६ वैशाख २०८१ बिहीबार
अर्थ

तरकारीको सुपर जोन बनाइने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किसानलाई मिनी–ट्रिलर वितरण गरिँदै। तस्बिर : सविता/नागरिक

चितवन - भरतपुर महानगरपालिका–२५ रातापुरका ५४ वर्षिय गिरधारी महतो व्यावसायिक तरकारी खेती गर्छन्। २० वर्षअघि तरकारी खेती गर्दा उनले दुई कट्ठाबाट सुरु गरेका थिए। उनी अहिले आफ्नो डेढ बिघा  र भाडामा लिइएको गरी ६ बिघामा तरकारी खेती गर्छन्। सिजन अनुसारको तरकारी खेती गर्दा खर्च कटाएर वार्षिक करिब १५ लाख रुपैयाँ आम्दानी हुने उनको भनाइ छ।

इनारको पानीबाट सिँचाइ गर्दा नपुग्ने भएपछि १० वर्षअघि उनले बोरिङ बनाएका थिए। त्यतिबेला उनले बोरिङ बनाउन सहयोग पाएका थिए। त्यसको १० वर्षपछि उनले तरकारी खेतीमा सहायक हुने मिनी–ट्रिलर सहयोग पाएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उनले ५० प्रतिशत अनुदानमा  मिनी–ट्रिलर पाएका हुन्।

एकाईले नौ हजार पाँच सय मूल्यका डिजिटल तराजु ८२ जना कृषक र चार हजार पाँच सय मूल्यको इलेक्ट्रिक स्प्रे ८१ ज्ना कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको छ।

एक लाख ८० हजार रुपैयाँ परेको मिनी–ट्रिलरका लागि उनले ९० हजार रुपैयाँ बुझाए। यसअघि भने उनी आफैंले मिनी–ट्रिलर किनेर प्रयोग गरिरहेका थिए। ५५ हजार रुपैयाँमा किनेको मिनी–ट्रिलर बिग्रिएपछि गएको वर्ष एक लाख ९० हजारमा मिनी–ट्रिलर किनेका थिए। मिनी–ट्रिलर भएपछि खेती गर्न धेरै सजिलो हुने अनुभव गिरधारीको छ।

थाक्रा, टाँडमुनी पनि जोत्न सकिने उनले बताए । ‘बारीको एक छेउमा मल राख्दै जोत्न पनि निकै उपयुक्त छ,’ उनी भन्छन्, ‘टयाक्टरलाई बोलाउने बित्तिकै आउँदैन, कुर्नुपर्छ ।’ गिरधारीसँगै भरतपुर महानगरपालिकाका १० जना कृषकलाई परियोजना कार्यान्वयन एकाई, तरकारी जोन चितवनले ५० प्रतिशत अनुदानमा मिनी–ट्रिलर दिएको छ।

एकाईले नौ हजार पाँच सय मूल्यका डिजिटल तराजु ८२ जना कृषक र चार हजार पाँच सय मूल्यको इलेक्ट्रिक स्प्रे ८१ जनालाई ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । एकाईले किसानलाई प्रोत्साहनमा आधारित अनुदानसमेत प्रदान गरेको छ । एक हेक्टर तथा ३० कट्ठाको व्यावसायिक तरकारी खेती बराबर १० हजारका दरले अनुदान रकम वितरण गरिएको एकाईका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए।

प्रोत्साहनमा आधारित अनुदान रकम अन्तर्गत वर्षमा १४ लाख रुपैयाँ किसानलाई वितरण गरिने उनले बताए । उपकरण हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरकी मेयर रेणु दाहालले महानगरमा तरकारी उत्पादनको सुपर जोन बनाउने प्रतिबद्धता व्यक्त गरिन्। महानगरपालिकामा मात्रै अहिले १७ सय हेक्टरमा तरकारी खेती गरिएको बताउँदै उनले भनिन्, ‘तरकारी खेतीलाई २५ सयभन्दा बढी हेक्टरमा विस्तार गर्न सकिने ठाउँ छ।’

तरकारी उत्पादनको सुपर जोन बनाउनेबारे अध्ययन गरिने उनी बताउँछिन्। भरतपुर नगरपालिकाको वडा नम्बर १० र २९ बाहेकका २७ वटै वडामा तरकारी खेती गर्ने गरिएको छ। ठूलो परिमाणमा गरिने तरकारी खेती पनि महानगरको पश्चिमी क्षेत्रमा केन्द्रित रहेको छ।

जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले चितवनको तरकारी उत्पादनले चार प्रतिशत योगदान दिँदै आएकोमा त्यसलाई बढाउनुपर्ने बताउँछन्। सुपर जोन बनाउन एक हजार हेक्टरमा तरकारी खेती गर्नु आवश्यक पर्छ। अहिले भइरहेको तरकारी जोनमा तरकारी खेती गर्ने अन्य कृषक र उनीहरुको कृषि भूभि समेटेर सुपर जोन बनाउन पर्याप्त आधार रहेको उनले बताए।

चितवनमा ४६ हजार आठ सय ९४ हेक्टर खेतीयोग्य जमिन रहेकामा ४४ हजार दुई ९१ हेक्टरमा खेती गरिन्छ । त्यसमध्ये ६ हजार दुई ७५ हेक्टरमा तरकारी खेती गरिएको पाइन्छ। त्यसमा ८६ हजार ३६ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । तरकारी जोनमा २५ उद्यमी कृषक र पाँच सय ३१ कृषक आवद्ध छन्। उनीहरुले खेती गर्दै आएका पाँच सय १२ हेक्टर क्षेत्रफल जोनमा समेटिएको छ।

प्रकाशित: २४ असार २०७५ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App