१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ठमेलमा चिनियाँ रेस्टुरेन्ट बढ्दै

काठमाडौंको व्यापारिक केन्द्र मानिने ठमेल क्षेत्र चिनियाँ भाषाका होडिङ बोर्डले भरिन थालेका छन् । पहिलोपटक यहाँ पुग्नेले ‘चाइना टाउन’ पुगेको महसुस गर्न सक्छन्।

‘केही वर्षयता ठमेल क्षेत्रमा चिनियाँहरूको उपस्थिति बाक्लिएको छ। उनीहरू टुरिस्ट भिसामा आएर ठमेल क्षेत्रमा ठूलो व्यवसायमा लगानी गरिरहेको हुँदा चिनियाँ परिकार मात्र पाइने रेस्टुरेन्टहरूको संख्या अकासिएको हो,’ ज्याठामा सञ्चालन भइरहेको गो नेपाल रेस्टुरेन्ट एन्ड बारका सञ्चालक जीवनचन्द्र भन्छन्। उनको भनाईलाई आधार मान्ने हो भने, केही वर्षयता चिनियाँ व्यापारीहरूले ठमेल वरपर सञ्चालन हुने व्यवसायमा प्रत्यक्ष सहभागी भएका छन् । यस क्षेत्र वरपर व्यापार गर्ने नेपाली र अन्य देशका नागरिकहरूले चिनियाँ भाषा सिक्नु अनिवार्यजस्तो भएको छ।

ज्याठामा सञ्चालन भइरहेको गो नेपाल रेस्टुरेन्ट एन्ड बारका ८० प्रतिशत ग्राहक चिनियाँ छन्। चिनियाँ परिकारमात्र पाइने यस रेस्टुरेन्टबाट मासिक पाँच लाख रूपैयाँ आम्दानी हुने सञ्चालक जीवनचन्द्र बताउँछन्। ‘चिनियाँ नागरिकहरूको बाक्लो चहलपहलले व्यापार बढ्दो छ,’ ज्याठामै चिनियाँ रेस्टुरेन्ट जतिसुकै बढे पनि त्योभन्दा बढी मात्रामा चिनियाँ पर्यटक र अन्य व्यापारी बढेकाले आफूहरूलाई झनै फाइदा भइरहेको उनको भनाइ थियो।

करिव १७ वर्षदेखि चिनियाँ व्यापारीमा संलग्न रहेका उनले चिनियाँ युवतीसँग बिहे गरेका थिए। उनी ठमेल क्षेत्रका बाटोमा भेटिने चिनियाँ नागरिकहरूसँग मण्डारियन भाषामा सहजै कुराकानी गर्छन्। ‘ठमेल क्षेत्रमा व्यापार गर्ने मेरा केही साथीले पनि चिनियाँ युवतीहरूसँग विवाह गरेका छन्।’ उनका अनुसार सुरुवाती दिनमा काठमाडौं गेस्ट हाउस क्षेत्रमा पश्चिमी पर्यटकहरूको बाक्लो उपस्थिति हुने गथ्र्यो। ‘ज्याठा, क्षेत्रपाटीदेखि काठमाडौं दरवार स्क्वायर तुलनात्मक रूपमा खाली र सस्तो भएकाले चिनियाँहरू यता आकर्षित भए। अहिले ठमेल क्षेत्र ७० प्रतिशत चिनियाँ पर्यटकले ढाक्न थालेपछि ज्याठा वरपर चहलपहल बढेको छ।’

चिनियाँ पर्यटकहरूलाई केन्दित गरेर ट्राभल एजेन्सी सञ्चालन गरिरहेका साइनो नेपालका धु्रव पौडेका अनुसार नेपालमा २५ प्रतिशत दोस्रो र ७५ प्रतिशत तेस्रो दर्जाका चिनियाँ पर्यटकहरू भ्रमणका लागि आउने गरेका छन्। त्यसैले नेपालमा भित्रिएका अधिकांश चिनियाँ व्यवसाय पनि तेस्रो दर्जाका छन्। ‘सुरुमा आउने पर्यटकहरू काठमाडौं घुमेर फर्कने गरेका थिए भने अहिले अधिकांश चिनियाँ नागरिकहरू ट्रेकिङ जान थालेका छन्,’ उनले भने, प्रत्येक पर्यटकले औसत एक लाख रूपैयाँसम्मको सपिङ गर्छन्। अनलाइनबाट कारोवार गर्ने हुँदा त्यो रकम चीनमा पुग्ने गरेको छ।’

