७ वैशाख २०८१ शुक्रबार
समाज

सिद्धबाबा सडकखण्ड पनि देशका १३ जोखिमयुक्त सडकमा

पाल्पा – भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबासहित १३ वटा मुख्य सडक पहिरोको उच्च जोखिममा परेको जनाएको छ। भूकम्प र त्यसपछिका पराकम्पनले ती सडक चिराचिरा परेको भन्दै उच्च जोखिमको सुचीमा राखेको हो।

वर्षातका बेला सडक अति जोखिमपूर्ण भएको उल्लेख गर्दै निकै सावधानी अपनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। सिद्धबाबामा हिउँद होस् वा वर्षायाम जहिले पनि ढुंगा खस्ने, पहिरो खस्ने, सवारी साधन पुर्ने, बगाउने र ढुंगा लागेर ज्यान जाने गरेको छ। विभागको अध्ययनले पनि महाभारत र चुरेक्षेत्रको जोर्नी भएकाले पनि सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र बढी जोखिममा रहेको उल्लेख छ। 

सडक विभाग र विशेषज्ञ टोलीले एक महिना लगाएर सिद्धार्थ राजमार्ग लगायतका सडकको भौगर्भिक अध्ययन गरेको हो। सडक विभागका महानिर्देशक माधव कार्कीले वर्षाअघिनै पहिरोको उच्च जोखिम रहेका सडकमा आपतकालीन उद्धार टोली तयारी अवस्थामा राखिने बताए। ‘सडक चिराचिरा परेका छन्, वर्षातमा चिराभित्र पानी पसेर पहिरो जाने सक्ने निकै सम्भावना छ, जतिबेला जे पनि हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने छ,’ कार्कीले भने। 

पछिल्लो सात वर्षमा देशभर बाढी पहिरोका कारण १ हजार ६७२ जनाको मृत्यु भएको छ। यस वर्षको हालसम्म २७५ जनाको निधन भएको छ। सरकारको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा बाढी पहिरोबाट ६८२ जना घाइते भएका छन्। यस्तै अविरल वर्षाका कारण ५५ जनाको निधन भएको छ। यस वर्षमात्रै ६६ करोड ७४ लाख ४३ हजार ६८२ बराबरको क्षति भएको छ।

यस वर्ष प्राकृतिक विपत्तिका कारण ४८ जना हराइरहेका छन्। त्यस्तै २ हजार १२१ जना घाइते भएका छन्। महामारीका कारण पछिल्लो सात वर्षमा ९५ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन्। अहिले स्थानीय तहमा पनि विपद् व्यवस्थापनका लागि समिति गठन गरी तयारी अवस्थामा राखिएको छ। चट्याङबाट मृत्यु हुनेको संख्यासमेत पछिल्लो समयमा बढेर गएको छ।

यस वर्षको हालसम्ममात्रै ११९ पटक चट्याङ परेका कारण ३६ जनाले ज्यान गुमाएका छन्। १ सय ४६ जना घाइते भएका छन् भने १ सय ७७ परिवार प्रभावित भएका छन्। कुल ८५ घरपालुवा जनावरको मृत्यु हुँदा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ। विसं २०६८ देखि गत चैतसम्म चट्याङका कारण ७ सय ७३ जनाको ज्यान गएको छ। सो अवधिमा १ हजार ६ सय ९५ जना घाइते भएका छन्।

 

प्रकाशित: २२ असार २०७५ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App