coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्वास्थ्य मन्त्रीले पठाएको चिकित्सक टोली जुम्लामा, डा. केसीको स्वास्थ्य सामान्य

काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट विहीबार दिउँसो जुम्ला पुगेको चिकित्सकको टोलीले अनशनरत डा. गोबिन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ। स्वास्थ्य परीक्षण गरेका डा. जीवन थापा र सुभाष रेग्मीले डा. केसीको स्वास्थ्य अत्तालिनुपर्ने अवस्थामा नरहेको प्रतिक्रिया दिएका छन्। 

स्वास्थ्य परीक्षण गर्न पुगेको चिकित्सकको टोलीलाई डा. केसीले फिर्ता जान आग्रह गरेका थिए।  डा. केसीले भने, ‘तपाइँहरु मेरो चिन्ता गरेर यहाँसम्म आउनुभयो त्यसका लागि धन्यवाद। मेरो हेरचाह र उपचार यहीँका मानिसले गर्छन्।’

डा. केसीले फिर्ता जान आग्रह गरेको कुरा स्वास्थ्य मन्त्रालयमा जानकारी गराउँदा मन्त्री यादवले त्यहीँ बसेर डा. केसीको स्वास्थ्यबारे निरन्तर निगरानी गर्न निर्देशन दिएको स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए। स्वास्थ्य मन्त्री यादवलाई उद्धृत गर्दै चौरसियाले भने, ‘डा. केसीले फिर्ता हुन भनेपनि तपाईहरु त्यही बसेर उहाँको स्वास्थ्य परीक्षणमा खटिनुस्। उहाँको स्वास्थ्य विग्रिन नदिने हाम्रो जिम्मेवारी र दायित्व हो।’

यसैगरी मन्त्री यादवले चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तत्काल काममा फर्किन र विरामीहरुको सेवामा खटिन निर्देशन दिएका छन्। उपचार पाउने नैसर्गिक अधिकारबाट जनतालाई बञ्चित नगर्न आग्रह गर्दै स्वास्थ्य मन्त्री यादवले अत्यावश्यक सेवा बन्द गरी आन्दोलन जारी राखेमा कानून अनुसार कारबाही गरिने चेतावनी पनि दिएका छन्। 

मन्त्री यादवले चिकित्सा क्षेत्र सुधारको विषय स्वास्थ्य मन्त्रालयसँग मात्र नजोडिएको भन्दै शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग निरन्तर छलफल भइरहेको र चाँडै नै सरकारले उपयुक्त निर्णय लिने स्पष्ट पारे।

प्रकाशित: २१ असार २०७५ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App