coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

१० दिन पनि टिकेन नाला, सात दिनमै बग्यो बाँध

निर्माण नसकिँदै हल्का वर्साको पानी थेग्न नसकेर ढलेको गोलबजार नगरपालिकामा उपभोक्ता समिति मार्फत निर्माण भैरहेको पक्कि नाला। तस्विरःमिथिलेश यादव/नागरिक

लहान - सिरहाको गोलबजार नगरपालिकाले उपभोक्ता समितिमार्फत निर्माण गरिरहेको पानी निकास नाला १० दिन पनि टिकेन। असारको पहिलो साता निर्माण सुरु भएको यो नाला बनेको दस दिनमै वर्षाको पानी थेग्न नसकेर भत्केको हो।

नगरपालिकाले नगरको शिवमन्दिरभन्दा दक्षिण चार सय दुई मिटर पक्की नाला निर्माणका लागि महेश साहको अध्यक्षतामा उपभोक्ता समिति निर्माण गरेको छ। यो समितिले नाला निर्माणसँगै उक्त दूरीको सडकमा ग्राभेल, कलभर्ट, हाल्ने कामका लागि ९० लाख रुपैयाँमा सम्झौता गरेको छ। यो उपभोक्ता समितिले उक्त काम असार मसान्तभित्र सकिसक्नुपर्ने सम्झौता छ।

योजना हेर्ने प्राविधिक इन्जिनियर जगदीशप्रसाद साहका अनुसार शनिबार गोलबजारमा आएको बाढीको पानी एकै ठाउँबाट बग्न थालेपछि नाला भत्किन पुगेको हो। ‘जोडाइ हुँदै थियो, अचानक पानी पर्न थाल्यो’, उनले भने, ‘संरचना कमजोर भएपछि पानीको प्रेसर (चाप) थेग्न नसकेर नाला ढल्यो।’


महिनौं चुपचाप बस्ने, झरी पर्न थालेपछि विकास सुरु गर्ने पुरानो प्रवृत्ति यसपालि पनि दोहोरियो । झरीमा गरिएको कामको गुणस्तर नपुगे पनि खासै कसैले वास्ता गर्दैनन् भनेर यो चलनले निरन्तरता पाएको छ ।

समितिका अध्यक्ष महेश साहले नाला भत्किनुमा वर्षाको पानी कारण रहेको बताए। नगरभरिको पानीको भेल बन्दै गरेको नालाको भित्तामा ठोकिएपछि भार थाम्न नसकी नाला भत्किएको साहको भनाइ छ। नगरपालिकाले दिएको मापदण्ड (इस्टिमेट र डिजाइन) अनुरुप नै आफूले काम गराइरहेको उनको दाबी छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरिराज ज्ञवालीका अनुसार इस्टिमेटअनुसार जगबाट ८ इँटामात्र जोड्नुपर्नेमा ११ इँटा जोडेपछि असन्तुलन भई नाला ढलेको हो। उचाइ बढी भएपछि वर्षाको पानी ठोक्किँदा नयाँ जोडाइ भएको नालाको जग हल्लिएर ढल्न पुगेको प्राविधिकलाई उद्धृत गर्दै उनले बताए।

असार मसान्तसम्म योजना सकेर फस्र्योट गरिसक्नुपर्ने पर्ने भएकाले हतारमा निर्माण भइरहेको संरचना कमसल भएको स्थानीयको गुनासो छ। नाला भत्किएकै ठाउँ घर भएका परमेश्वर साहले नागरिकसँग भने, ‘मेरै घरअगाडि नाला बनाउन उपभोक्ता समिति बन्दा मलाई थाहा भएन्।’ उपभोक्ता समिति गठन थाहा नपाउने साह एक्लो व्यक्ति होइनन्। यहाँका अधिकांश उपभोक्ता समिति गठनबारे टिए। निर्माणको गुणस्तरबारे जिज्ञासा राख्दा एक स्थानीयले भने, ‘हल्का वर्षाको भार थेग्न नसकी ढलेको नालाले गुणस्तर दर्साइदिएको छ, हामीले बोल्नै परेन।’

यस्तै सप्तरीको सुरुंगा नगरपालिकाले चहका खोलाको कटानबाट चहका गाउँलाई जोगाउन निर्माण भएको बाँध तीन दिनअगाडि भत्केको छ। निर्माण सम्पन्न भएको एक साता नबित्दै खोलाका पानीले बाँध बगाएपछि स्थानीयले निर्माणको गुनस्तरमाथि प्रश्न उठाएका छन्। यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले भने, ‘खोलामा आएको बाढीको धक्काले बाँध भत्केको जानकारी पाएको छु, अनुगमन गर्न सकेको छैन।’ करिब ३० लाखको लागतमा करिब ७ सय मिटर कच्ची बाँध उपभोक्ता समितिमार्फत निर्माण भएको दासले बताए। ‘चहका खोलाको बाढीबाट गाउँलाई जोगाउन बाँध निर्माण योजना सुरु गरेका थियौं, भत्क्यो’, उनले भने।

फेरियो व्यवस्था, फेरिएन अवस्था
दुई दशकपछि स्थानीय तह जनताका प्रतिनिधिमार्फत सञ्चालन भएको छ। पहिलाको स्थानीय निकायको नाम फेरिएर स्थानीय तह भएको छ। स्थानीय तहमा स्थानीय सरकार क्रियाशील छ, जहाँ व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको संरचना निर्माण गरिएको छ । पहिलाको व्यवस्था फेरिएको छ । तर, फेरिएको अनुभूति जनताले गर्न पाएका छैनन्। ‘पहिला पनि झरीमै विकासको कामले गति लिन्थ्यो, अहिले पनि उस्तै छ’, गोलबजार नगरपालिकाका दिलीप साहले भने, ‘शासन व्यवस्था फेरियो तर शासन अवस्था उस्तै छ। जोसँग शक्ति छ, उसैको हातमा शासन छ। हिजो पनि शक्तिशाली व्यक्तिको हालीमुहाली थियो, आज पनि छ। जनस्तरमा परिवर्तनको रत्तिभर अनुभूति छैन।’

महिनौं चुपचाप बस्ने, झरी पर्न थालेपछि विकास सुरु गर्ने पुरानो प्रवृत्ति यसपालि पनि दोहोरियो। झरीमा गरिएको कामको गुणस्तर नपुगे पनि खासै कसैले वास्ता गर्दैनन् भनेर यो चलनले निरन्तरता पाउँदै आएको लक्ष्मीपुर पत्तार गाउँपालिकाका प्रथमलाल चौधरीले बताए । ‘असार मसान्तको नाममा हुलमूलमा विकास खर्च कागजमा लेखेर प्रगति देखाइदिए पुगिहाल्छ’, सखुवानन्कारकट्टी गाउँपालिकाका रामसुफल यादवले भने, ‘वर्षभरि काम नहुने र असार मसान्तमा मात्र काम हुने विडम्बनापूर्ण अवस्थामा सुधार गर्ने उपाय भए पनि त्यसमा कसैले ध्यान दिइएको पाइँदैन । हुलमुलमा कागज मिलाएर विकास बजेट दमपच गर्ने पुरानो रोग यसपालि झनै झांगिएको पाइयो।’

प्रकाशित: २३ असार २०७५ ००:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App