भयाक्रान्त दिल्ली

शुक्रबार, २२ असार २०७५, ०८ : २७ युवराज गौतम

स्वास्थ्यमा केही समस्या र अशुभ संकेतहरू देखिएपछि निकटतम शुभेच्छुकहरूको सल्लाहमा यो पंक्तिकार हालै दिल्लीको अस्पतालमा उपचार गरेर फर्किएको छ । यसबीचमा कैयन् हितचिन्तक र मित्रहरूले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सन्देश पठाउनु भयो । केही दिन अस्पतालमा र केही दिन दिल्लीस्थित परिचितहरूसँग बित्यो भारत यात्रा।

धेरै वर्षपछि भारतीय मित्र श्रुति शर्मासँग भेट भयो । उनले कार्यालयबाट बिदा लिएर सहर घुमाइन् । पचास घन्टा जति उनकै परिवारमा पाहुना भएर बसियो । कनाट प्लेसबाट सरिता विहार (मथुरा रोड) सम्म गाडी चलाउँदै आवात–जावत गर्दा भारतीय राजनीतिका बारेमा पनि चर्चा भयो । छिमेकीसँग मिल्ने भन्दा पनि उनीहरूलाई ‘निल्ने’ विदेश नीतिका पण्डितहरूको मानसिकता रहेको उनको तर्क थियो । “देश ठूलो भएर पनि भारतका ब्युरोक्र्याट्सहरूको दिल सानो छ । उनीहरूले राजनीतिक नेतृत्वलाई केही दिनका पाहुना मात्र ठान्छन् ।” श्रुतिले व्याख्या गरिन्।

अधिकांश वुद्धिजीवी विभिन्न दल, राज्यका संयन्त्र एवं बाहिरी प्रभावमा परेका रहेछन्, नेपालमै जस्तो । उनले ठट्टा गरिन्, “भारतीय जनता पार्टी र कांग्रेस ‘राइट’ (दक्षिणपन्थी), कम्युनिस्टहरू ‘लेफ्ट’ अनि ‘आर्मी’ सधैँ ‘लेफ्ट–राइट’ । झन्डै सत्तरी वर्ष पहिले भारत स्वतन्त्र त भयो तर अधिकांश जनता आज पनि पराधीन जस्तै छन्।”

दिल्ली समृद्धितिर अग्रसर बन्दै गए पनि शासकहरूको सिल्लीपनले छिमेकीहरूको विश्वास गुमाइरहेको छ।

यथार्थ त्यही हो । एकातिर भारत आर्थिक समृद्धिका हजारौँ ढोका खोल्दै छ । तर हरेक वर्ष लाखौँ समस्या थपिँदै गएका छन् । कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई) प्रभावहीन बन्दैछ भारतमा । भाजपा र कांग्रेस जस्ता ठूला दलको समर्थनमा करोडौँ जनता अनुयायी बनेका छन् । ‘हिन्दु’ एवं ‘अखण्ड भारत’ (हिमालयदेखि कन्याकुमारीसम्मको सेरोफेरो सबै मेरो भन्ने मानसिकता) भाजपाको भोट बैंक बलियो बनाउने आधार बनेको छ । धर्मनिरपेक्षताको वकालत गर्नेहरू, तीन पुस्ता अघिदेखि नेहरु परिवारलाई देवी देवतासरह मान्नेहरू एवं खुला अर्थ व्यवस्थाका समर्थकहरू आफूलाई सगर्व कांग्रेस पार्टीका समर्थक भन्छन् । ध्रुवीकरण स्पष्ट देखिन्छ।

युवा बाहिनी, शिव सेना, जनसंघ (भाजपाको अभिभावक संस्था) लगायतका संगठनहरूको प्रभाव ठूला दलहरूको भन्दा कम छैन । सन् १९५१ मा ‘भारतीय जनसंघ’ खुलेपछि त्यो संगठन सन् १९७७ मा ‘जनता पार्टी’ बन्यो । त्यही पृष्ठभूमिबाट सन् १९८० मा भाजपा गठन भयो । भारतीय जनता युवा मोर्चा, महिला मोर्चा, अल्पसंख्याक मोर्चा, किसान मोर्चा आदिलाई समेटेर भारतीय जनता पार्टीले ठूलो संगठन बनायो । एसिया–प्यासिफिक डेमोक्र्याट युनियन र इन्टरनेसनल डेमोक्र्याट युनियनजस्ता संगठनको सदस्य भएकाले भाजपालाई कांग्रेस पार्टीजस्तै ‘प्रजातान्त्रिक’ नै मानिन्छ । यति हुँदाहुँदै पनि व्यवहारमा भाजपाभित्र बढिरहेको कट्टरपन घातक हुनसक्ने संकेत देखिएको भारतीय बुद्धिजीवीहरूको तर्क छ।

