातमा : टेप्लिट्ज

काठमाडौं- अमेरिकी राजदूत अलाइना बी. टेप्लिट्जले नेपालको भविष्य युवाको हातमा रहेकाले राजनीति, कृषि र सूचना प्रविधि क्षेत्रमा उनीहरूलाई अघि बढाउने योजना सरकारले ल्याउनुपर्ने बताइन्। युथ काउन्सिल नेपालले बुधबार राजधानीमा आयोजना गरेको 'भोलिका लागि आज' तीन दिने युवा सम्मेलनलाई सम्बोधन गर्दै टेप्लिट्जले नेपाल कृषिप्रधान देश भएकाले कृषि विकासका लागि सूचना प्रविधिसँग सहकार्य हुन अनिवार्य रहेको बताइन्। बुधबारबाट सुरु सम्मेलन उद्घाटन सत्रमा बोल्दै उनले युवालाई राजनीतिमा पनि अघि लगाउनुपर्ने बताइन्।

युवा आफैँ सक्रिय र चासो लिएर राजनीतिमा आउनुपर्ने र त्यसले प्रजातन्त्रतलाई अझ विकास गर्ने उनले बताइन्। नेपाल आफैँमा सुन्दर प्रकृतिको देश भएको र यहाँका युवा आपसमा मिलेर बस्ने, सहयोगी तथा दुःखमा साथ दिने भएकाले एकजुट भएर लागेमा देश विकास गर्न सकिने उनले बताइन्। 'युवासँग नयाँ जोश, तरिका र प्रविधिको ज्ञान हुन्छ,' उनले भनिन्, 'त्यसलाई प्रयोगमा ल्याएर हरेक कार्य छिटो, सहज र कम आर्थिक भारमा गर्न सकिन्छ।'

युवाले जोशलाई ऊर्जामा बदल्न सक्छन् भन्ने उदाहरण भूकम्पको समयमा नेपाली युवाले देखाएको उनले बताइन्। भूकम्पको समयमा राहत, उद्धार र पुनःस्थापनाको काममा नेपाली युवाले देखाएको एकताको प्रशंसा गर्दै उनले त्यसलाई विकासको काममा लगाउने समय आएको बताइन्। दक्षिण एसियाको तथ्यांक हेर्दा नेपालमा युवा र महिलाको शिक्षामा पहुँच वृद्धि हुँदै गएको पाएको उनले बताइन्। नागरिक समाज र युवा मिलेर समाजमा चेतना विस्तार गर्ने समय आएको उनको भनाइ थियो। अहिले सूचना प्रविधिको युग भएकाले पनि त्यसमा राज्य र ऊर्जाले भरिएका युवा लाग्नुपर्ने उनले बताइन्।

शुक्रबारसम्म चल्ने कार्यशालामा २६ जिल्लाका ५० युवाको सहभागिता छ। अमेरिकी दूतावासले युवाले निर्माण गरेको रचनात्मक योजनालाई सहयोग गर्ने उद्देश्यले सन् २०११ देखि हरेक वर्ष सम्मेलन गर्दै आएको छ।

सामाजिक, इन्जिनियरिङ, सूचना प्रविधि, कानुनलगायत क्षेत्रमा काम गरिरहेका र अध्ययन गर्दै गरेका ८ सय युवाबाट छनोट गर्दै दूतावासले यस्तो कार्यक्रम गर्छ।

प्रकाशित: २३ भाद्र २०७३ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App