८ वैशाख २०८१ शनिबार
अर्थ

'सिन्डिकेट' को तारो

पोखरा- कास्की, लेखनाथ नगरपालिकाका देवेन्द्र रानाभाट बारम्बार काठमाडौं गइरहन्छन्। आउजाउ गर्दा उनी भ्याएसम्म पर्यटक बस (हरियो नम्बर प्लेट) मा यात्रा गर्छन्। सकेसम्म हवाइजहाज र अरु सार्वजनिक सवारीमा यात्रा गर्न नपरोस् भन्ने चाहना छ उनको।

पर्यटक बस रोजाइमा पर्नुको कारणबारे रानाभाट भन्छन्, 'अन्यको दाँजोमा सुरक्षित छन्। जहाँ पायो, त्यहीँ रोक्दैनन्, सिटभन्दा बढी यात्रु बोक्दैनन्। यी बस पोखरा–काठमाडौं रुटमा अत्यावश्यक बाहेक जम्मा दुई ठाउँमा रोकिन्छन्। तीव्र गतिमा नगुडाउने र बस कर्मचारीको सभ्य व्यवहारले मलाई पर्यटक बसमा तान्दै आएको छ।'

सरकारले भने यातायात नियमावली संशोधन गरेर आन्तरिक पर्यटकलाई पर्यटक सवारीमा यात्रा गर्न नदिने तयारी गरेको छ।

'हामीले चाहेको र सुरक्षित सवारीमा यात्रा गर्न पाउनुपर्छ। जनताको चाहना विपरीत नियमकानुन ल्याउने अधिकार सरकारलाई छैन। ल्यायो भने त्यसविरुद्ध जनता उत्रिनुपर्छ,' उनले भने, 'सिन्डिकेट लादेर कोचाकोच बसमा यात्रा गराएर नेपाली नागरिकलाई दुःख दिने योजना हुन सक्छ, त्यो कसैलाई पनि मान्य हुने छैन।'

सेवा र सुविधाले नै आफूजस्ता यात्रु पर्यटक बसमा आकर्षित भएको उनले बताए। 'कुन सवारीमा यात्रा गर्ने भन्ने यात्रुको रोजाइ हो। सरकारले कसैलाई बाध्य बनाउन पाउँदैन,' उनले भने, 'सरकारले सुरक्षित सवारीमा यात्रा गर्न नदिएर नेपाली नागरिकको ज्यान लिन खोजेको हो भने यो नियम मान्य हुने छैन। पैसा तिरेर यात्रा गर्ने हामी यात्रु मन लागेको सवारीमा चढ्न पाउनुपर्छ।'

पर्यटक बसको सेवा र सुविधाले आफू काठमाडौंको यात्रामा हवाइजहाज समेत प्रयोग नगर्ने उनले बताए। 'म राजनीति गर्ने मान्छे पनि हुँ। साथीहरुले टिकट काटिदिन्छौं, जहाज चढेर काठमाडौं आऊ भन्दा पनि म पर्यटक बसमा यात्रा गर्न रुचाउँछु,' उनले भने।

रानाभाटजस्ता धेरै यात्रुको रोजाइमा पर्ने पर्यटक सवारीमा यात्रा गर्न रोक लगाउँदा सिन्डिकेट हाबी हुने सरोकारवालाको चिन्ता छ। नागरिकलाई पर्यटक सवारीमा यात्रा गर्न रोक लगाउनु कानुनविपरीत हुने नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का कानुनी सल्लाहकार वीरेन्द्र बास्तोला बताउँछन्।

'सरकारले नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको छ। नियमावली परिवर्तन गरेर पर्यटक सवारीमा यात्रा गर्न रोक लगाउनु कानुनविपरीत हुन्छ,' उनले भने, 'नेपाली नागरिकको स्वतन्त्रताविरुद्ध सरकार जान पाउँदैन। तोकेको भाडा तिरेपछि जुनसुकै सवारीमा यात्रा गर्ने यात्रुको अधिकार हो।'

सरकारले पर्यटक सवारीमा आन्तरिक पर्यटकलाई यात्रा गर्न रोक लगाउँदा सिन्डिकेट मौलाउने उनको भनाइ छ। निजी व्यवसायीलाई प्रोत्साहन गर्दै सिन्डिकेटलाई बलियो बनाउने उपायका रुपमा सरकारले यो कदम चालेको उनले बताए।

'केही व्यवसायीले सिन्डिकेट चाहेका छन्। यो निर्णय लागू भए सिन्डिकेट हट्ने होइन, झन् बलियो हुुनेछ,' उनले भने, 'जनताको स्वतन्त्रताविरुद्ध जाने सरकारलाई अधिकार छैन।'

व्यवसायीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरण गर्ने निहुँमा सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनको निर्णयसहित सहमतिका लागि कानुन मन्त्रालय पठाइएको छ।

 कानुन मन्त्रालयमा पठाइएको नियमावलीमा पर्यटक बसले गैरपर्यटक व्यक्ति बोक्न नपाउने र बोके छ महिनासम्म चालकको लाइसेन्स रद्द गर्ने व्यवस्था राखिएको व्यवसायीले बताएका छन्।

