coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अग्रपंक्ति र रक्षापंक्तिबीच प्रतिस्पर्धा

निज्ने नोभगोर्ड – फ्रान्सले १९९८ मा दुई प्रमुख उपाधि जित्यो। त्यसमध्येको एक थियो घरेलु मैदानमा सम्पन्न विश्वकपको उपाधि। फ्रान्सले जितेको त्यो नै हालसम्म एक मात्र विश्वकप उपाधि हो। फ्रान्सले आफ्नै घरमा ब्राजिललाई स्तब्ध बनाउँदै पहिलो पटक विश्वकपको उपाधि उचाल्दा अहिलेका स्टार किलियन एमबाप्पे जन्मिएका पनि थिएनन्। तर दुई दशकपछि फ्रान्स विश्वकप उपाधिको तीन खेल टाढा रहँदा एमबाप्पे उदीयमान खेलाडी स्थापित भइसकेका छन्। ‘१९९८ को विश्वकप नदेखे पनि त्यही वर्ष जन्मनु एमबाप्पेका लागि राम्रो हो,’ फ्रान्सले विश्वकप जित्दाका कप्तान तथा अहिलेका प्रशिक्षक डिडियर डेसच्याप्प मुस्कुराए, ‘उनी फ्रान्सेली नागरिक हुन्। त्यसमा म खुसी छु।’

फ्रान्समा जन्मिए पनि एमबाप्पेका बुबा क्यामरुनका नागरिक हुन् भने आमा अल्जेरियाकी हुन्। निज्ने नोभगोरोडमा शुक्रबार हुने विश्वकपको पहिलो क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेसँग प्रतिस्पर्धा गर्दै छ। एट्लेटिको मड्रिडका रक्षक डिएगो गोडिनको कप्तानीमा रहेको उरुग्वेको रक्षापंक्ति बलियो मानिन्छ भने फ्रान्सको आक्रमण उत्कृष्ट रहेको छ। त्यसैले यस खेलमा रक्षापंक्ति र आक्रमणबीचको लडाइँ भन्न सकिन्छ। यी दुईबीचको विजेताले सेमिफाइनलमा सोही दिन हुने बेल्जियम र ब्राजिलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाविरुद्ध दुई गोल र एकमा अवसर सिर्जना गरेका एमबाप्पे पेलेपछि विश्वकपको नकआउट चरणका एकै खेलमा दुई गोल गर्ने पहिलो युवा खेलाडी बनेका छन्। यसअघि १९५८ को विश्वकपमा ब्राजिलका पेलेले १७ वर्षको उमेरमा नकआउट चरणको एकै खेलमा दुई गोल गरेका थिए। १९९८ को विश्वकपपछि फ्रान्स प्रतियोगिताको क्वार्टरफाइनल पुगेको यो चौथो पटक हो भने समग्रमा सातौं पटक हो। ‘यस प्रतियोगितामा विश्वकै उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्,’ पेरिस सेन्ट जर्मनका फरवार्ड एमबाप्पेले भने, ‘त्यसैले आफ्नो क्षमता देखाउने यो सबैभन्दा राम्रो अवसर हो।’ समूह ‘सी’ बाट विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको फ्रान्सले लिगचरणमा ३ गोल मात्र गरेका थियो। तर, अर्जेन्टिनाविरुद्ध २–१ ले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सले उत्कृष्ट पुनरागमनमा ४–३ को नतिजा ल्याएको थियो। फ्रान्सले समूहचरणको पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध एमबाप्पेसहित ५ नयाँ खेलाडीलाई अवसर दिएको थियो। ‘तपाईंमा धैर्यता हुन आवश्यक छ,’ फ्रान्सका प्रशिक्षक डेसच्याम्पले भने।

डेसच्याम्पले उरुग्वेविरुद्धको खेल समूहचरणमा पेरूसँगको खेलजस्तै कठिन हुने बताएका छन्। उक्त खेलमा फ्रान्सले १–० को संघर्षपूर्ण नतिजा निकालेको थियो। पेरूविरुद्ध पनि एमबाप्पेको गोल निर्णायक बनेको थियो। दुवै टोलीमा विश्वका उत्कृष्ट खेलाडी छन्। तर, खेलको नतिजा भने दक्षिण अमेरिकी टोलीको ४ रक्षक सम्मिलित बलियो रक्षापंक्तिको प्रदर्शनमा निर्भर हुने निश्चित छ। उरुग्वेको रक्षापंक्तिमा गोडिनसहित जोसे मारिया जिमिनेज, मार्टिन कासेरेज र डिएगो लाक्साल्ट छन्। उरुग्वेले प्रतियोगिताका ४ खेलमा ९ गोल गरेको छ भने १ गोल मात्र खाएको छ। पोर्चुगलका रक्षक पेपेले उरुग्वेविरुद्ध १ गोल गरेका थिए। स्ट्राइकर एडिसन्स काभानी चोटका कारण फ्रान्सविरुद्ध खेल्ने नखेल्ने दुबिधा कायमै छ। उनी पोर्चुगलविरुद्धको खेलमा घाइते भएका थिए। यद्यपि उरुग्वेले अन्तिम ८ सम्मको यात्रा पक्का गर्दा मजबुत अग्रपंक्तिजस्तै रक्षापंक्ति पनि मजबुत देखिएको छ। ‘जुन टोलीले बल धेरै समय नियन्त्रणमा राख्छ त्यही टोलीले गोल गर्छ भन्ने गलत धारण छ,’ २००६ बाट उरुग्वेको प्रशिक्षण सम्हालेका ओस्कार टाबारेजले भने, ‘तर बल नियन्त्रणमा नराख्दा पनि विपक्षी टोलीलाई दबाबमा राख्न सकिन्छ।’

प्रकाशित: २२ असार २०७५ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App