१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हराउँदै अर्मपर्मको चलन

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका शिबनारायण श्रेष्ठ रोपाईमा व्यस्त छन्। गत जेठ २८ गतेदेखि यसपल्टको रोपाई सुरु गरेका श्रेष्ठको खेतमा दैनिक ज्याला लिएर काम गर्ने हली, बाउसे र रोपाहार खटिइरहेका छन्। गाउँ घरमा अपर्मपर्म गर्ने मान्छे नभएपछि रोपाईमा ज्यालाको कामदार लगाउनु परेको शिबनारायणले बताए।

 उनको १५/१६ रोपनी खेतमा धान रोप्नेक्रममा हरेक वर्ष पारिश्रमिक दिएर काम लगाउने गरेका छन्। ‘गाउँघरमा अर्मपर्म गर्ने चलन हराउँदै गयो। हिजोआज अर्मपर्म गर्ने मान्छे पाइन्न,’ शिबनारायणले भने, ‘अर्मपर्म चल्दैनचल्ने भन्ने त होईन। तर पहिलाजस्तो अर्मपर्मबाटै खेतीपातीका काम टार्ने अवस्था छैन ।’ हली र बाउसेलाई दैनिक खाना खुवाएर दैनिक ५ सयदेखि ६ सय र रोपाहारलाई खाना खुवाएर दैनिक ३ देखि ४ सय पारिश्रमिक दिनु पर्छ । एक पाथी बिउ जाने खेतमा रोपाई गर्नेक्रममा हरेक वर्ष हली, बाउसे र रोपाहारका लागि १५ हजार खर्च हुने गरेको छ।

यस्तै, बाम्राङकै किसान प्रमेश जोशीले पनि कामदारलाई ज्याला दिएर रोपाई गरिरहेका छन्। १५/१६ रोपनी खेतमा धान रोप्नेक्रममा हली, बाउसे र रोपाहारलाई दैनिक ज्याला दिएर मैझारो गर्ने गरिएको प्रमेश बताउँछन्।

केही दशकअघिसम्म खोटाङका गाउँ–गाउँमा अर्मपर्मबाटै खेतीपातीका काम टर्थ्यो। विशेषगरी धान, मकै, आलु, गहुँ लगायतका खेतीकाक्रममा आफन्त र छरछिमेकको सहयोग मिल्थ्यो। अर्मपर्म गर्दा खाना र खाजामा मात्र खर्च हुन्थ्यो। गोजीमा पैसा नहुँदा पनि अर्मपर्मले गर्जो टर्ने गरेको थियो। आपसी भाईचाराको आधारमा मेलापातमा आपसको सुखदुःख साटिन्थ्यो। तर, अहिले अवस्था बदलिँदो छ । भएभरका पाखुरामा ताकत भएका युवा विदेशिएका छन्। घरमा बुढापाका, महिला र बालबालिका मात्र छन् । हिजोआज अर्मपर्मको भरमा मात्र खेतीपातीका काम टर्ने अवस्था छैन । खेतीकिसानी कामका लागि गाउँमा कामदार पाइन छाडेको छ । रोपाई गर्नेक्रममा बेलामा हली र बाउसे नपाएकै कारण बाम्राङका स्थानीय कर्णबहादुर श्रेष्ठले ९ रोपनी सिमसार खेतमा अलैंची, ५/६ रोपनी खेतमा तरकारी र २ रोपनी खेतमा गोलबेँडा खेती सुरु गरेको कर्णबहादुरले बताए।

हिजोआज गाउँघरमा उपलव्ध भएका थोरै जनशक्तीले सबै खेतबारीको काम धान्न नसक्ने अवस्था भएपछि बेलामा कामदार पाउन सकस छ। युवा बिदेश, रोजगार वा अध्ययनकाक्रममा शहर केन्द्रित छन् । अर्कातर्फ अलि पढालेखा भएका समूहमा ‘खेतीपातीको काम गर्नुहुन्न’ भन्ने धारणा छ। सोही कारण उर्वर जग्गा बाँझिनेक्रम बढ्दो रहेको छ। ‘पहिला घरमा मान्छे हुन्थे, अर्मपर्म राम्ररी चल्थ्यो,’ शिवनारायणले भने, ‘अहिले खेतीपातीको काम गर्ने मान्छे पाइन्न। ज्याला दिएर कामदार खोज्नुको बिकल्प छैन ।’ अर्मपर्म संस्कृतिमा आफन्तको खेतबारीमा भेला हुने अनि काम गर्ने प्रचलन छ । एक जनाको काममा सिंगो गाउँले झुम्मिदा काम पनि छिटो हुने गरेको स्थानीय बताउँछन् । अर्मपर्म संस्कृतिले निम्न आर्थिक अवस्थाका परिवारलाई बढि फाईदा पुगेको थियो । अर्मपर्ममा आपसको बन्धुत्व र एकता पनि झल्किने गरेको स्थानीय बताउँछन्।

दिक्तेल, नेर्पा, खार्पा, हौंचुर, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिमपानी, ईन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरे लगायतका सबैभन्दा बढि धान खेती लगाउने ठाउँमा अर्मपर्म प्रचलन हराउँदै गरएको पाइएको छ । सिञ्चित ११ हजार ४०० हेक्टर र आकाशे पानीको भरमा रोपाई हुने ३ हजार ८०२ हेक्टर असिञ्चित गरी जिल्लाको कुल १५ हजार २०२ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ।

प्रकाशित: २३ असार २०७५ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App