६ वैशाख २०८१ बिहीबार
अर्थ

फूलबारी रिसोर्ट पुनः सञ्चालन तयारी

पोखरा - मजदुर आन्दोलनले गएको वर्ष भदौ अन्तिमदेखि बन्द पाँचतारे स्तरको ‘फूलबारी रिसोर्ट’ पुनःसञ्चालनको तयारी थालिएको छ ।

व्यवस्थापनले विदेशी चेनलाई सम्पूर्ण जिम्मेवारी दिएर रिसोर्ट चलाउने तयारी गरेको हो ।
रिसोर्टका महाप्रबन्धक समीर कपिलले विदेशी चेनलाई जिम्मा दिएर रिसोर्ट चलाउने तयारी गरेको जानकारी दिए । ‘विदेशी चेन होटलसँग सम्झौताको तयारी भएको छ । सम्पूर्ण जिम्मेवारी लिने गरी रिसोर्ट चलाउन दिन्छौं,’ उनले बुधबार नागरिकसँग भने, ‘केही समयभित्र सम्झौता हुने छ । रिसोर्ट बन्द भए पनि हामी चुप लागेर बसेका थिएनौं, सञ्चालनको प्रक्रियामै थियौं।’

आफैंले चलाउँदा समस्या हुनसक्ने भएकाले विदेशीलाई जिम्मा दिन लागिएको उनले बताए । ‘आगामी याममा रिसोर्ट सञ्चालन गर्ने लक्ष्य छ,’ कपिलले भने, ‘चेन होटलसंँग सम्झौताको अन्तिम तयारी भएको छ । कहिलेदेखि सञ्चालन हुन्छ भन्ने सम्झौतापछि मात्र थाहा हुन्छ ।’ आगामि पर्यटक याम अक्टोबरबाट रिसोर्ट चलाउने लक्ष्य रहेको उनको भनाइ छ।

विदेशी समूहलाई जिम्मा दिँदा बजारीकरणमा सहज हुने उनले बताए । ‘चेन होटलले सञ्चालन गर्दा पाहुना पनि आफैं ल्याउँछ । आफैं बजारीकरण गर्ने भएकाले सहज हुन्छ,’ उनले भने, ‘अहिलेको व्यवस्थापनले सञ्चालन गर्दा बजारीकरणमा समस्या हुन्छ । नेपालका ट्राभल एजेन्सीको भरमा मात्र रहेर चलाउन कठिन हुन्छ ।’ रिसोर्ट जिम्मा लिने चेनकोज नाम भने उनले खुलाएनन् ।

विदेशी चेनलाई जिम्मा दिइने

महाप्रवन्धक कपिलका अनुसार लामो समय बन्द रहेको रिर्सोट पुनः सञ्चालपछि राम्रो व्यवस्थापन गर्नुपर्ने बताए । लामो समय बन्द हुँदा रिसोर्टका संरचना बिग्रेको र मर्मत गर्नुपर्ने भएकाले पनि ४÷५ महिना समय लाग्छ । ‘मर्मत गर्न करिब ४० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । सम्झौतापछि मर्मत सुरु हुने छ,’ उनले भने, ‘व्यवस्थापन जिम्मा लिने समूहको योजनाअनुसार मर्मत गर्नुपर्ने भएका कारण हामीले पर्खेका हौं, नत्र अहिले नै मर्मत थालिसक्थ्यौं ।’ अब पूरै नयाँ स्वरूप दिँदा रिसोर्टको व्यापक मर्मत गर्नुपर्ने उनले बताए।

उनका अनुसार सम्झौतापछि कर्मचारी भर्ना गरिने छ । माथिल्लो तहमा मात्र चेन होटलका व्यवस्थापक रहने हुँदा तल्लो तहमा नेपाली कर्मचारी नै रहनेछन् । अहिले रिसोर्टमा चारजना कार्यकारी तहका कर्मचारीमात्र छन् । तीबाहेक सुरक्षाकर्मी पनि छन् । ‘केही कर्मचारीको हठको कारणले हामीलाई रिसोर्ट बन्द गर्न बाध्य पारियो,’ कपिलले भने ।

