८ वैशाख २०८१ शनिबार
खेल

अब फ्रान्सको पक्षमा अर्जेन्टिनी

कोलम्बिया र इङ्ल्यान्डबीचको खेलअगाडि मस्कोको रेड स्क्वायरमा कोलम्बियाली समर्थक । तस्बिरः अजय/नागरिक

मस्को - ‘यो रेड स्क्वायर हेर्नुस्। यहाँ हिजोसम्म पूरा कोलम्बियाको जर्सी मात्र देखिन्थ्यो। केही दिनअघिसम्म अर्जेन्टिनाको धर्के आकासे र सेतो जर्सी लगाउनेको ठूलो भीड हुन्थ्यो। आज शान्त छ,’ बुधबार मस्कोमा भेटिएका एल साल्भाडोरका अर्मान्डो गुरेरो भन्दै थिए।

उनले भनेजस्तै मस्कोको केन्द्र रेड स्क्वायरमा मंगलबार इड्ल्यान्डसँगको अन्तिम १६ को खेलमा पराजित हुनुअघिसम्म कोलम्बियाली समर्थकको ठूलो भीड हुन्थ्यो। रंगशाला पूरा पहेंलो थियो। स्पार्टकको माहोल कोलम्बियामय भएको थियो। पहेंलो जर्सीमा सजिएका हजारौं समर्थकको बाम्बुको (कोलम्बियाली गीत र नृत्य) बाट स्पार्टक गुञ्जायमान थियो। तर शान्तपूर्वक आएको इङ्ल्यान्डसँग पराजित भएपछि मस्कोको रेड स्क्वायरमा रातो जर्सीको उपस्थिति नदेखिए पनि रूसी राजधानी मस्को पहेंलो जर्सीबाट मुक्त भयो।

‘तपाईं किन आएको ? म पनि त्यस्तै हो, फुटबलको समर्थक। आइसकेपछि मलाई मन पर्ने दक्षिण अमेरिकाका अर्जेन्टिना र कोलम्बिया थिए। दुवैले राम्रो खेले, तर चाँडै हारे। अब म पनि अरू अर्जेन्टिनी र कोलम्बियालीजस्तै घर फर्किन्छु,’ कसलाई समर्थन गर्न आएको भन्ने प्रश्नमा एल साल्भाडोरका गुरेरोको जबाफ थियो, ‘आफ्नो देश छनोट नभए पनि यहाँ आएर जति खेल हेरेँ, उच्चस्तीय खेल हेरें। विश्वकप हेर्नु एउटा ठूलो सपना हो। त्यो पूरा भयो, खुसी छु।’

इङ्ल्यान्डसँग पराजित भएपछि विश्वकप हेर्न श्रीमती र अन्य चार साथीसहित आएका कोलम्बियाली समर्थक भिक्टर उरिबेलाई मस्कोको मौसम र भाषा समस्या पनि झर्को लाग्न थाल्यो। ‘सुरुमा यहाँको जाडो शीतल लाग्थ्यो। तर कोलम्बिया हारेपछि पानी परेको पनि दिक्क लाग्दो हुन थाल्यो। झन् रूसीहरू भाषा नै नबुझ्ने। इङ्लिस कोही बोल्दैनन्, विदेशीको जीवन यहाँ निक्कै कठिन छ,’ बजारमा भेटिएका ३४ वर्षे उरिबेले भने, ‘आफ्नो टिम नै नभएपछि सबथोक नरमाइलो लाग्दो रहेछ। इङ्ल्यान्डले राम्रो खेल्यो। उनीहरू जितका हकदार थिए। तर हाम्रा केटाहरूले झन् राम्रो खेलेका हुन्। अन्तिम समयसम्म पनि फाइट गरे। पेनाल्टी भनेको सधैं भाग्यको खेल हो। जुन इङ्ल्यान्डको पक्षमा रह्यो। हामी अभागी भयौं।’

हामेस रोडरिग्वेज र कप्तान राडामेल फाल्काओबाट धेरै गोल आशा गरेका उनी हामेसको चोटलाई पराजयको कारण मान्छन्। ‘हामेसले युरोपमा राम्रो गरिरहेका थिए। अघिल्लो विश्वकपमा पनि उनको प्रदर्शन असाधारण थियो। पछिल्लो समय चोटबाट थलिए पनि विश्वकपका लागि उनी पूरा ठीक भइसकेका थिए। तर यहाँ फेरि चोट बल्झिँदा कोलम्बियालाई पीडा भयो,’ उरिबेले थपे, ‘हामेस भएको भए फाल्काओलाई राम्रो साथ हुन्थ्यो। दुईबीचको तालमेल राष्ट्रिय टिममा उत्कृष्ट थियो। अब विश्वकप म र ५० मिलियन (५ करोड) कोलम्बियालीका लागि बाँकी रहेन। कोलम्बियाको रुटअनुसार फाइनलसम्मको टिकट बडो मुस्किलले जोहो गरेको थिएँ। तर अब हामी फर्किने तयारीमा छौं। पहिला किनेको टिकट व्यवस्थापन गर्नु छ।’

