coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

३८ करोड अण्डा उत्पादन बढाउने लक्ष्य

फाइल तस्बिरः नागरिक

काठमाडौ - सरकारले आगामी तीन वर्षमा साबिकको भन्दा ३८ करोड गोटा अण्डा उत्पादन बढाउने लक्ष्य लिएको छ । अण्डा आयातमा आत्मनिर्भर भइरहेको अवस्थामा बढ्दो माग धान्ने गरी उत्पादन बढाउन लागिएको हो ।

आगामी आर्थिक वर्ष ०७७-७८ सम्ममा एक अर्ब ८३ करोड अण्डा उत्पादन गर्ने राष्ट्रिय योजना आयोगको मध्यकालीन लक्ष्यमा छ । आयोगका अनुसार चालु आर्थिक वर्ष एक अर्ब ४५ करोड अण्डा उत्पादन हुने अनुमान छ । यो गत आवभन्दा १० करोड बढी हो । आव ०७३-७४ मा एक अर्ब ३५ करोड अण्डा उत्पादन भएको थियो ।

पौष्टिक तत्वको रुपमा कुखुराका अण्डा प्रयोग हुने भएकाले यसको प्रयोगसँगै उत्पादन पनि वृद्धि हुँदै गएको छ । कुखुरा र अण्डाको बजार विस्तार भएसँगै पोल्ट्री व्यवसायमा लगानी बढेको छ । किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाएर मनग्य मुनाफा हुने भएपछि यसमा लगानीको आकर्षण बढेको हो । पोल्ट्री क्षेत्रमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी पुगेको पुगेको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ।

कुखुराका अण्डा र मासु प्रयोगको लोकप्रियतासँगै नेपालमा ‘पोल्ट्री’ व्यवसायले फड्को मारेको छ । नेपालमा दैनिक करिब ३० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए । ‘हामीलाई चाहिने अण्डा स्वदेशमै उत्पादन भएको छ,’ केसीले भने, ‘अण्डामा हामी आत्मनिर्भर भइसकेका छौं ।’ ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै अण्डा उत्पादनले व्यापकता पाएको व्यवसायी बताउँछन् । सरकारले समेत यो व्यवसायलाई प्राथमिकतामा राखेर विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको छ ।

कुखुरापालन अन्तर्गत ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै यो व्यवसाय फस्टाएको हो । चितवन, नवलपरासी, झापा, काठमाडौं, धादिङ, कास्की लगायत जिल्लामा करोडौंको लगानीमा कुखुरा फार्म सञ्चालन गर्ने लहर नै चलेको छ ।
सरकारको पछिल्लो तथ्यांकअनुसार देशभर २१ हजार नौ सय ५६ फर्म व्यावसायिक रूपमा सञ्चालित छन् । यीमध्ये ९३.२९ प्रतिशत ब्रोइलर उत्पादक, ६.९ प्रतिशत लेयर्स उत्पादक र ०.५८ प्रतिशत ह्याचरी (चल्ला उत्पादक) छन् ।

पछिल्ला केही वर्षमा कुखुराको मासु र अण्डा उपभोग समेत ह्वात्तै बढेको छ । यससँगै व्यावसायिक प्रयोजनले कुखुरापालन गर्ने क्रम पनि तीव्र छ । एक वर्षमा देशभर ६ करोड आठ लाख २६ हजार आठ सय ८० वटा कुखुरा व्यावसायिक प्रयोजनले पालिएका छन् ।नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण प्रतिवेदनअनुसार किसानले एक वर्षमा कुखुरा मासु, अण्डा, चल्ला बिक्रीबाट वार्षिक ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार रुपैयाँ कमाउँछन् । त्यसमा कुखुराबाट २० अर्ब ५२ करोड ८८ लाख ९१ हजार, अन्डाबाट नौ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्लाबाट तीन अर्ब ६०करोड ७६ लाख ७४ हजार, सुली मलबाट ४५ करोड ३७ लाख २२ हजार रुपैयाँ हुन आउँछ।

किसानले ब्रोइलर पाँच करोड २६ लाख ६६ हजार २९ वटा, लेयर्स ६९ लाख आठ हजार पाँच सय ९५ र अन्य जातका १२ लाख ५२ हजार दुई सय ५५ वटा कुखुरा पालेका छन् । तथ्यांकअनुसार सबै फार्मबाट गरी एक वर्षमा एक लाख १४ हजार ५८ मेट्रिक टन मासु उत्पादन हुन्छ । मुलुकभरका एक सय २८ ह्याचरीले एक वर्षमा आठ करोड ३३ लाख ६२ हजार चल्ला उत्पादन गरेका छन् ।सरकारले चालु आर्थिक वर्ष कुखुरापालनमा ऋण, अनुदान सघाएको थियो । पछिल्ला केही वर्ष यता ह्याचरी उद्योगमा मेसिनले चल्ला कोरल्न थालेपछि बोइलर्स, लेयर्स कुखुरापालन गर्नेको संख्या बढेको हो ।

ग्रामीण क्षेत्रका किसानलाई आन्तरिक खपत एवं पाहुना सत्कारको लागि ‘ग्रामीण कुखुरापालन कार्यक्रम’ सञ्चालन गर्न कुखुराका चल्ला, ह्याचरी र खोर निर्माण गर्न अनुदान उपलब्ध गराएको थियो । पोल्ट्री व्यवसायमा वार्षिक करिब एक खर्ब रुपैयाँको कारोबार हुने बताउँछन् । पोल्ट्री व्यवसायमा मेसिनले अण्डाबाट चल्ला कोरल्ने प्रविधि भित्रिएसँगै किसानले सजिलै चल्ला पाउन थालेपछि यसमा आकर्षण बढेको हो ।
काभ्रे पानी ट्यांकीस्थित फार्ममा अण्डा मिलाउँदै कुखुरापालक किसान ।

 

प्रकाशित: २२ असार २०७५ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App