८ वैशाख २०८१ शनिबार
अर्थ

७४ जनालाई क्षतिपूर्ति वितरण

खोटाङ - वैदेशिक रोजगारका क्रममा ठगीमा परेका खोटाङका ७४ जना कामदारले क्षतिपूर्ति पाएका छन् । सन् २०१४ जुलाईदेखि २०१८ जुलाईसम्मको अवधिमा विदेशमा गएकामध्ये ठगीमा परेका कामदारले एजेन्ट र मेनपावरबाट कम्तीमा जनही २० हजारदेखि ७० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाएका छन्।

चार वर्षको अवधिमा विदेशमा पुगे पनि सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका, एजेन्ट वा मेनपावरलाई रकम बुझाए पनि विदेश जान नपाएका, कार्यरत कम्पनीबाट लामो समयसम्म पासपोर्ट फिर्ता नपाएका, अर्कै काममा लगाइएका, कम्पनीबाट तलब नपाएका, सम्झौता अनुसार खाने बस्ने सुविधा नपाएका कामदारले ३२ लाख ३१ हजार पाँच सय क्षतिपूर्ति पाएका हुन् ।

सुरक्षित आप्रवासन परियोजना (सामी)का अनुसार वैदेशिक रोजगारीमा कतार, मलेसिया, साउदी, दुबई, कुबेत, बहराईन र ओमन पुगेर सम्झौता बमोजिम काम र दाम नपाएपछि स्वदेश फर्किएका पीडितले सामीको कानूनी सहायतामा मेनपावर र एजेन्टबाट क्षतिपूर्ति रकम पाएका हुन् । ‘सम्झौतामा उल्लेख भए बमोजिमको काम र दाम नपाए ठगी गरेको ठहरिन्छ,’ सामीका खोटाङ संयोजक भक्त राईले भने, ‘चार वर्षको अवधिमा त्यस्ता समस्यामा परेका ७४ जनालाई मेनपावर र एजेन्टबाट क्षतिपूर्ति दिलाउन सफल भएका छौं।’

सबैभन्दा ठगीका घटना कतार, मलेसिया, साउदी र दुबई जाने आउने क्रममा हुने गरेको जनाइएको छ । जनचेतनाका कारण पछिल्लो समय सम्झौता अनुसारको काम र दाम नपाएपछि मेनपावर र एजेन्टविरुद्ध कानूनी कारबाहीका लागि लड्ने प्रचलन बढ्दै गएको छ । चार वर्षको अवधिमा गन्तव्य देशमा अलपत्र परेका ८८ जनाको उद्धार गरिएको र एजेन्ट तथा मेनपावरबाट होल्ड गरिएका २८ जनाको पासपोर्ट फिर्ता गरिएको जनाइएको छ ।

मृतक परिवारलाई तीन करोड ५४ लाख
वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका बेला विभिन्न कारणले ज्यान गुमाएका खोटाङका २७ मृतक परिवारले बिमा कम्पनी र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट राहत रकम पाएका छन् ।

०७४ साउन १ गतेदेखि हालसम्मको अवधिमा खाडी मुलुक तथा मलेसिया पुगेका बेला विभिन्न कारणले ज्यान गुमाएका मृतक परिवारले तीन करोड ५४ लाख २० हजार रकम पाएका हुन् । दूतावास, परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आइपुगेको बिमावापतको रकम सामीको सहजीकरणमा मृतक परिवारले प्राप्त गरेका हुन् । मृतक परिवारले प्रतिपरिवार कम्तीमा आठ लाखदेखि २१ लाखसम्म क्षतिपूर्ति प्राप्त गरेको संयोजक राईले जनकारी दिए ।

१६ जुलाई २०१७ देखि १ जुलाई २०१८ सम्मको अवधिमा सुरक्षित आप्रवासन परियोजनाले जिल्लामा सञ्चालन गरेको क्रियाकलापका बिषयमा जानकारी दिन मंगलबार दिक्तेलमा आयोजना गरिएको छलफलमा सामीले चार वर्षको अवधिमा बैदेसिक रोजगारीका कारण मानसिक समस्यामा परेका ३४८ जनालाई व्यक्तीगत र एक हजार १४ जनालाई समुह परामर्श सेवा दिएको जानकारी दिइएको छ ।

सबैभन्दा बढि मानसिक समस्याबाट महिला पिडित छन् । यस्तै, बैदेसिक रोजगारका कारण निम्तिएको मानसिक समस्यामा परेका ३१ जनालाई आकस्मिक कोषबाट औषधोपचारमा सहयोग गरिएको, रेमीट्यान्सको सदुपयोगका लागि ८८३ जनालाई वित्तीय साक्षरता कक्षा प्रदान गरिएको, बिदेश जाने निश्चित गरिसकेका ८१४ जनालाई सीप प्रदान गरिएको जानकारी दिइएको छ ।

यस अवधिमा राहदानी बनाएका २२ हजार ८४८ जनालाई बैदेसिक रोजगारीका विषयमा सुचना तथा परामर्श प्रदान गरिएको संयोजक राईले बताए । सूचना तथा परामर्शका कारण सिप सिकेर विदेश जाने बढेका छन्, सिप सिक्नेको कमाई पनि राम्रो छ, राईले भने, महत्वपूर्ण कागजात पनि घरमा छाड्ने प्रचलन पनि बढ्दो छ । जिल्ला समन्वय समितिका संयोजक बबी चामलीङले बैदेसिक रोजगारलाई सुरक्षित बनाउन सचेतनाको आवश्यकता औंल्याए ।

प्रकाशित: २२ असार २०७५ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App