भुइँचालोपछि केही समय चिनियाँ पर्यटकहरूको संख्या ओरालो लागेपछि सन् २०१६ मा ल्याएको फ्रि भिसा नीतिले गर्दा उनीहरूको संख्या अकासिएको उनले बताए। ज्याठा क्षेत्र वरपर अधिकांश सिचुवान र ग्वान्चाउ प्रान्तका चिनियाँ नागरिकहरूले लगानी गरिरहेको उनले जानकारी गराए। ‘सुरुवाती दिनमा चिनियाँ नागरिकलाई नेपालमा व्यवसाय गर्न झमेला भएपछि अहिले चिनियाँ दूतावासले चिनियाँ व्यावसायीहरूलाई संरक्षण दिने गरेको छ।’

त्यसो त ठमेल क्षेत्रमा व्यापार गरिरहेका अधिकांश चिनियाँ नागरिकहरूलाई न नेपाली बोल्नै आउँछ, न त अंग्रेजी नै राम्ररी बुझ्छन्। तैपनि उनीहरू ठमेल क्षेत्रमा सञ्चालित रेस्टुरेन्ट, गहना पसल, कार्गो, रुद्राक्ष, होटल, ट्राभल एजेन्सी, अस्पताल र पैसा साट्नेलगायत क्षेत्रमा प्रत्यक्ष लगानी गरेर कारोवार गरिरहेका छन् । ज्याठामा पस्मिना पसल सञ्चालन गरिरहेकी लि वान मन्डारियन भाषामा कुराकानी गरेर व्यापार गर्छिन्। करिव एक वर्षअघि फ्रि भिसामा नेपाल आएकी उनी पस्मिना पसल किनेर व्यापार गरिरहेकी छन् । ‘मेरी भाउजु नेपाली हुन्। मैले यहाँबाट पठाएका नेपाली हस्तकलाका सामनाहरू चीनमा दाजु र भाउजु मिलेर बिक्री गर्ने गर्छन् ।’ उनी पस्मिना पसल पोखरामा पनि विस्तार गर्न लागेकी छन्।

२०४९ सालमा नेपालमा पहिलोपटक विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन आएपछि २०५२ सालमा नेपालमा पहिलो पटक चिनियाँ लगानीमा थियान रुइ रेस्टुरेन्ट एन्ड बार सञ्चालनमा आएको थियो । यस रेस्टुरेन्टका लागि चीनबाट ६१ लाख २८ हजार पाँच सय रूपैयाँ नेपाल भित्रिएको थियो। त्यसको आठ वर्षअघि चिनियाँ लगानीमा ठमेलमा ‘बेइजिङ रेस्टुरेन्ट एन्ड बार’ सञ्चालनमा आएको थियो। हाल झण्डै चार सय व्यवसायहरू चिनियाँ लगानीमा दर्ता भएका छन् । त्यसमध्ये अधिकांश चिनियाँ लगानी ठमेल वरपर केन्द्रित भएका छन्।