अर्जेन्टिनाले विश्वकपको तेस्रो उपाधि जित्ने अपेक्षामा ब्युनस आयर्सबाट दुई दिन लगाएर रूससम्मको लामो यात्रा गरेका ५६ वर्षे कार्लोस डी मेन्डेजको कथा पनि उस्तै छ। स्थानीय टुर एजेन्सीलाई प्रतिव्यक्ति ३ लाख ४० हजार पेसो (१२ हजार डलर) बुझाएर मेन्डेज र उनका १५ साथीहरू विश्वकप हेर्न रूस आएका थिए। अर्जेन्टिनाको खेल हेर्न रूसभित्रै मस्कोदेखि निज्नी नोभगोरोड, सेन्ट पिट्सबर्ग र काजानसम्मको लामो यात्रा गरेका उनी र उनका साथीहरूको जाँगर फ्रान्ससँगको हारपछि सेलाएको छ।

काजान एरिनामा सम्पन्न विश्वकप अन्तिम १६ अन्तर्गतको रोमाञ्चक खेलमा लियोनल मेसीको अर्जेन्टिना जोसिलो फ्रान्सेली आक्रमणसामु ४–३ को नतिजामा निराश भएको थियो। एउटा यस्तो हार, जसले विश्व फुटबलकै महान् मानिएका मेसीको प्रेरणामा ३२ वर्षपछि विश्व च्याम्पियन बन्ने साढे चार करोड अर्जेन्टिनीको सपना चकनाचूर पारेको थियो।

‘चार वर्षअघि हामी तेस्रो पटक च्याम्पियन हुन नजिकसम्म पुगे पनि चुकेका थियौं। यसपालि जित्ने आत्मविश्वास थियो। छनोट चरणमा राम्रो नगरे पनि चाहिएको बेला नतिजा ल्याउन हाम्रो टिम सक्षम थियो। तर फ्रान्ससँगको हारले सबथोक खत्तम पा-यो,’ ब्युनस आयर्सबाट अमेरिकाको न्युयोर्क हुँदै २ दिनको पट्यारलाग्दो यात्रा गरेर आइपुगेका मेन्डेज फर्किने त्यही रुट सम्झेर दिक्क थिए, ‘लामो यात्रा, अनि त्यतिकै लामो ट्रान्जिट। उपाधि जितेर फर्किन पाएको भए जोस हुन्थ्यो, उत्साह हुन्थ्यो। निराश भएर हारेको सिपाहीजसरी त्यस्तो दिक्क लाग्दो यात्रा गर्नु छ।’

अर्जेन्टिनाले जित्ने विश्वासमा उनीहरू पनि फाइनलसम्मको टिकट किनेर आएका थिए। जुलाई १५ सम्मका लागि होटल बुक थियो। १६ तारिखमा फर्किने हवाई टिकट पक्का थियो। ‘लामो यात्राको तयारी गरे पनि दुर्भाग्यको सिकार हुँदा अन्तिम १६ बाटै फर्किनुप-यो। धेरै अर्जेन्टिनी फर्किसके। हाम्रो फर्किने हवाई टिकट नमिलेर बिहीबारसम्म यहाँ छौं। टिकट एजेन्टले मिलाइदियो। आफ्नो टिम नै हारेपछि मस्कोको महँगी किन थेग्नु ?’

फ्रान्ससँग पराजित भए पनि अर्जेन्टिनाले अन्तिम अवस्थासम्म उत्कृष्ट खेलेर जितको सम्भावना राखेको थियो। त्यसैले उनी टोलीको प्रदर्शनबाट दुखी छैनन्। बरु अब उनलाई फ्रान्सले जितोस् जस्तो लागेको छ। ‘त्यसो भए आफूले नजिकबाट चुनौती दिएको टिमले जित्दा अर्जेन्टिना पनि उपाधिको हकदार हो भनेर आफूलाई सान्त्वना दिन पाउँथें,’ उनले थपे।

अर्जेन्टिनाका निराश समर्थक कार्लोस डी मेन्डेज (बायाँ) र स्वदेश फर्किने तयारीमा दक्षिण अमेरिकी टोली कोलम्बिया र अर्जेन्टिनाका समर्थक। तस्बिरः अजय/नागरिक

प्रकाशित: २२ असार २०७५ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App