नेपालमा गणेशमान सिंह, विश्वेश्वरप्राद कोइराला, सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराईजस्ता पुराना कांग्रेसी नेताहरूलाई आजका सुविधाभोगी तथा उत्ताउला कार्यकर्ताले बिर्सेझैँ श्यामाप्रसाद मुखर्जी जस्ता पुराना ‘हिन्दु राष्ट्रवादी’ नेताहरूको पृष्ठभूमि, इतिहास र योगदानबारे भाजपाका प्रायः युवा कार्यकर्ता अनभिज्ञ देखिन्छन् भने कांग्रेस पार्टीको स्थापनामा योगदान गर्ने धेरै नेताको नाम भारतका युवा कांग्रेसीहरूले बिर्सिंदै गएका छन्।

छिमेकीलाई हेपेर, हेलाँ गरेर वा छिमेकीसँग तुजुक देखाएर कसैले पनि सम्मान पाउन सक्दैन। हाम्रै गाउँ, टोल र छिमेकमा पनि ‘मै हुँ’ भन्नेहरूलाई कसले गन्छ र!

क्रिश्चियनहरूको सुझाव र सल्लाहमा भारतमा हजाराैँ कानुन बनेको जगजाहेर छ । किनभने सन् १७५७ देखि १८५८ सम्म एक सय एक वर्ष इस्ट इन्डिया कम्पनीले र त्यसपछि सन् १९४७ (२००५ सालसम्म) भारतमा अंग्रेज सरकारको शासन थियो । भारतमा विदेशबाट आएका मुसलमान (मुगल) र ब्रिटिस शासकले सयौँ वर्ष शासन गरे । त्यसको प्रभाव संविधान र जनजीवनमा पर्नु स्वाभाविकै हो । सन् १९७६ मा संविधानमा बयालीसौँ संशोधन गरेर भारतलाई ‘धर्मनिरपेक्ष’ घोषणा गरियो । १९७५ जुन २५ तारिखमा संकटकाल घोषणा गरेर प्रधानमन्त्री इन्दिरा गान्धीले एक्काइस महिना तानाशाही चलाइन् । प्रजातन्त्र वा लोकतन्त्र भनिने प्रणालीमा सत्तारूढ दलले अधिनायकवादको अभ्यास कसरी गर्छ भन्ने कुरा भारतका त्यसबेलाका लेखकहरूले स्पष्ट लेखेका छन् । संविधानको धारा ३५२ मा ‘आन्तरिक विशृंखलता’ भएमा संकटकाल घोषणा गर्ने प्रावधान भएकाले यो अप्रजातान्त्रिक भए पनि असंवैधानिक थिएन।

नेपालविरुद्ध नाकाबन्दी गरेपछि हरेक पटक भारतले क्षति बेहोर्दै आएको छ । दिल्लीमा भेटिएका कतिपय शिक्षित व्यक्तिले यो कटुसत्य स्वीकार गरे पनि चीनबारे उनीहरूको सन्त्रास कल्पनातीत पाइन्छ । नेपालमा काम गरेर हरेक वर्ष भारतमा अर्बौं रुपियाँ पठाउँछन्, भारतीयहरू । चीनको प्रभाव बढ्दै गयो भने ‘दुकान’ बन्दी त हुँदैन भन्छन् उनीहरू । भारतीयले अर्बौं डलर बराबरको विदेशी मुद्रा आर्जन गरेर स्वदेश पठाउने दशवटा प्रमुख राष्ट्रमा नेपाल पनि पर्छ।

दिल्लीबाट काठमाडौँको दूरी धेरै छैन । विमानमा असी मिनेट जति यात्रा गरे पुगिन्छ । सडक वा रेलमार्गबाट जाँदा झन्डै छत्तीस घन्टा लाग्छ । तर एघार सय तीस किलोमिटर टाढाको दिल्ली नेपालीको हृदयबाट अरू टाढा बन्दै गएको छ । नेपाललाई मित्र ठान्नुको साटो ‘प्रान्त’ ठान्ने भारतीय मानसिकतामा परिवर्तन आउन सकेन भने काठमाडौँ र दिल्लीको मनको दुरी अरू बढ्दै जाने देखिन्छ।

