८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले दिक्तेल–जयराम सडक अवरुद्ध

खोटाङ – पहिरोका कारण खोटाङलाई सडक सञ्जालमा जोड्ने एक मात्र दिक्तेल–जयराम सडक अवरुद्ध भएको छ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–जयराम सडक खण्डको हलेसी तुवाचुङ नगरपालिकाको ऐतिहासिकस्थल तुवाचुङ जायजुमस्थित बर्खेटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बुधबार राती १२ बजे सडक माथिबाट पहिरोसँगै ठूला–ठूला ढुंगा खस्दा छोटो तथा लामो दुरीका सवारी साधन आवागमन ठप्प भएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताए ।

सडकमा पहिरो थुप्रिएका कारण रातीदेखि सवारी साधन रोकिँदा सयौं यात्रु अलपत्र परेका छन् । बर्खेटारमा दिक्तेल आउँदै गरेका र दिक्तेलबाट काठमाण्डौं, धरान, विराटनगर जाँदै गरेको यात्रुको बिचल्ली भएको छ । वर्षा याममा दिक्तेल–जयराम सडक जिल्ला भित्रिने र बाहिरिने एक मात्र बाटो हो।

बिहीबार बिहानदेखि सडकको अवरोध हटाउने काम भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । नगरपालिकाको एक वटा ब्याकहो लोडर, खोटाङ बृहत खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–दिक्तेल सडक कालोपत्रेका काम गरिरहेको सुर्य कन्ट्रक्सनको एस्काभेटर प्रयोग गरेर सडकमा खसेको ढुंगा पन्छाउने काम भइरहेको छ ।

मध्यपहाडी लोकमार्गकै काम गरिरहेको नागार्जुन कम्पनीको दुई वटा बकेट सहितको एस्काभेटर समेत पहिरोस्थलमा झिकाइएको मेयर राईले बताए । किराँत समुदायको धार्मिक तथा उद्गमस्थल मानिने तुवाचुङ जयाजुममुनि रहेको बर्खेटारमा थप पहिरो जाने खतरा बढेको छ । ढुंगा पल्टाउँदा बस्तीमा पुग्ने भएकाले सडकमा थुपिएको ढुंगालाई फुटाएर अन्यत्र सारेर अवरोध हटाउनुपर्ने देखिएको मेयर राईले बताए । ‘बिहानदेखि सडकको अवरोध हटाउने काम भइरहेको छ,’ मेयर राईले भने, ‘ढुंगा पल्टाउँदा बस्तीमा पुग्ने खतरा छ, त्यही भएर फुटाएर साइड लगाएर मात्र सडक अवरोध हटाउने काम भइरहेको छ।

काठमाडौंबाट दिक्तेल आउँदै गरेको खोटाङ यातायात व्यवसायी संघको एउटा बस पार गर्ने बित्तिकै पहिरो खसेको बताइएको छ । खोटाङ यातायात व्यवसायी संघको बसभन्दा पछि आउँदै गरेको मध्यपहाडी यातायात व्यवसायी संघको बस भने रातीदेखि नै रोकिएको हिङमाङले बताए ।  

प्रकाशित: २१ असार २०७५ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App