८ वैशाख २०८१ शनिबार
समाज

नेपालगन्जमा डुबान समस्या

सामान्य वर्षा हुनेबित्तिकै डुबानमा पर्ने नेपालगन्जको न्युरोडस्थित सहिद सेतु बिक चोक। तस्बिर : नागरिक

नेपालगन्ज - न्युरोडका गोपाल गिरीको परिवार बर्खायामका बेला सधैं तनावमा रहन्छ। सामान्य वर्षा हुँदा पनि सडकमा जमेको पानी उनको घरभित्र पस्छ । २०६४ सालदेखि गिरी परिवारले डुबान समस्या खेप्दै आएको छ। ‘बर्खा लागेपछि त रातभर राम्ररी सुत्न पाइँदैन, घरभित्र पानी पसेर हैरान बनाउँछ,’ गिरीले दुखेसो पोखे। दुई दशकअघि न्युरोड बनेपछि गिरीले जग्गा खरिद गरी २०५९ मा सहिद सेतु बिक चोकनजिक घर बनाएका थिए। घर बनाइसकेपछि सुरुका केही वर्षसम्म सहज भए पनि २०६४ बाट निरन्तर डुबान समस्या बल्झिन थालेको उनले सुनाए।

बसपार्क रोडदेखि त्रिवेणी मोडसम्म उत्तरदक्षिणमा रहेको न्युरोडको दुवै किनारमा नाला छन् । तर, वर्षौंदेखि ती नालाबाट पानी बग्न छाडेको छ। नालामा फोहोर र माटो भरिएको छ । नालामा बग्ने पानी सडक हुँदै घरघरमा पस्ने गरेको पीडित स्थानीय बासिन्दा बताउँछन् । स्थानीयका अनुसार न्युरोडपछाडि पश्चिमतर्फ रहेको मुख्य नाला अतिक्रमणमा परेको छ। न्युरोडकै बासिन्दाले पछाडितिर नाला च्यापेर घर बनाएका छन् । अतिक्रमणका कारण करिब ६ मिटर चौडाइ रहेको उक्त नाला साढे ३ मिटरसम्म खुम्चिएको स्थानीयको भनाइ छ । न्युरोड र न्युरोड पछाडिका नालामा पानी बग्ने बित्तिकै ५० प्रतिशत डुबान समस्या समाधान हुने डुबानपीडित गिरी ठोकुवा गर्छन् । न्युरोडबाट दक्षिणतर्फ बग्नुपर्ने पानी उल्टो दिशातर्फ बग्ने गरेको उनले सुनाए । सामान्य वर्षाले न्युरोडस्थित सेतु बिक चोक जलामय हुन्छ र यहाँका दर्जनौं घरमा पानी पस्छ।

नेपालगन्जको राँझा, कारकाँदो, बसपार्क हुँदै बगेर आउने पानी सहायक नाला र मुख्य नालाबाट बग्नुपर्नेमा सेतु बिक चोकमा आएर जम्मा हुन्छ । ‘सेतु बिक चोकको सतह गहिरो छ, त्यसैले न्युरोडको दक्षिण र उत्तरतिरबाट बगेर आएको पानी यही ठाउँमा जम्मा हुन्छ,’ गिरीले भने, ‘त्यही भएर सेतु बिक चोक सधैं डुबानमा पर्छ ।’ न्युरोडका स्थानीय एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ पनि पुराना नाला सफाइ नभएकै कारण सधैं डुबान समस्या बल्झिने गरेको बताउँछन् । ‘पुराना नाला सफाइ नभएको वर्षौं भइसकेको छ, दुई वर्षअघि डुबानको जस्तो समस्या थियो, अहिले पनि त्यही समस्या दोहोरिएको छ,’ उनले भने।

उपमहानगरलाई डुबानमुक्त बनाउने उद्देश्यले एसियाली विकास बैंकको ऋण÷अनुदानमा एकीकृत सहरी विकास आयोजना परियोजना सञ्चालनमा छ। उपमहानगरपालिका कार्यालयका अनुसार उक्त आयोजनाका लागि दुई वर्षयता अढाई करोडभन्दा बढी बजेट खर्च हुँदैछ । आयोजनाअन्तर्गत उपमहानगरमा सडक, ढल तथा नाला निर्माण गरिनेछ। आयोजनाको काम चलिरहँदा डुबान समस्या झन् विकराल बन्दै गएपछि नेपालगन्जवासी आक्रोशित छन्। उपमहानगरमा सञ्चालित एडिबी आयोजना हात्तीको देखाउने दातजस्तै भएको श्रेष्ठले बताए।

उपमहानगरपालिकाले डुबान क्षेत्रभन्दा बाहिर आयोजनाको काम गरेका कारण समस्या बल्झिरहेको डुबानपीडित बताउँछन्। ‘एडिबीको बजेट न्युरोडमा प्रयोग भएन, त्यो बजेट नेताकर्मचारीका घरघडेरी भएका ठाउँमा खर्च गरियो,’ गिरीले थपे, ‘दुई दशकअघि न्युरोड जस्तो अवस्थामा थियो, अहिले पनि त्यस्तै अवस्थामा छ, कुनै पनि पूर्वाधार बनेको छैन।’

उपमहानगरपालिकाका अनुसार २०५२ सालताका नेपालगन्जको न्युरोडलाई दुई चरणमा निर्माण सुरु गरिएको थियो। पहिलो चरणमा त्रिवेणी मोडदेखि तत्कालीन ज्ञानेन्द्र चोक (हालको सहिद सेतु बिक चोक) सम्म र दोस्रो चरणमा उक्त चोकदेखि बसपार्क रोडसम्म न्युरोड निर्माण गरिएको थियो । तत्कालीन समयका उपमेयर एवम् हालका प्रदेशसभा सदस्य सुरेन्द्र हमाल न्युरोड बनाउँदा ढल निकासको उचित व्यवस्था गरिएको सम्झिन्छन्। ‘त्यतिबेला न्युरोड बनाउँदा दुवै किनारमा पानी निकास गर्ने नाला बनाइएको थियो, अहिले ती नालाबाट पानी बग्न पाउँदैन,’ हमालले भने, ‘पुराना नाला वर्षौंसम्म सफा नहुँदा न्युरोड डुब्ने समस्या आएको हो ।न्यूरोड र न्यूरोड पछाडीका नाला सफाई गर्ने वित्तिकै डुबान समस्या अन्त्य हुने उनको विश्वास छ।

नेपालगन्ज उपमहानगरपालिकाले भने सञ्चालनमा रहेका आयोजना सम्पन्न नहुँदा सम्म डुबान समस्या समाधान नहुने प्रष्ट्याएको छ। उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले दिर्घकालिन रुपमा डुबान समस्या समाधानका लागि आयोजना सम्पन्न हुनुपर्ने बताईन् । उनले भनिन्, पहिले एडिबीको आयोजना सम्पन्न होस्, त्यसपछि कहाँ समस्या आउँछ, कहाँ आउँदैन त्यो हेरेर डुबानको मुख्य कारण पत्ता लगाउन सजिलो होला।’

प्रकाशित: २२ असार २०७५ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App