coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बुद्धको एघारौं जहाज आयो

काठमाडौं - निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले एघारौं जहाज काठमाडौं ल्याएको छ । यो जहाजमा ७२ सिट छन्।

फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरमा उत्पादित ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजको यो जहाज मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्धको यो जहाजलाई ‘९एन–एएमयु’ कलसाइन दिएको छ ।

‘हाम्रो एघारौं जहाज आइपुगेको छ,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुधबार नागरिकसँग भने, ‘नयाँ जहाजले अधिकतम एक महिनाभित्र नियमित व्यापारिक उडान सुरु गर्ने छ । यसका लागि तीव्र गतिमा काम गरिरहेका छौं।’

बुद्धसँग अब हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका ६ थान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज भएका छन् ।

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ ।नेपालबाट २ घन्टा ३० मिनेट दूरीमा पर्ने सम्पूर्ण गन्तव्यमा ‘टर्बोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विगतमै अनुमति पाइसकेको छ । उसको अन्तर्राष्ट्रिय उडान लाइसेन्स अद्यावधिक छ ।

दुई दशकदेखि आन्तरिक उडानसँगै भुटानको पारो र भारतको बनारसका लागि ‘चार्टर्ड’ उडान गर्दै आएको बुद्धले असार ८ देखि बनारसका लागि प्रत्येक साता नियमित दुई उडान गरिरहेको छ । यसले आन्तरिक उडानतर्फ ६३ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीमा हाल करिब ८ सय ५० कर्मचारी काम गर्छन् । बुद्धले सन् २०२१ अगस्ट १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गत असोजमा गरिसकेको छ।

बुद्धले उडान सुरु गरेयता स्वदेशी तथा विदेशी गरी हालसम्म १ करोडभन्दा बढी यात्रुलाई गन्तव्य पुर्याइसकेको छ । कम्पनीले पर्यटन÷घरेलु उडानतर्फ सबैभन्दा बढी कर-राजस्व बुझाउन सफल पनि भएको थियो । हाल यसले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई गन्तव्य पुर्याइरहेको छ ।

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ ।

प्रकाशित: २१ असार २०७५ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App