coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बिर्सिएका शरणार्थी

सन् १९९० को दशकमा झापाका शिविरमा छरिएर रहेका करिब एक लाख शरणार्थीको आवाज आज सबैभन्दा शुष्क भएको छ । दिनहुँजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तिनका बारेमा विभिन्न कोणबाट समाचार र विचार प्रवाह गरिरहेका छन् । शरणार्थीमध्ये करिब सात हजारजना अहिले जीवनकै सबैभन्दा कष्टकर क्षणमा छन् । आफ्नो थातथलो गुमाएर तेस्रो मुलुकमा शरणार्थी बनेका भुटानीको यो अन्तिम समूहले अझै स्वदेश फिर्तीको आश मारिसकेको छैन । आशा एउटा पक्ष हो तर तिनका हकमा अँध्यारो भविष्यमात्र देखिएको छ । भुटानको कूटनीतिका अगाडि अन्य कसैको केही लागेन । सुरुका वर्ष काठमाडौं र थिम्पुले शरणार्थी समस्या समाधानका निम्ति निरन्तर पहल गरेका पनि हुन् तर त्यसले सफलता पाउन सकेन । अझ शरणार्थीका बीचमा वर्गीकरण गरी स्वेच्छाले छाडेका र निकालिएका भनेर छुट्याइए पनि कसैले फिर्ता जाने मौका पाएनन् । अन्ततः अमेरिका र युरोपका देशमा तिनको पुनर्वासको व्यवस्था भएपछि भुटान जान सक्ने अवस्था पनि भएन । करिब एक लाख भुटानी शरणार्थीको तेस्रो मुलुकमा पुनर्वास भइसकेको छ।

नेपाल सरकारले अझै पनि संयुक्त राष्ट्रसंघसँग आग्रह गरी आतिथेय मुलुकलाई परेको अप्ठ्यारो र शरणार्थीको अवस्थाबारे निर्णय गर्नु उचित हुन्छ। नेपाली मूलका यी शरणार्थीका सन्दर्भमा नेपालले विगतमा जेजति भूमिका निर्वाह ग-यो, त्यो आफ्नो ठाउँमा छ । तथापि, यो असफलताबाट भने भविष्यका निम्ति पाठ सिक्नु आवश्यक छ।

अमेरिका र युरोपमा पुनर्वास भए पनि तिनको जीवनमा आएका समस्याका बारेमा बेलाबेलामा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत उल्लेख गर्ने गरेका छन् । जो वृद्ध भइरहेका थिए र जसले भुटान नै फर्कने इच्छा राखे, ती सबै अझै झापाका शरणार्थी शिविरमा छन् । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, डा. भम्पा राईजस्ता व्यक्तिहरू आज जीवनको अन्तिम समयमा समेत स्वदेश फर्कने आकांक्षा पालेर बाँचिरहेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले पनि अब तिनको जिम्मेवारी लिन छाडिसकेको छ । संयुक्त राष्ट्रसंघले जिम्मेवारी लिउन्जेल पनि तिनको जीवन जसोतसो चलेको थियो । नेपाल सरकारले पनि तिनको पूर्ण जिम्मेवारी लिइसकेको छैन । बाँकीलाई नागरिकता दिने र यहीं बसोबासको व्यवस्था गराउने हो वा के हुने भन्ने देखिएको छैन । अनागरिकको स्थितिमा आफ्नो बुढ्यौली गुजार्नुजस्तो पीडादायी अवस्था केही हुँदैन । पुस्तौंअघिदेखि भुटानमा बसेर त्यहींको माटोलाई सिञ्चित गरेका भुटानीलाई अनाहकमै त्यहाँबाट लखेटियो । लखेटिँदा पनि तिनले दोस्रो मुलुक भारतमा शरण पाएनन् बरु तिनीहरूलाई नेपालमा ल्याइयो । तिनको घर फिर्तीका निम्ति नेपालले जेजस्तो प्रयास गरेको भए पनि भुटानको कूटनीतिअगाडि केही लागेन।

भुटानी शरणार्थीले मुलुक छाडेपछि त्यहाँका राजाको दरबारमा चिकित्सक रहेका डा. भम्पा राई मानवीय भावनाले डोरिएन शरणार्थीको सेवाका निम्ति झापाको माइखोला किनारमा आएर बसे । उनी निरन्तर २६ वर्ष झापामै डेरा गरी शरणार्थीको सेवामा खटिए । सेवा दिँदा उनले स्थानीय नेपालीलाई पनि छुटाएनन् । तिनको निःशुल्क सेवाबाट लाभान्वित व्यक्तिहरू यी महामना भुटानी डाक्टरको सेवाप्रति नतमस्तक छन् । तर, यी डाक्टर र यिनकी पत्नी दुवै बिरामी र सहाराहीन अवस्थामा छन् । उनकै जस्तो अवस्था अन्य वयोवृद्धको पनि छ । यी शरणार्थीका सन्दर्भमा नेपाल सरकारले लिने निर्णयले बाँकी बसाइ कति सहज हुन्छ भन्ने निर्धारण गर्छ । नेपाल सरकारले अझै पनि संयुक्त राष्ट्रसंघसँग आग्रह गरी आतिथेय मुलुकलाई परेको अप्ठ्यारो र शरणार्थीको अवस्थाबारे निर्णय गर्नु उचित हुन्छ । नेपाली मूलका यी शरणार्थीका सन्दर्भमा नेपालले विगतमा जेजति भूमिका निर्वाह ग-यो, त्यो आफ्नो ठाउँमा छ । तथापि, यो असफलताबाट भने भविष्यका निम्ति पाठ सिक्नु आवश्यक छ । तेस्रो मुलुकको पुनर्वासपछि गुमनामजस्तो जिन्दगी बाँचिरहेका शरणार्थीको पीडाप्रति यति बेला संवेदनशीलता आवश्यक छ । अझै पनि नेपाल सरकारले बाँकी शरणार्थीको घर फिर्तीका निम्ति भुटानसँग पहल गर्नु आवश्यक छ । त्यसो हुन सके स्वदेश फर्कन शिविरका आँगन कुरिरहेका शरणार्थीप्रति न्याय हुने थियो।

प्रकाशित: २२ असार २०७५ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App