८ वैशाख २०८१ शनिबार
राजनीति

राजपामा अध्यक्षमण्डल खारेज हुने

काठमाडौं - राजपामा अध्यक्षमण्डल खारेज हुने भएको छ। राजपाको शनिबार बसेको राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गर्नेगरी विधान पास गर्ने विषयमा सहमति जनाएको छ।

राजनीतिक समितिको अर्को बैठक आइतबार बस्ने भएको छ। आइतबारको बैठकले पार्टीको नयाँ विधान पास गर्ने अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले बताए। महाधिवेशनपछि राजपामा अध्यक्षमण्डल खारेज गर्ने विषयमा राजनीतिक समितिको बैठकमा करिब सहमति बनिसकेको उनले बताए। उनले भने, ‘महाधिवेशनपछि अध्यक्षमण्डल नरहने विषयमा करिबकरिब सहमति भएको छ। अब राजपा सामूहिक निर्णय र एकल नेतृत्वबाट चल्ने छ।’

गत तीन दिनदेखि बसेको राजपाको अध्यक्षमण्डलको बैठकमा पार्टीको विधानबारे छलफल भइरहेको छ । यसअघि बसेको राजपाको राजनीतिक समितिको बैठकले विधान बनाउन सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र विर्खेशचन्द्र लालको संयोकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो। सो समितिले तयार गरेको विधानको मस्यौदाबारे राजनीतिक समितिको बैठकमा छलफल भइरहेको छ। आइतबार राजपा अध्यक्षमण्डलको पनि बैठक बस्ने भएको छ। अध्यक्षमण्डलको बैठकले विधानलाई अन्तिम रूप दिने तयारी भएको पनि भण्डारीले जनाए।

नयाँ विधानमा सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, र प्रवक्ताको प्रावधान राखिएको छ। अध्यक्षलाई सल्लाह दिन कार्यकारिणी सल्लाहकार राख्ने विषयमा पार्टीमा छलफल भइरहेको नेताहरूले जनाएका छन्। कार्यकारीणी सल्लाहकार समिति गठन भएमा हाल अध्यक्षमण्डलमा रहेका ६ नेतालाई व्यवस्थापन गर्ने विषयमा सजिलो हुने राजपाका एक नेताले जनाए। कार्यकारीणी सल्लाहकारले पार्टीको अध्यक्षलाई सल्लाह दिने प्रवधान मस्यौदमा छ। कार्यकारीणी सल्लाहकार समिति २१ सदस्यसम्मको हुनेछ । राजपा एकल नेतृत्वमा गए हाल भएका ६ नेताको व्यबवस्थापन कसरी गर्ने भन्ने समस्या देखिने राजपाको अर्का एक नेताले बताए।

महाधिवेशनपछि राजपामा अध्यक्षमण्डल राख्ने कि एकजना मात्र अध्यक्ष राख्ने भन्ने विषयमा पार्टीका ६ नेताको एउटै मत छैन तर एकल नेतृत्वमा पार्टीलाई लैजानुपर्छ भन्ने विषयमा ६ नेतामध्ये ५ नेता रहेको स्रोतको दाबी छ। राजकिशोर यादवले भने महाधिवेशनअघि झैं महाधिवेशनपछि पनि राजपामा ६ अध्यक्ष राख्नुपर्ने सुझाव राखेको स्रोतको भनाइ छ। उनले अध्यक्षमण्डलमा ६ अध्यक्ष रहे झैं उपाध्यक्ष, महासचिव, र सहसचिवमा पनि ६/६ जना राख्नुपर्ने सुझाव राखेका छन्। स्रोतका अनुसार राजपामा एक अध्यक्ष रहे पनि सहअध्यक्ष, उपाध्यक्ष, महासचिव तीन देखि चारजनासम्म रहने प्रावधान मस्यौदमा राखिएको छ।

राजनीतिक समितिको बहुमत सदस्य पनि महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गर्ने पक्षमा रहेको पार्टीका नेताहरूले जनाएका छन्। राजपाको पहिलो महाधिवेशन आगामी वैशाखमा हुँदैछ। गत साल वैशाख ७ गते तत्कालीन ६ पार्टी मिलेर राजपा गठन गरिएको थियो। पार्टी गठन हुदा दुई/दुई महिनामा अध्यक्षमण्डलका संयोजक परिर्वतन हुने प्रावधान राखिए पनि सुरुदेखि नै महन्थ ठाकुरले पार्टीको नेतृत्व गर्दै आएका छन्।

प्रकाशित: २४ असार २०७५ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App