coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहाडी जिल्लामा सर्पदंशको उपचारमा बाधा

दार्चुला जिल्ला अस्पताल । तस्बिर : नागरिक

नेपालगन्ज - प्युठानको ऐरावती गाउँपालिका–५, गोठीवाङकी १५ वर्षीया प्रसना नेपाली राति घरमा सुतिरहेकी थिइन। सुतेको अवस्थामा सर्पले टोक्यो। सर्पको टोकाइबाट घाइते उनलाई तत्काल जिल्ला अस्पताल प्युठान पु-याइयो तर त्यहाँ औषधि नभएपछि उनलाई बुटवल रिफर गरियो। बुटवल पुग्न नपाउँदै बाटोमै उनको मृत्यु भयो । सर्पले डसेर मृत्यु हुने नेपाली प्रतिनिधिपात्र हुन्। पहाडी जिल्ला अस्पतालमा समेत सर्पदंशको औषधि र उपचार नहुँदा अकालमै ज्यान गुमाउने धेरै छन्।

तराईमा मात्र होइन अहिले पहाडी जिल्लामा पनि विषालु सर्पले डसेका बिरामी बढ्न थालेका छन्। तर ‘एन्टी स्नेक भेनम सिरम’ को अभावमा उपचार गर्न बाधा पुगेको छ। पहाडी कतिपय जिल्ला अस्पतालमा उक्त औषधि भए पनि आइसियू नहुँदा समस्या छ। अहिले जिल्ला अस्पताल प्युठानमा दैनिकजसो सर्पदंशका बिरामी आउने गरेको जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले बताए। जिल्ला अस्पताल उपचार गर्न आउने जटिल खालका सर्पदंशका बिरामीलाई बुटवललगायत सुविधासम्पन्न सहरमा पठाउने गरेको उनले बताए।

जिल्लामै सर्पदंशको औषधि भएको भए नेपालीको ज्यान बच्न सक्ने आफन्तको भनाइ छ। ‘तराईका जिल्लामा सर्पदंशका बिरामी धेरै आउँछन् सरकारले उतै औषधि पठाउँछ,’ जनस्वास्थ्य अधिकृत सुवेदीले भने, ‘प्युठान यसको जोखिममा नपर्ने भन्दै औषधि नै आउँदैन।’ सरकारले पहाडी जिल्लामा विषालु सर्पको डर नभएको भन्दै एन्टी स्नेक भेनम सिरम नपठाउने र पठाए पनि थोरै पठाउँदा समस्या उत्पन्न हुने गरेको अस्पतालले जनाएको छ।

यतिबेला सर्पदंश बढी हुने समय हो। वर्षामा सबैभन्दा बढी सर्पदंशबाट पीडित हुन्छन्। उपचार नपाउँदा केहीको मृत्युसमेत हुने गरेको छ। पहाडी जिल्लामा सर्पदंशका लागि आवश्यक औषधि नभएपछि उपचारमा समस्या भएको छ। मध्यपश्चिमाञ्चलका पहाडी जिल्लामा सर्पदंशको औधषि नहुँदा समस्या भएको छ । ती जिल्लामा सर्पले टोकेका बिरामी नेपालगन्ज, सुर्खेतलगायत सुविधासम्पन्न सहरमा पुगेर उपचार गराउन बाध्य छन्। जिल्लाबाहिर गएर उपचार गराउँदा बढी खर्चिलो हुने दैलेखका दलबहादुर केसीले बताए। ‘जिल्लामै उपचार हुने भए कम खर्चमा हुन्थ्यो,’ उनले भने, ‘सहरमा जाँदा बढी खर्च हुन्छ।’ ज्यानसमेत जोखिम पर्न सक्ने भन्दै उनले सर्पदंशको उपचार सबै जिल्लामै भए सहज हुने बताए। यसतर्फ सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ। दैलेखमा हालसम्म एन्टी स्नेक भेनम सिरमको प्रयोग भएको छैन्। यो सिरम नभएर प्रयोग नभएको हो। अस्पतालमा सर्पदंशका २० प्रतिशत बिरामी जटिल खालका आउने गरेको डा. निराजन पन्थले जानकारी दिए।

समयमै सर्पदंशका बिरामीले उपचार नपाए ज्यानसमेत जान सक्ने चिकित्सक बताउँछन्। हाल दुर्गमका अस्पतालमा दैनिक दर्जन बढी बिरामी सर्पदंशका आउने गरेका छन्। सामान्य उपचारपछि बिरामीलाई घर पठाउने गरिएको जाजरकोट अस्पतालका डाक्टर राजेन्द्र लामाले बताए। ‘जिल्ला अस्पतालमा सर्पदंशको उपचार हुनुपर्ने हो,’ उनले भने, ‘तर सबै औषधि नहुँदा सुर्खेत, नेपालगन्जतर्फ बिरामी पठाउने गरेका छौं।’ उनका अनुसार बर्खामा सर्पदंश बढी हुन्छ।

दार्चुलामा एन्टी स्नेक भेनम सिरम भए पनि सघन उपचार कक्ष (आइसियू) अभावमा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ। सामान्य अवस्थाका बिरामीलाई सिरम प्रयोग नगरीकनै उपचार गरिन्छ। गम्भीर बिरामीलाई अन्यत्र रिफर गरिन्छ। यस वर्ष सर्पले डसेका तीनजना बिरामी जिल्ला अस्पताल दार्चुलामा उपचार भएको छ। अस्पतालका अनुसार दुईजनाको सुइको प्रयोगबिनै उपचार गरिएको र एक जनालाई सेती अञ्चल अस्पताल धनगढी रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ। सर्पले टोकेर गम्भीर भएका बिरामीलाई आइसियूमा राखेर उपचार गर्नुपर्छ। आइसियू र तालिम प्राप्त जनशक्तिसमेत नभएकाले यहाँ आउने गम्भीर अवस्थाका सर्पदंशका बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको जिल्ला अस्पताल दार्चुलाका डाक्टर सुरेन्द्रप्रसाद भट्टले बताए।

कर्णाली प्रदेशका जाजरकोट, रुकुम, कालिकोट, डोल्पा, हुम्ला, दैलेखलगायत जिल्लामा सर्पदंशको भरपर्दाे उपचार हुन सकेको छैन। त्यस्तै प्रदेश नम्बर ७ र ५ का रोल्पा, अछाम, बझाङ, प्युठानलगायत जिल्लामा पनि सर्पदंशको औषधि नहुँदा उपचारमा समस्या छ। यहाँको अवस्था हेरेर सरकारले सर्पदंशको औषधि उपलब्ध गराउनुपर्ने स्थानीयको भनाइ छ। सरकारले तराईका जिल्लालाई मात्र सर्पदंशको जोखिम क्षेत्र मानेर पहाडी जिल्लामा औषधि उपलब्ध नगराएको रुकुमका धनबहादुर विकले बताए।

(गोविन्द केसी–दैलेख÷जनक केसी–जाजरकोट, प्रेम चुनारा–दार्चुला/ शमशेरविक्रम जिसी–प्युठानको सहयोगमा)

प्रकाशित: २४ असार २०७५ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App