पोखराको यो रिसोर्ट व्यक्तिको मात्र नभई मुलुककै सम्पत्ति भएको पनि उनले बताए । ‘यत्तिको पुर्वाधारसहितको रिसोर्ट बनाउन अब कम्तिमा ५÷६ अर्ब रुपैयाँ र पाँच वर्ष अवधि लाग्छ । त्यो रकम जुटाउन सहज छैन,’ उनले भने, ‘विदेशी लगानी नै भित्रिनुपर्छ । स्वदेशी र सानो आकारको लगानीको यस्तो रिसोर्ट खोल्न सकिन्न ।’

विभिन्न माग राखेर मजदुरले महिनौंसम्म हडताल गरेपछि व्यवस्थापनले कर्मचारीलाई दिनुपर्ने सबै रकम दिएर बिदा गरेको थियो । मजदुर आन्दोलनका कारण औपचारिक रुपमा बन्द हुनुअघि पनि रिर्सोटमा महिनौंदेखि पाहुना राखिएको थिएन । बन्द हुनुअघि झन्डै ६ महिना कर्मचारी आन्दोलन चलेको थियो । ‘२-४ जना कर्मचारी त्यो बेला निकाल्न नसक्दा हामीले रिसोर्ट नै बन्द गर्नुपरेको थियो,’ कपिलले भने । औपचारिक रुपमा रिसोर्ट बन्द गर्दा त्यहाँ कार्यरत सबै १ सय १७ कर्मचारीले पाउनुपर्ने सबै सुविधा दिएर बिदाइ गरिएको थियो ।

सन् १९९८ देखि सञ्चालनमा आएको यो रिसोर्टमा त्यसबेला करिब तीन अर्ब रुपैयाँ लगानी गरिएको थियो । १ सय ६५ कोठा रहेको रिसोर्टमा सबैभन्दा कम १ सय र सर्वाधिक ३ सय अमेरिकी डलर प्रतिरात मूल्यका कोठा छन् । २ सय ९ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टसँग १ सय ४० रोपनी क्षेत्रफलको गल्फ मैदान छ।

प्रदेश–४ सरकारले २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न ठूला पुर्वाधार बन्न र निजी क्षेत्रमैत्री वातावरण हुनुपर्ने भन्दै बन्द रहेको रिसोर्ट सञ्चालनका लागि व्यवस्थापनलाई आग्रह गरेको छ । प्रदेश सरकारका पर्यटन मन्त्री विकास लम्सालले ६ महिनाभित्र रिसोर्ट सञ्चालन गर्न व्यवस्थापनलाई अनुरोध गरेका छन् । ‘महँगा र गुणस्तरीय पाहुना भिœयाउने हो भने फूलबारी रिर्सोट जस्ता गुणस्तरीय पूर्वाधार बन्नुपर्छ । बन्द भएको भए पनि खुल्नुपर्छ,’ लम्सालले भने, ‘सरकारी लक्ष्य पूरा गर्नका लागि पनि यस्ता पूर्वाधार चाहिन्छ ।’

पोखराको मात्र नभई सिंगो प्रदेश र मुलुककै सम्पत्ति भएकाले पनि फूलबारी सञ्चालनमा ल्याउन व्यावस्थापनलाई अनुरोध गरेको उनले बताए । ‘अरु व्यनवहारिक कुरा मिलाउँदै गरौंला, पहिला रिसोर्ट खोलौं भनेको छु,’ केही दिनअघि व्यवस्थापनसँगको कुरा उद्धृत गर्दै उनले भने, ‘पाँच वर्षमा पनि बनाउन नसकिने आकारको फूलबारी जस्ता रिसोर्ट बन्द हुनु हुँदैन । लगानीलाई सुरक्षित गर्नुपर्छ । अरु व्यवहारिक पक्ष आफ्नो ठाउँमा छ ।’ पोखरामा गुणस्तरीय पाहुना भिœयाउनकै लागि पनि यस्ता पूर्वाधार चाहिने उनले बताए ।

 

प्रकाशित: २१ असार २०७५ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App