दिल्लीका टाठाबाठाहरू नेपालमा चीन ‘घुस्यो’ भनेर भयाक्रान्त हुन थालेका छन् । काठमाडौँबाट झन्डै तीन हजार एक सय असी किलोमटिर टाढा छ बेइजिङ । चीनका पनि आफ्नै समस्या छन् । एक अर्ब एकचालीस करोडभन्दा धेरै जनसंख्या भएको चीन र एक अर्ब पैँतीस करोडभन्दा बढी जनसंख्या भएको भारतसँग सन्तुलित सम्बन्ध कायम राख्न नसक्ने हो भने नेपालको राजनीति, कूटनीति र अर्थनीति भड्खालोमा पर्दै जाने निश्चित जस्तै छ । २ करोड ९६ लाख जति जनसंख्या भएको सानो राष्ट्र नेपाललाई विदेशीले बितेका आठ÷दश वर्षमा झनझन् हेपिरहेका छन् । किनभने उनीहरूप्रति हामी हरेक कुरामा आश्रित बनिरहेका छौँ । जनै र सियोदेखि चामलसम्म भारतबाट ल्याइन्छ नेपालमा । त्यसैले, स्वावलम्बी कार्यक्रमको सफलताबेगर नेपाल आत्मनिर्भर बन्न धेरै गाह्रो छ।

२००८ सालमा सुधारवादी राणा प्रधानमन्त्री श्री ३ पद्मशमेशरले घरघरमा रेडियो सेट राख्न पाउने हक दिएपछि नेपालीले अल इन्डिया रेडियो सुन्न थाले । रेडियो नेपाल जन्मिएकै थिएन । २००७ चैत २० गते २५० वाट्को सर्टवेभ ट्रान्समिसन क्षमताको रेडियो नेपाल खुल्दा त्यसको पहिलो निर्देशक थिए तारिणीप्रसाद कोइराला । धनाढ्य र ब्रिटिस सेना एवं भारतबाट आएका केही लाहुरेका साथै तराईका प्रमुख सहरबजार तथा राजधानीका केही घरमा मात्र रेडियो सीमित थियो।

रेडियोमा भारतीय नेताका भाषण, धार्मिक प्रवचन, गीत र भजनहरू सुनेर हुर्किए त्यसबेलाका श्रोता । २००६ सालतिर चीनमा कम्युनिस्ट शासन आए पनि नेपालमा त्यसको कुनै प्रभाव थिएन । काशी, मथुरा, बृन्दावन, हरिद्वार, चारधाम, दिल्ली, गया, सारनाथ आदि जान थालेका कतिपय नेपालीले भारतको धार्मिक र सांस्कृतिक महत्व बुझे पनि त्यहाँको राजनीतिप्रति खासै वास्ता गर्दैनथे । २००७ कात्तिकमा राजा त्रिभुवन सपरिवार दिल्ली गएपछि काठमाडौँका वासिन्दाले दिल्लीको राजनीतिमा बढी चासो राख्न थालेको राजनीतिक इतिहासका ज्ञाता गृष्मबहादुर देवकोटाले लेखेका छन्।

यसपालि, असार ३ गतेदेखि १० गतेसम्म पंक्तिकारले दिल्ली बस्नुप-यो । २०४८ सालमा दिल्ली जाँदा त्यहाँ कार्यरत युवराज घिमिरेसँग भेट्दा पंक्तिकारलाई लागेको थियो, अब बीस–पच्चीस वर्षपछि भारतको बौद्धिक क्षेत्रमा पनि नेपालको हित चाहने घिमिरेजस्ता बुद्धिजीवीहरू थपिँदै जालान् । भारतमा अर्बपति नेपालीहरू पनि छन् । उद्योगपति, व्यापारी आदि नेपालीको संख्या बढ्दै गएको छ तर नेपालको मर्म बुझ्ने बुद्धिजीवी आज विरलै भेटिन्छन् । एडबिन र अल्बर्टले बनाएको साउथ ब्लक र नर्थ ब्लक तथा लोधीरोडस्थित रअको मुख्यालय एवं दिल्लीका शासकहरूको सोचभन्दा पर गएर सोच्न सक्ने बुद्धिजीवी कमै छन् । त्यसैले, शासकवर्ग, उनीहरूका सहयोगी र ‘राज्यको चौथो अंग’ भनिने प्रेस जगत्ले नेपाललाई हेर्ने दृष्टिकोण बदलिएको छैन।

