१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

इस्लामावाद- पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताएका छन्।

पाकिस्तानी अदालतले शुक्रबार उहाँलाई दश वर्षको जेल सजायँको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको उनले बताएका हुन्। “देश र जनताको स्वतन्त्रताका लागि म जस्तो सुकै सङ्घर्ष गर्न तयार छु,” पूर्वप्रधानमन्त्री शरिफले लण्डनमा भने। 

आफ्नी श्रीमतीको उपचारका लागि लण्डनमा रहेका शरिफ जेल सजायँ भोग्न चाडै स्वदेश फर्किने बताएका छन्। तर कहिले स्वदेश फर्किने भन्ने बारेमा भने उनले स्पष्ट पारेका छैनन्।

श्रीमतीको स्वास्थ्यमा सुधार भएपछि आफु स्वदेश फर्किने उनको भनाई छ। पूर्वप्रधानमन्त्री शरिफकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन्। 

इस्लामावादको अदालतले शरिफलाई भ्रष्टाचार गरेको अभियोगमा दश वर्ष जेल सजायँ तोकेको हो। उनलाई दश वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ। 

यही जुलाई २५ मा हुनलागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन्। नेता शरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त भएका थिए।

भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उनको बहिर्गमन भएको थियो। उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिवन्ध लगाइएको छ। 

उनमाथि लागेको आरोपको शरिफ र उनका समर्थकले अस्वीकार गर्दै आइरहेका छन्। उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन्। 

अदालतले शरिफसँगै उनकी छोरी मार्याम नवाजलाई पनि भ्रष्टाचार गरेकै अभियोगमा सात वर्षको जेल सँजाय तोकेको छ। त्यसैगरी मार्यामका श्रीमान् मोहम्मद सफडारलाई समेत सोही मुद्दामा एक वर्ष जेल सजाय हुनुपर्ने फैसला गरिएको छ।

प्रकाशित: २३ असार २०७५ १५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App