पर्यटन ऐन, २०३५ (दोस्रो संशोधन २०५३) ले नेपालीलाई पर्यटकका रुपमा सम्बोधन गरेको छ। त्यही ऐनअनुसार पर्यटक बसमा स्वदेशी पर्यटकले यात्रा गर्न पाउनुपर्ने व्यवसायीको माग छ। तर, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न दर्ता प्रमाणपत्र प्राप्त सार्वजनिक सवारीलाई पर्यटक सवारीका रुपमा चिनाएको छ। पर्यटन र सवारी तथा यातायात व्यवस्था ऐन बाभिँ्कदा आन्तरिक पर्यटक मर्कामा परेको व्यवसायीको गुनासो छ।

 

पर्यटन व्यवसायीले सरकारले नियमावली परिवर्तन गरेर आन्तरिक पर्यटकलाई रोक लगाए आन्दोलन गर्नसमेत पछाडि हट्न नहुने बताएका छन्।

'आन्तरिक पर्यटकलाई पर्यटक सवारीमा यात्रा गर्न रोक लगाउने हो भने त्यसको सामूहिक रुपमा विरोध गर्नुको विकल्प छैन,' पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले भने, 'सरकारलाई दबाब नदिए सिन्डिकेटका पक्षमा नियम परिवर्तन गर्ने सम्भावना छ। यसले पर्यटन क्षेत्र डाँवाडोल बन्नेछ।'

सरकारले घुमफिर वर्ष घोषणा गरेर आन्तरिक पर्यटकलाई निर्धक्क घुम्न निस्कन भनेका बेला तिनैलाई पर्यटक सवारीमा चढ्न रोक्नुले सिन्डिकेट मौलाउने व्यवसायीको भनाइ छ।

'सरकारले एकतिर आन्तरिक पर्यटकलाई घुम्न निस्कन भनेको छ। अर्काेतिर अवरोध गर्दै पर्यटक सवारीमा यात्रा गर्न रोक्दै छ,' पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष सोमबहादुर थापाले भने, 'दुर्घटना न्यूनीकरण गर्न सिन्डिकेट हटाउने भनेको सरकार उल्टो सिन्डिकेट लाद्न खोज्दै छ।'

आन्तरिक पर्यटकबिना नेपालको पर्यटनको कल्पनासमेत गर्न नसकिने व्यवसायीको भनाइ छ। भूकम्प र नाकाबन्दीको मारमा परेको पर्यटन क्षेत्रले आन्तरिक पर्यटनबाट ठूलो अपेक्षा गरेका बेला घुम्न निस्कनै रोक लगाउने गरी सरकारले अवरोध गरे पर्यटन क्षेत्र झन् डाँवाडोल हुने पिटिसी अध्यक्ष थापाको भनाइ छ।

 'आन्तरिक पर्यटकबिना अब पर्यटनको कल्पनासमेत गर्न सकिन्न। पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकबाट ठूलो राहत मिलेको छ,' थापाले भने, 'आन्तरिक पर्यटकलाई घुम्न अवरोध गरेर पर्यटन क्षेत्रलाई अस्तव्यस्त बनाउन खोजिएको हो।'

पोखराका पर्यटन व्यवसायीले पर्यटक सवारीमा आन्तरिक पर्यटकले निर्धक्क यात्रा गर्न पाउनुपर्छ भन्दै लामो समयदेखि माग गर्दै आएका थिए। त्यही उद्देश्यले पोखरादेखि चितवन, लुम्बिनीलगायत पर्यटकीय क्षेत्रसम्म सिधा पर्यटक बस सञ्चालन गर्ने व्यवसायीको चाहना थियो तर सिन्डिकेट लादेका व्यवसायीको अवरोधका कारण चितवन र लुम्बिनीसम्मको योजना सफल हुन सकेको छैन।

पोखरा–काठमाडौं रुटमा बडो कठिनसाथ पर्यटक बस सञ्चालन गर्न सफल भएका व्यवसायी नयाँ रुट विस्तार गरेर आन्तरिक पर्यटकलाई पोखरा भिœयाउने योजनामा रहे पनि सिन्डिकेटको अवरोधले सफल हुन नसकेको उनीहरुको भनाइ छ। नाट्टा पश्चिमाञ्चल अध्यक्ष दिल गौतम भन्छन्, 'सरकारले आन्तरिक पर्यटकलाई 'गैरपर्यटक' नाममा पर्यटक सवारीमा यात्रा गर्न नदिए त्यसको सशक्त प्रतिरोध गर्न तयार हुनेछौं।'

'यसअघि पनि हामीले सहजै चलाउन पाएका थिएनौं। त्यो बेला पनि लडेका हौं। अब फेरि पनि लड्न तयार छांै,' गौतमले भने, 'जनतालाई सुविधा दिलाउने बेलामा सिन्डिकेट लादेर पर्यटन सवारीलाई पाखा लगाउन खोजिएको हो। केही व्यवसायीको चलखेलका कारण सरकारले आन्तरिक पर्यटकलाई घुम्नबाट निरुत्साहित गर्दै छ।'

प्रकाशित: २३ भाद्र २०७३ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App