दिल्लीले नेपालको मात्र दिल दुखाएको छैन, भारतसँग साँध जोडिएका प्रायः सबै राष्ट्र दिल्लीप्रति सशंकित छन् भनेर भारतकै कतिपय कूटनीतिज्ञ, विश्लेषक र लेखकहरू बोलिरहेका छन् । तराईका केही उरन्ठेउला व्यक्तिलाई उकासेर नेपालविरुद्ध अािर्थक नाकाबन्दी लगाउने प्रधानमन्त्री नरेन्द्र मोदीको अपरिपक्व निर्णयको भारतमै कडा विरोध भयो । चीन र पाकिस्तानसँगको युद्धमा भारतका तर्फबाट होमिने हजारौँ ‘गोर्खा सैनिक’ परिवारका आमा, बा, श्रीमती, छोराछोरी र नातेदारलाई चिसो दाउरा फुक्न बाध्य बनायो भारतले । औषधि समेत रोकियो नाकाबन्दीका नाममा । भारतीय प्रधानमन्त्रीले पछिल्लो पटक जनकपुर, काठमाडौँ र मुक्तिनाथमा घन्टी बजाए तर दिल जित्न सकेनन् । नेपाललाई अर्बौं रुपियाँको सहयोग गर्ने वचन दिए पनि मोदीले त्यो पूरा गरेका छैनन् । ‘उधारो सहायता’ जनताले पत्याएका छैनन्।

बेइजिङ तीव्र गतिमा अघि बढिरहे पनि भारतले प्रतिस्पर्धा गर्न खोजेको देखिन्छ । तर चीन र भारतबीच नेपाली भूमिमा बसेर रहस्यमय गतिविधि सञ्चालन गर्दै आइरहेका पश्चिमा राष्ट्रका अवाञ्छित गतिविधि रोक्न आत्मबल, साहस, क्षमता र इच्छा वर्तमान वामपन्थी सरकारसँग छैन । पुरानो एमालेका कँैयन् प्रभावशाली व्यक्तिले पश्चिमाहरूकै युरो–डलरबाट विभिन्न गैरसरकारी संस्था चलाएका छन् भने माओवादी आवरणमा क्रिश्चियन र पश्चिमा शक्तिका भारी बोकेर हिँड्नेहरूले पश्चिमी राष्ट्रबाट सञ्चालित संघसंस्थाले कुकर्म गरे पनि त्यो रोक्ने साहस गर्न सकिरहेका छैनन् । यो अवस्था चीन र भारतका निम्ति कति घातक बन्नेछ भन्ने कुरा समयले स्पष्ट गर्नेछ।

गत हिउँदमा भारतको राजस्थानमा आयोजित साहित्य उत्सवमा भारतीय कूटनीतिज्ञ श्यामशरणले तिब्बतको बाटो भएर चीन नेपालतिर आइरहेको बताउँदै चीनको प्रभाव रोक्न भारतले अमेरिका, जापान, अस्ट्रेलिया र भियतनामसँग सहकार्य गर्नुपर्ने सुझाव दिएका थिए । आर्थिक, सैनिक, वैज्ञानिक र प्राविधिक दृष्टिले चीन प्रबल बन्दै गएको उनले स्वीकार गरेका छन् । चीनले नेपाल र श्रीलंकाबाट भारतलाई घेर्न थालेको उनको अभिव्यक्तिमा दिल्लीको भयाक्रान्त मानसिकता प्रतिविम्बित भएको पाइन्छ।

‘द डिप्लोम्याट’ पत्रिका (अप्रिल १२, २०१८) मा प्रकाशित राजेश्वरी पिल्लाइ राजागोपालको लेखको शीर्षक नै छ, “हाउ इन्डिया क्यान बिट् चाइना इन नेपाल ?” उनको निचोड छ, “भारतले नेपालसँग खेलाँची गर्दै आएको छ । त्यो कूटनीतिक नोक्सानीको क्षतिपूर्ति गर्नुपर्छ।”

