coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेनाको इमल्सन प्लान्टले उत्पादन थाल्ने

काठमाडौं - कच्चा पदार्थ अभावमा बन्द नेपाली सेनाको इमल्सन प्लान्टले एक महिनाभित्र उत्पादन सुरु गर्ने भएको छ। मकवानपुरको सुनाचरीमा रहेको सिंगल बेसको उक्त प्लान्ट कच्चा पदार्थ अभाव भएपछि विगत डेढ वर्षदेखि बन्द छ।

विकास निर्माणका क्षेत्रमा आवश्यक पर्ने बिस्फोटक पदार्थ उत्पादन गर्ने उक्त प्लान्टलाई आवश्यक कच्चा पदार्थमा आयातमा भारतले रोक्का गरिदिएपछि बन्द भएको थियो। सैन्य स्रोतका अनुसार भारतीय कम्पनीले निर्माण गर्ने भनिएको फास्ट ट्रयाक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएपछि भारतले अघोषित रूपमा इमल्सन प्लान्टका लागि आवश्यक कच्चा पदार्थ रोक लगाउँदै आएको थियो। यसको लागि भारतीय पक्षले आवश्यक काजगपत्र नपुगेको बहाना बनाउँदै आएको थियो।

प्रधान सेनापति राजेन्द्र क्षत्रीको हालै सम्पन्न भारत भ्रमणपश्चात भारतले कच्चा पदार्थ पठाउने प्रक्रिया सुरु गरेको छ। ‘भारतबाट कच्चा पदार्थ आउन सुरु भइसकेको छ, एक महिना भित्र प्लान्टले नियमित उत्पादन गर्छ,’ सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने।

नेपाली सेनाले विकास निर्माणमा प्रयोग हुने बिस्फोटक पदार्थ आफैंले उत्पादन गर्दै आएको छ। हाल सञ्चालनमा रहेको प्लान्टबाट नेपालको सम्पूर्ण माग धान्न नसक्ने भएकाले सेनाले डबल बेसको प्लान्ट पनि स्थापना गरिरहेको छ। नयाँ प्लानटबाट पनि छिट्टै उत्पादन सुरु गरिने प्रवक्ता भण्डारीले जानकारी दिए । ‘कच्चा पदार्थ आउना साथ प्लान्टबाट उत्पादन सुरु हुन्छ । त्यसपछि नयाँ प्लान्टबाट पनि उत्पादन सुरु गर्छौं,’ भण्डारीले भने।

डबल बेसको प्लान्टबाट उत्पादन सुरु भएसँगै नेपालमा विकास निर्माणका लागि आवश्यक पर्ने विष्फोटक पदार्थको मागलाई सेनाकै उत्पादनले धान्ने जनाइएको छ । सुनाचरीमा रहेको प्लान्टको उत्पादनले सेनाले सञ्चालन गरिरहेको विकास निर्माण आयोजना तथा अन्य आयोजनालाई पनि आवश्यकता पूरा गर्दै आएको थियो। ठूला आयोजनाका लागि भने सेनाको अनुमतिमा बाहिरबाटै ल्याउनुपर्ने अवस्था रहेको थियो।

सुनाचरीको सिंगल बेसको प्लान्टको उत्पादन क्षमता एक हजार हजार दुई सय टन विस्फोटक पदार्थ रहेको छ। नयाँ प्लान्ट डबल बेसको हुने भएकाले यसबाट उत्पादन बढ्ने र यसले मुलुकको मागलाई धान्ने सेनाको दाबी छ। नयाँ प्लान्टबाट वार्षिक ३ हजार ६ सय टन बिस्फोटक पदार्थ उत्पादन गर्ने सेनाको भनाइ छ। नयाँ इमल्सन प्लान्ट स्थापनाका लागि सरकारले सेनालाई डेढ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ। हाल नेपालमा वार्षिक ३ हजार देखि बढीमा ५ हजार टन इमल्सन आवश्यक पर्ने सेनाको भनाइ छ।

सेनाले आफूले गरिरहेका सडक विस्तार, जलविद्युत् आयोजनालगायतका आयोजना तथा अन्य साना किसिमका विकास निर्माणसम्बन्धी आयोजनालाई समेत आफैले उत्पादन गरेको बिस्फोटक पदार्थ उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: २२ असार २०७५ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App