coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टोलीको सफलतामा मैदानबाहिरका नायकहरू

मस्को – कुनै पनि व्यक्ति वा टोलीले हासिल गर्ने सफलताको पछाडि थुप्रैले भूमिका निर्वाह गरेका हुन्छन्। रूसमा जारी विश्वकपमा ठूला नाम गरेका केही टोली घर फर्किंदा मंगलबार रातिसम्म ८ टोलीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। विश्वकपजस्तो फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा टोलीहरूले अन्तिम ८ सम्मको यात्रा गर्दा मैदानभित्र वा मैदानबाहिर रहेर योगदान गरिरहेका हुन्छन्। यसमध्ये क्वार्टरफाइनल तय गर्ने टोलीका लागि यी केहीको योगदान महत्वपूर्ण र अविस्मरणीय छ।

म्याक्सिमिलियानो परेरा (उरुग्वे)
उरुग्वेले रूसमा क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा म्याक्सिमिलियानो परेराले एक मिनेट पनि मैदानमा बिताएका छैनन्। तर, उरुग्वेबाट कीर्तिमानी धेरै खेल खेलेका म्याक्सिमिलियानोको प्रभाव र महत्पूर्ण टोलीमा छुट्टै छ। ‘उनी धेरै वर्षदेखि टोलीको महत्पूर्ण सदस्यका रूपमा छन् र रहिरहनेछन्। उनी मैदानभित्र नभए पनि उनको प्रभाव कायमै छ,’ उरुग्वेका कप्तान डिएगो गोडिनले भने, ‘उनको लामो अनुभवले युवा खेलाडीलाई प्रेरित गरिरहन्छ।’

गुए स्टेफन (फ्रान्स)
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पका विश्वासिलो पात्र हुन्, गुए स्टेफन। स्टेफन र डेसच्याम्पबीचको दोस्ती २००२ बाट सुरु भएको थियो। विगत ६ वर्षयता स्टेफन डेसच्याम्पको सहायकका रूपमा काम गर्दै आएका छन्। फ्रान्सको क्याम्पमा स्टेफन ‘फादर फिगर’ का रूपमा रहेका छन् । ‘उनीबारे कमै मान्छेलाई थाहा छ,’ फ्रान्स फुटबल संघका अध्यक्ष नोइल ली ग्रेटले भने, ‘उनको वर्णन गर्न शब्दको कमी हुन्छ। उनी विश्वासी, इमानदार, दक्ष र चातुर्यपूर्ण व्यक्ति हुन्।’

क्लेबर हाभियर (ब्राजिल)
ब्राजिलका सहायक प्रशिक्षक क्लेबर हाभियरले टेटेसँग विगत १७ वर्षदेखि काम गरिरहेका छन्। हाभियर मुख्य प्रशिक्षक टेटेसँगै पत्रकार सम्मेलनमा पनि उपस्थिति जनाउँछन्। त्यसले उनी टेटेका कति विश्वासिला छन् र उनलाई टेटेले कति सम्मान गर्छन् भन्ने दर्साउँछ। ‘टेटे विचारका धनी व्यक्ति हुन् भने म व्यावहारिक छु। टेटे एकल व्यक्तित्व भएका खेलाडी होइनन्। त्यसैले म समान हैसियत भएको दोस्रो प्रशिक्षकजस्तो भएको छु। अन्तिम व्यक्ति भने टेटे नै हुन्,’ हाभियरले भने।

एक्सेल विटसेल (बेल्जियम)
बेल्जियमले रूस विश्वकपमा क्वर्टरफाइनलसम्मको यात्रा गर्दा टोलीमा बिर्र्सन नहुने अर्को नाम हो, एक्सेल विटसेल। रक्षात्मक मिडफिल्डबाट खेल्ने विटसेल मैदानको जुनसुकै ठाउँबाट सशक्त प्रदर्शन गर्न सक्छन्। त्यसैले उनी प्रशिक्षकको पनि प्रिय छन्। ‘म शान्त स्वभावको मान्छे हुँ। मैदानमा हुने तनावपूर्ण समयमा मेरो यो स्वभावको काम लाग्छ। र म अन्य खेलाडीलाई पनि आवश्यकताअनुसार शान्त हुन प्रेरित गर्छु।’

युरे हिरकोभ (रूस)
आयोजक रूसले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा भेट्रान खेलाडी युरे हिरकोभले प्रेरणादायी भूमिका महत्पूर्ण छ। रूसका कप्तान इगोर अकिनफिभ र रक्षक इग्नासेभिचपछि हिरकोभ टोलीका सबैभन्दा सिनियर खेलाडी हुन्। यसअघि ३ खेल खेलेका जेरिभलाई प्रशिक्षक स्टानिस्लभ चेरचेसोभले बाँकी खेलमा पनि खेलाउने पक्का छ।

इभा ओलिभर (क्रोएसिया)
इभा ओलिभर क्रोएसिया टोलीका व्यवस्थापक हुन्। विश्वकप राष्ट्रिय टोलीको बेन्चमा बस्ने इभा पहिलो महिला हुन्। यु–१४ मा क्रोएसियाको नेसनल टेनिस च्याम्पियन इभाले क्रोएसियाको खाने, बस्ने र यात्राको व्यवस्थापन गर्छिन्। उनी १९९२ देखि क्रोएसिया फुटबल संघमा काम गरिरहेकी छिन्।‘इभा सच्चिकै महान् व्यक्तित्व हुन्,’ क्रोएसियाका गोलकिपर डानियोल सुबासिचले भने, ‘उनी सधैं हामीसँग हुन्छिन्, आफ्नो बुबा आमाजस्तै। उनलाई म विगत वर्षदेखि चिन्छु। यति ठूलो समूहको व्यवस्थापन गर्न सहज छैन।’

ड्यानियल इकभाल (स्विडेन)
स्विडेनले २४ वर्षपछि क्वार्टरफाइनलसम्मको यात्रा गर्दा उनीहरूको एकता र प्रबल मानसिकताले ठूलो भूमिका खेलेको छ। त्यसको श्रेय मनोवैज्ञानिक सल्लाहकार ड्यानियल इकभाललाई जान्छ। ‘म सबैसँग एकल रूपमा कुरा गर्छु अनि समूहमा,’ स्विडेनका ड्यानियल इकभालले भने, ‘म आगामी खेलका लागि मानसिक रूपमा बलियो बनाउने योजना बनाउँछु।’

एलेन रूसेल (इङ्ल्यान्ड)
इङ्ल्यान्डले क्वार्टरफाइनलसम्म पुग्दा ९ गोल गरिसकेको छ। जुन प्रतियोगितामा एउटा टोलीले दोस्रो धेरै गोल हो । जसको योजनाकार हुन्, एलेन रुसेल।‘धेरै कम मान्छेले मात्र यति सूक्ष्म रूपमा काम गर्छ। प्रविधिक रूपमा बलियो भयो भने गोल पनि निस्कन्छ,’इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले भने, ‘एलेनले विशेष रूपमा प्रविधिक पक्षलाई जोड दिइरहेका छन्।’

प्रकाशित: २१ असार २०७५ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App