coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

ब्रसेल्समा नेपाली कलाकारका कला

काठमाडौं - चित्रकार विजय कोइरालाले बनाएका महिला संवेदना दर्शिने चित्र बेल्जियममा प्रदर्शनी हुने भएको छ। आउँदो सोमबार अर्थात जुलाई ९ देखि उनको दोस्रो एकल कला प्रदर्शनी बेल्जियमको ब्रसेल्समा सुरु हुँदैछ। जसका लागि उनका ४७ वटा चित्र बेल्जियम पुगिसकेका छन्।

मकवानपुर कमाने ३ का कोइरालाले चित्र कोर्न थालेको २५ वर्ष भयो । ‘मकवानपुरबाट काठमाडौं छिर्दा चित्र कोरेरै पैसा कमाउँला भन्ने साहस थिएन,’ उनले भने, ‘तर काम गर्दै जाँदा अहिले यसलै जीवनसँगै घरपरिवार धानेको छु।’ औपचारिक शिक्षाभन्दा उनको झुकाव चित्र कोर्नमै बढी रह्यो। त्यही चित्र कोर्ने पेसा रोजेकै कारण उनी देश विदेशमा कला प्रदर्शनी गर्न सक्ने हैसियतमा छन्।

बेल्जियमकी कला पारखी इजावेलले उनको चित्र त्यहाँ पु-याउन सघाएकी कोइरालाले बताए। त्यहाँस्थित युसिएल कल्चर युनिभर्सिटीले कला प्रवद्र्धनमा सघाएको छ। देवीना आर्ट प्रमोसनले आयोजना गर्ने उनको कला प्रदर्शनीमा विशेष सोचसँगैै विविध भावका कला सामेल छन्। कन्टम्पोरेरी विधाका उनका चित्रमा नेपाली समाजको महिला संवेदना झल्को अधिक रहेका छन्।  ‘सेन्सेनल रिफ्ल्केसन’ नाम दिइएको उनको कलाभित्र फेसलेस वुमन शीर्षकको एउटा श्रृंखला छ। जसमा नेपाली महिलाले बिहानदेखि राती अबेरसम्म काम गरे पनि त्यसको कुनै मूल्यांङकन नरहेको चित्रमार्फत कोइरालाले दर्शाएका छन्। त्यस्तै अर्को चित्र श्रृंखलामा वैदेशिक रोजगारबाट पीडित हुन पुगेका महिलाका कथा छन्। ‘यौवन अवस्थामा एउटी युवतीको चाहना सुखद घरजम गर्ने हुन्छ नै,’ उनले सुनाए, ‘कुनै युवाले उसलाई बिहे गरेर लगेपछि सुखसुविधा दिनकै लागि विदेशिएपछिका घटना मैले त्यसमा व्यक्त गरेको छु।’ उनले भनेझैं ड्रिम्स चित्र शृंखलामा बिहेपछि युवती सुन्दर प्रकृतिजस्तै रमाएको चित्रले युवतीको सपना साकार भएको संकेत गर्छ । तर जब खाडी मुलुकबाट उनको श्रीमान्को शव बाकसमा घर फर्कन्छ। तब ती युवतीको त्यो सुन्दर सपना चकनाचुर बन्छ। नेपाली समाजमा मौलाएको बेरोजगारीले एउटी युवतीको सपना कसरी बिथोलिन्छ भन्ने भावले हरकोहीलाई छुने उनले दाबी गरे। त्यस्तै विविधता बोकेका उनका चित्रमा सिल वेट, बुद्ध, धार्मिक चित्रहरूले नेपाली मौलिक संस्कार र परम्परा बोल्छन्। उनले नेपालको प्रतिनिधित्व देखाउने पशुपति, स्वयम्भूलगायत मन्दिर नै मन्दिरको चित्रले नेपालको सांस्कृतिक महत्व दर्शाउँछ।

कला क्षेत्रको आउनुअघि उनी सानोमा अरुका चित्रका नक्कल गर्न खुब मन पराउँथे। स्कुलमै पनि स्केच राम्रो गर्ने हुँदा शिक्षकले रुचाउँथे । नागपञ्चमीमा उनले बनाएका नागका चित्र टोलका घरघरमा टाँसिन्थे। त्यही देखेर उनका पिताले कला क्षेत्रमा उनको बाटो देखाइदिएका थिए। कला नपढीकन नै उनले सिक्दै गरेका कलाले सन २००५  कलकत्तामा भएको कला प्रदर्शनीमा पुरस्कृत भएको थियो।

उनका कलाभित्र रंगको सम्मिश्रण उत्कृष्ट रहने कला समीक्षकहरु दाबी गर्छन्। उनको कला प्रदर्शनी झन्डै दुईमहिना चल्ने जनाइएको छ।

प्रकाशित: २२ असार २०७५ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App