coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘बेलैमा उद्धार नहुँदा मजदुरको ज्यान गयो’

पोखरा - हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो भेगमा सडक विस्तारमा खटिएका २० मजदुरको शुक्रबार टिपर दुर्घटनामा ज्यान गयो। यति धेरै मजदुरको एकैपटक ज्यान जानुमा दुर्घटनास्थल दुगर्म हुनु र बेलैमा उद्धार नहुनुमुख्य कारण रहेको सुरक्षा क्षेत्रको भनाइ छ।

दुर्घटनामा १५ जनाको तत्काल ज्यान गए पनि बाँकी पाँच मजदुरले समयमा उपचार नपाएकै कारण ज्यान गुमाउनुपरेको सुरक्षा अधिकारीले बताएका छन्। सदरमुकाम जोमसोमबाट करिब ४६ किलोमिटर टाढा दुर्घटनास्थलमा घटनाको तीन घण्टापछि मात्र उद्धारका लागि निजी कम्पनीको हेलिकप्टर पुगेका थियो। त्यो हेलिकप्टरले तीन घाइतेलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याएको थियो। केही ढिला गरी पुगेको सेनाको हेलिकप्टरले बाँकी नौ घाइतेलाई पोखरा ल्याएको थियो।

जोेमसोम–कोरला सडकखण्ड विस्तारमा खटिएका कामदार बोकेको बा २ क २२१९ नम्बरको टिपर लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा दुर्घटना भएको थियो । दुर्घटनामा परेका पाँच मजदुरले समयमा उपचार नपाएकै कारण ज्यान गुमाउनुपरेको एक सुरक्षा अधिकारी बताउँछन्। ‘१५ जनाको ज्यान तत्कालै गएको हो। बाँकी पाँच जनाको ज्यान समयमा उपचार नपाएर गयो,’ ती अधिकारीले भने, ‘यातायात पहुँच भएको ठाउँमा यस्तो घटना भएको भए यतिधेरै मानवीय क्षति हुने थिएन।’ तत्काल उद्धार नपाएर मजदुरले ज्यान गुमाउनुपरेको ती अधिकारीको भनाइ छ।

दुर्घटनापछि जिल्लास्थित सुरक्षा समितिको बैठक बसेर उद्धारका लागि सेनाको हेलिकप्टर माग गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासनमा पत्राचार गरेको थियो। क्षेत्रीय प्रशासनले प्रदेश सरकार हुँदै संघीय सरकारको गृहमन्त्रालयमा पत्राचार गरेको थियो। गृहले रक्षा मन्त्रालयलाई पत्राचार गरेर सेनाको हेलिकप्टर काठमाडौंबाट उड्दा घटना भएको तीन घण्टा बितिसकेको थियो। सेनाको हेलिकप्टर जोमसोम पुग्दा झन्डै साढे ४ बजिसकेको थियो। त्यसपछि घाइते लिएर पोखरा आएको सेनाको हेलिकप्टर फर्केर जोमसोम जान सकेन।

‘सरकारी पत्राचारको प्रक्रिया नै लामो छ। दुर्घटना भएपछि तत्काल सेनाको हेलिकप्टर आएको भए केही मजदुर बचाउन सकिन्थ्यो,’ ती अधिकारीले भने, ‘दुर्घटनामा परेको टिपरले किचिएका उनीहरूले बेलैमा उपचार पाउन नसकेकै कारण ज्यान गुमाउनु प-यो।’ सुरक्षा अधिकारीका अनुसार दुर्घटनाको केही समयपछि मात्र जिल्लास्थित सुरक्षा निकायलाई थाहा भएको थियो। त्यसपछि सबैभन्दा नजिक पर्ने घमी चौकीबाट प्रहरी पठाइएको थियो। जुन दुर्घटनास्थलभन्दा २० किलोमिटर टाढा छ। प्रहरी पुग्दा बेलुकी भइसकेको थियो।

दुर्गममा दुर्घटना भएकाले उद्धारमा पुगेको हेलिकप्टर अवतरण गर्ने ठाउँसमेत थिएन। हेलिप्याड बनाइ आगो बालेर हेलिकप्टरलाई अवतरणका लागि संकेत दिइएको ती अधिकारीले बताए । ‘हावा पनि तीव्र गतिमा चलिरहेको थियो। ‘जसोतसो हेलिकप्टर अवतरण गर्न सके,’ उनले भने, ‘हेलिकप्टर अवतरण गर्न पनि नसकेको भए अझै धेरै मजदुरको ज्यान जान्थ्यो।’

लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ का अध्यक्ष साम्देन धावाले पनि बेलैमा उद्धार नपाउँदा मजदुरको ज्यान गएको बताए। ‘समयमा उपचार पाएको भए केही मजदुर पक्का बाँच्थे । तर, उद्धार नै ढिला भयो,’ उनले भने, ‘दुर्गममा घटना हुनु नै सबैका लागि दुर्भाग्य भयो।’ उनका अनुसार दुर्घटनापछि घाइतेको उपचारका लागि चराङस्थित स्वास्थ्य चौकीबाट स्वाथ्यकर्मीको टोली पनि बोलाइएको थियो । गाडीमार्फत स्वाथ्यकर्मीलाई दुर्घटनास्थलसम्म आइपुग्न झन्डै दुई घण्टा लाग्थ्यो।

‘मेडिकल टिम पनि तयारी गरेर आउँदै गर्दा धेरैले ज्यान गुमाइसकेका थिए,’ वडाध्यक्ष धावाले भने, ‘मेडिकल टिम आइसक्दा हेलिकप्टर नै आइसकेको थियो।’ दुर्घटनापछि तत्काल उद्धारका लागि लामो सरकारी प्रक्रिया रहेकाले आगामी दिनमा यसलाई छिटोछरितो र सहज बनाउनुपर्ने उनको सुझाव छ। ‘दुर्घटना भएपछि उद्धारको काम पहिला गरेर कागजी प्रक्रिया पछि मिलाउँदा हुन्थ्यो,’ उनले भने, ‘तर, कागजी प्रक्रियालाई नै पहिलो ठानिन्छ। कागजी प्रक्रियाभन्दा पहिला मानवीय उद्धारलाई हेरको भए यो अवस्था आउने थिएन।’

प्रकाशित: २४ असार २०७५ ०४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App