सरकारले विभिन्न सात क्षेत्रमा विदेशी लगानी खुला गरेको छ । यस प्रयोग सबैभन्दा बढी गर्ने देश चीन हो। उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा चीनले विभिन्न ९२ ठूला प्रोजेक्टमा लगानी गरिरहेको छ। भारतले भने केवल ३९ प्रोजेक्टमा काम गरिरहेको छ । चीनको ९२ प्रोजेक्टहरूमा चार अर्ब ७२ करोड रूपैयाँ खर्चिएको छ। यसले चार हजारभन्दा बढीलाई रोजगारी दिएको छ । विभागमा चीनको करिव नौं सयभन्दा बढी व्यवसायहरू दर्ता भइसकेको छ। उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालका अनुसार चीनले भारतको तुलनामा साना प्रोजेक्टहरूमा काम गरिरहेका छन्। ‘नेपालमा चीनको लगानी देखिन थाले पनि उद्योगमा लगानीको हिसावमा भारतले धेरै गरेको छ । चीनको ध्यान पर्यटन, जलविद्युत, होटल र साना उद्योगमा केन्द्रित भएको छ । त्यसैले चीनको प्रभाव देखिएजस्तो भए पनि ठूला उद्योगमा भारतले धेरै लगानी गरेको छ,’ उनले भने।

ठमेल क्षेत्रमा चिनियाँ लगानीका डेढ सय रेस्टुरेन्ट र दुई दर्जन होटल छन्। अहिले ज्याठाको परिचय नै फेरिएर चाइना लाइनको रूपमा स्थापित हुँदैछ । ठमेल क्षेत्रमा नेपाली सञ्चालकहरूद्वारा सञ्चालित अधिकांश होटलहरू चिनियाँ नागरिकका नाममा छन् । त्यसो त चिनियाँहरूले नेपालमा कति लगानी गरेका छन् भन्ने आधिकारिक तथ्यांक भने छैन।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१७ मा ३० हजार चिनियाँले नेपाल भ्रमण गरेकामा यो संख्या एक वर्षपछि एक लाख पुगिसकेको छ । चिनियाँ नागरिकहरू वर्षभरि नेपाल घुम्न आउने गरेका छन् । यता पश्चिमी पर्यटकहरू सिजनमा नेपाल आउने गर्छन् । पर्यटन बोर्डको तथ्यांकलाई आधार मान्ने हो भने, नेपालमा आउने पर्यटकको आगमन संख्याले नेपालमा कुन देशको होटलहरूको ट्रेन्ड चलेको छ भन्ने थाहा हुन्छ । सन् १९९२ मा नेपालमा युरोपियन पर्यटक बढेसँगै कन्टिनेन्टल स्वादका होटल र रेस्टुरेन्डहरू खोलिएका थिए । त्यस्तै सन् १९९८ ताका जापानी पर्यटकहरूको संख्या बढेसँग त्यसलाई केन्द्रित गरेर व्यवसायहरू फस्टाएका थिए । सन् २००० को सुरुवातमा भने कोरियन पर्यटकहरूको आगमनसँगै कोरियन भाषा र होटलहरू फस्टाएका थिए । सन् २००८ देखि भने चिनियाँ पर्यटकहरू नेपाल भित्रिन थालेका थिए।

क्षेत्रपाटीमा १४ वर्षदेखि गहना पसल सञ्चालन गरिरहेका हितमान साखका अनुसार चिनियाँ नागरिकहरूले खासादेखि सामान आपूर्ति गरिरहेका छन् । घरबहालको सम्झौता अवधि थप्ने दिन नजिकिँदै गर्दा व्यापारबाट पलायन हुनुपर्ने चिन्ताले उनलाई सताउन थालेको छ । ‘चिनियाँ नागरिकहरूले घर धनीलाई मागेजति भाडा दिन थालेका छन् । त्यसरी उनीहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने हामी नेपाली व्यवसायीहरूसँग झिटी गुन्टा कस्नुको विकल्प छैन,’ उनी भन्छन्।

ठमेल वरपरका करिब ७५ प्रतिशत व्यवसायी घरधनीसँग सम्झौता नगरी भाडाको घर, कोठा र सटरमा बसिरहेको ठमेल पर्यटन विकास परिषद्का समिर गुरुङ बताउँछन् । उनका अनुसार चिनियाँ व्यावसायीले नेपालीहरूलाई थाहै नदिइकन घरबेटीलाई रिजाउने गरेका छन्।

प्रकाशित: २३ असार २०७५ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App