८ वैशाख २०८१ शनिबार
खेल

सहकर्मीलाई जित समर्पित

क्रोएसियाका गोलकिफर डानियल सुबासिच डेनमार्कका निकोलाई जोर्गेन्सनको पेनाल्टी बचाउँदै । तस्बिर: एपी

सोची – क्रोएसियाका गोलकिपर डानियल सुबासिचले दश वर्षअघि मृत्यु भएका पूर्वसहकर्मी हरभोजे कुस्टिचको तस्बिर अंकित जर्सी लगाएर सम्मान गरेका छन्।

कुस्टिचसँग बिताएको समयलाई सम्झँदै गोलकिपर सुबासिचले उनको तस्बिर अंकित जर्सी लगाएर सम्मान गरेका हुन् । विश्वकपमा क्वार्टरफाइनलको यात्रा तय गर्दाका नायक सुबासिचलाई पूर्वसहकर्मीका बारेमा जिज्ञासा राख्दा आँखाबाट आँसु झारेका थिए । ‘अकल्पनीय घटना भयो,’ सुबासिचले भने, ‘उनलाई के भएको थियो सबैलाई थाहा छ । उनको बारेमा मैले विस्तृत भन्नुपर्छ जस्तोे लाग्दैन।’

डेनमार्कविरुद्धको खेलअवधिभर उत्कृष्ट बचाउ गरेका क्रोएसियाका गोलकिपर सुबासिचले पेनाल्टी सुटआउटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई अन्तिम ८ को यात्रा गराएका थिए । उनको सहयोगमा क्रोएसिया १९९६ पछि पहिलो पटक क्वार्टरफाइनल प्रवेश गरेकोे थियो।

सुबासिचको सम्झनामा कुस्टिच र जर्सी घुमिरहन्छ । डेनमार्कविरुद्धको खेलमा सुबासिचले उत्कृष्ट खेले पनि खुसी मनाउँदा उनले उक्त खुसी २००८ मा बितेका कुस्टिचप्रति समर्पण गरेका थिए । सहकर्मी कुस्टिच मैदाननजिकै रहेको पर्खालमा ठोक्किएर घाइते भएका थिए । घाइते भएका उनको केही दिनपछि मृत्यु भएको थियो।

गोलकिपर सुबासिचले उनलाई जित समर्पण गर्दा उनका साथीहरूले पनि साथ दिएका थिए।

‘सुबासिच कुस्टिचप्रति सकारात्मक छन् । भावनासँगै सहानूभूति व्यक्त गर्दछन्,’ क्रोएसियाका डिफेन्डर डोमाजोग भिडाले भने।

डेनमार्कविरुद्ध सुबासिचले दमदार प्रदर्शन गर्दा भिडाले खुसीयाली मनाउने क्रममा कुमको चोट लागेको थियो।

‘उनी अहिले ठीक छन् । अर्को खेलका लागि तयार छन्,’ क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले भने।

तर सुबासिच खुसीका हकदार थिए । उनले डेनमार्कका पाँचमध्ये तीन खेलाडीको पेनाल्टी रोकेका थिए । जुन विरलै मात्र हुने गर्दछ । यसअघि २००६ मा पोर्चुगलका गोलकिपर रिकार्डोले इङ्ल्यान्डविरुद्ध रोकेका थिए।

‘पेनाल्टी सधै अवसर हुन् । के हुँदै छ कसैलाई थाहा हुँदैन । कुनै बेला बलको दिशाको अनुमान सही ढंगले लाग्छ । कोही बेला खेलाडी प्रहार गर्नेबाट चुक्छन् । राम्रो र नराम्रा दिन भन्ने हुँदैन । भाग्यमा नै निर्धारण हुने हो,’ डालिकले भने, ‘सुबासिचले उत्कृष्ट प्रदर्शन गरे।’

डेनमार्कविरुद्धको खेलमा सुबासिच ‘म्यान अफ दी म्याच’ घोषित भएका थिए।

अन्तिम आठमा प्रवेश गरेको क्रोएसियाले सेमिफाइनल प्रवेश गर्नका लागि शनिबार आयोजक रूससँग प्रतिस्पर्धा गर्दै छ।

प्रकाशित: २१ असार २०७५ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App