रोमेश भण्डारी, जसले जवाहरलाल नेहरुको पत्र राजा त्रिभुवनलाई, इन्दिरा गान्धीको पत्र राजा महेन्द्रलाई र राजीव गान्धीको पत्र राजा वीरेन्द्रलाई बुझाएका थिए, ब्रिफिङ गरेका थिए । भारतीय कूटनीतिमा भण्डारी, ज्योतिन्द्रनाथ दीक्षित, महाराजकृष्ण रसगोत्र, एपी बैंकटेश्वरन् लगायतका परिपक्व कूटनीतिज्ञ अचेल सक्रिय छैनन् । एस जयशंकर र श्यामशरण प्रवृत्तिका पात्रहरूले विदेशनीतिको सारथि बन्ने मौका पाएका छन् । फलस्वरूप, दिल्ली छिमेकीहरूबाट टाढिँदै गएको छ।

भारतीय जनता पार्टीले लाखौँ कार्यकर्तालाई ‘सैनिक’ जस्तो बनाउन खोजेको आरोप सञ्चार माध्यमहरूमा आइरहेको पाइन्छ । संविधानले सबैलाई समान मानेको छ तर भाजपाले कट्टर हिन्दुहरूको मात्र साम्राज्य बनाउन खोजेको विश्लेषकहरूको आरोप छ । जनसंघी दस्तावेजहरूमा ‘हिमालयदेखि कन्याकुमारीसम्म’ भारतको छत्रछायाँ हुनुपर्ने तर्क गरिएको छ । यो भनेको नेपाल जस्ता राष्ट्रहरूको राष्ट्रिय सुरक्षामाथि नै गम्भीर चुनौती हो । भारतमा मुसलमानहरूलाई ‘तह लगाउन’ केही पश्चिमा शक्तिले भाजपाको हिन्दु कार्ड प्रयोग गरेको आरोप लागिरहेको छ भने नेपालका कतिपय हिन्दु संघसंस्था भाजपाकै शाखा हुन खोजिरहेका छन् । यहाँका कतिपय हिन्दु मठाधीशहरू आफूलाई भाजपाका नेताहरूको कार्यकर्ता जस्ता ठान्छन्।

मुरलीमनोहर जोशी र लालकृष्ण आडवाणी लगायतका पुराना नेतालाई समेत ओझेलमा पार्दै नरेन्द्र मोदी एकतन्त्री ढंगले हिँड्न खोजेको आरोप सर्वथा असत्य देखिँदैन । ‘द इकोनोमिस्ट’ पत्रिकाले भाजपा उग्र बन्दै गएको कारण भारतले पुराना छिमेकी समेत चिढ्याइरहेको विश्लेषण गर्दै नरेन्द्र मोदी ‘बाघको सवारी’मा यात्रा गरिरहेको आवरण तस्बिर छापेको थियो । यहाँनेर राजीव मल्होत्राद्वारा लिखित ‘ब्रेकिङ इन्डिया’ पुस्तकको प्रसंग सम्झिनैपर्ने हुन्छ । उनले लेखेका छन्, ‘भारतलाई धार्मिक कट्टरताले टुक्राटुक्रा बनाउन सक्छ।’

अर्को वर्ष हुने संसदीय निर्वाचनमा विजय प्राप्त गर्न भाजपा कम्मर कसेर लागेको छ । कांग्रेसमा पचास साठी वर्ष अघिदेखि समर्पित करोडौँ जनता भए पनि राहुल गान्धीको अपरिपक्व वचन र व्यवहारले गर्दा सो दलमा धेरै प्रौढहरू उत्साहहीन हुँदै गएको बताइन्छ । यति हुँदाहुँदै पनि प्रहरी, प्रशासक, सेना लगायतका संयन्त्रमा अंग्रेज शासकहरूले बनाएको नीति नियमले छाडापन धेरै नियन्त्रित देखिन्छ।

दिल्ली समृद्धितिर अग्रसर बन्दै गए पनि शासकहरूको सिल्लीपनले छिमेकीहरूको विश्वास गुमाइरहेको छ । आफैँमा भयाक्रान्त देखिएको छ दिल्ली । छिमेकीलाई हेपेर, हेलाँ गरेर वा छिमेकीसँग तुजुक देखाएर कसैले पनि सम्मान पाउन सक्दैन । हाम्रै गाउँ, टोल र छिमेकमा पनि ‘मै हुँ’ भन्नेहरूलाई कसले गन्छ र!








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad