७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश ४ को नाम गण्डकी

पोखरा- प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठकको ठ्याक्कै ५ महिनापछि नामको टुंगो लागेको छ। अघिल्लो साल माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो। शुक्रबारको प्रदेशसभा बैठकले दुईतिहाई बहुमतको आधारमा प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको हो। यो प्रदेशले गत असार १८ गते पोखरालाई सर्वसम्मतिको आधारमा स्थायी राजधानी तोकेको थियो।

नाम र राजधानी तोक्ने यो देशकै दोश्रो प्रदेश बनेको छ । यसअघि प्रदेश ६ ले नाम कर्णाली र राजधानी सुर्खेत तोकेको थियो ।

शुक्रबारको बैठकमा प्रदेशको नाम गण्डकी राख्ने पक्षमा ५४ जना सांसदले पक्षमा मतदान गरे । २ मत भने विपक्षमा पर्‍यो। विपक्षमा नयाँ शक्ति पार्टी नेपाल हरिशरण आचार्य र धनमाया पोखरेल लामाले मतदान गरेका हुन् । नयाँ शक्तिले प्रदेशको नाम गण्डकी तमुवान हुनुपर्ने बताउँदै आएको थियो।

तर, मतदान पछि गण्डकी प्रदेशको नाममा संवैधानिक व्यवस्था बमोजिम भन्दा बढि मत पर्‍यो र सभामुखीय भूमिकामा रहेकी उपसभामुख सिर्जना शर्माले प्रदेशको नाम गण्डकी रहने घोषणा गरिन्।

शुक्रबारको बैठकमा ५६ जना सांसद उपस्थित हुँदा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती र सभामुख नेत्रनाथ अधिकारी उपस्थित भएनन् ।

प्रदेशको नामको प्रस्ताव नेकपाका सांसद मायानाथ अधिकारीले गरेका थिए भने नेपाली कांग्रेसका मणिभद्र शर्मा, नेकपाका गायत्री गुरुङ र राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले त्यसको समर्थन गरे।

सर्वसम्मतिमा राजधानी तोकिएतापनि नामको विषयमा भने आदिवासी, जनजाती, जातीय संस्थाहरुले निरन्तर आन्दोलन गर्दै आईरहेका थिए।

संविधानको धारा २९५ को उपधारा २ मा प्रदेशसभाले दुईतिहाई बहुमतको आधारमा प्रदेशको नाम तोक्न पाउने व्यवस्था रहेको छ। प्रदेश १, २, ३, ५ र ७ ले भने हालसम्म राजधानी र नामको टुंगो लगाएका छैनन्।

प्रकाशित: २२ असार २०७५ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App