५ वैशाख २०८१ बुधबार
खेल

पेनाल्टी सुटआउटमा इङ्ल्यान्डकाे नयाँ इतिहास

तस्विर : एपी

मस्को - रूसको मस्कोस्थित स्पार्टक रंगशालाको माहोल मंगलबार उल्लासमय थियो । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकप अन्तिम १६ को खेलमा इड्ल्यान्ड र कोलम्बिया आमनेसामने भइरहेका थिए।

कोलम्बिया जो पछिल्लो समय सधंै एकनासले राम्रो फुटबल खेलिरहेको थियो । स्टार फरवार्ड हामेस रोडरिग्वेज चोटका कारण बेन्चमै सीमित हुने पक्का थियो । तर कप्तान राडामेल फाल्काओ यो विश्वकपमा उच्च फर्मका साथ पुनरागमन जनाएका थिए । कार्लोस सान्चेज, हुँवा क्वाडार्डो, हुँवा क्विन्टेरो, जेफर्सन लेर्मा र येरी मिनाजस्ता खेलाडीले पछिल्लो समय गरेको प्रदर्शन पनि आशा गर्न लायक थियो।

समूहचरणमा जापानसँग तेस्रो मिनेटमै सामना गरेको रातो कार्ड र पेनाल्टी गोलले कोलम्बियालाई पूरा खेलअवधिभर नै उठ्न दिएको थिएन । त्यसैले त्यो खेलमा पराजित भए पनि पोल्यान्डलाई ३–० तथा सेनेगललाई १–० को नतिजामा हराएर कोलम्बियाले विश्वकपमा लामो यात्रा गर्ने संकेत देखाएको थियो।

उता इड्ल्यान्डले भने छनोट चरणदेखि विश्वकपको समूहचरणसम्म पनि सनसनीपूर्ण प्रदर्शनका साथ सुखद नतिजा ल्याए पनि समर्थकको विश्वास जित्न सकिरहेको थिएन । ठूला प्रतियोगितामा सधैं स्टार खेलाडीहरूको साथमा सहभागी हुने गरे पनि त्यसअनुसार नतिजा निकाल्न इङ्लिस टोली सधैं चुक्दै आएको थियो ।

इङ्लिस समर्थकलाई टोलीको विगतका कारण जितमा खुसी मनाउने बानी लागिसकेको थियो । उनीहरूलाई इङ्ल्यान्डले हासिल गरेको फराकिलो जितमा खुसी हुने पनि बानी छ । तर पछिल्लो समय विश्वकपमा आफ्नो टोलीको सफलतामा रमाउने अनुभव उनीहरूसँग छैन । कम्तीमा भर्खरै फुटबलसँग रमाउने उमेर पुगेका समर्थकलाई त झनै त्यस्तो अनुभव छैन । १९६६ मा विश्वकप जितेयता सिनियर टोलीले कुनै ठूलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हेर्ने समर्थकको धोको पूरा भएको छैन ।

त्यसैले रूसको टिकट पक्का गर्दा छनोट चरणमा गरेको राम्रो प्रदर्शन समर्थकले बिर्सिइसकेका थिए । समूहचरणमा ट्युनिसियालाई २–१ तथा पानामालाई ६–१ को नतिजामा हराए पनि समर्थक भित्रैदेखि आफ्नो टिमबाट ढुक्क हुन सकेका थिएनन् । त्यसैले त सधै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो टिम सहभागी हुँदा दशौं हजारको संख्यामा पुग्ने इङ्लिस समर्थकहरूले रूसलाई प्राथमिकतामा राखेनन् । विगतमा सुपरस्टारहरूले भरिपूर्ण टिमबाट समेत निराशा भोगेका समर्थकले यसपालि कम अनुभवी युवा टिमबाट ठूलो आशा नराख्नु स्वाभाविक थियो ।त्यसमाथि यसपालि विश्वकप रूसमा हुनुले पनि इङ्लिस समर्थक खुसी थिएनन् । अन्तर्राष्ट्रिय राजनीतिमा दुई देशबीचको कटुतापूर्ण सम्बन्धले इङ्लिस समर्थकहरूलाई रूस यात्राको उत्साह दिएको थिएन ।

ठीक विपरीत मस्कोबाट १६ घण्टाभन्दा बढीको हवाई दूरीमा रहेको दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाका समर्थकको उत्साहजनक उपस्थितिले स्पार्टकको खेलमेला सार्थक पारिरहेको थियो । दिउँसो मस्कोको रेड स्क्वायरदेखि नै वातावरण तताएका पहेलो जर्सीधारी कोलम्बियाली समर्थकले स्पार्टक रंगशाला वरिपरिको पूरा माहोल पनि कब्जामा लिएका थिए।

‘टिम २००६ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । इङ्ल्यान्डले हकलाग्दो यात्रा गरिरहेको छ । हामी यसअघि पनि धेरै पटक विश्वकप जितिसक्नुपर्ने टिम थियौं । २००२ र २००६ मा इङ्ल्यान्डको टिम विश्वमा सबभन्दा राम्रो थियो । तर त्यति बेला हामीलाई भाग्यले साथ दिएन,’ खेलका लागि रूस आउने थोरै इङ्लिस समर्थकमध्येका एक जेम्सले भने, ‘पहिला हाम्रो टिमबाट धेरै आशा गरिन्थ्यो, जसका कारण टिम दबाबमा परेर राम्रो नतिजा आउन सकेको थिएन । यसपालि युवा टिममाथि दबाब थिएन । त्यसैले राम्रो नतिजा आउनेमा म आशावादी थिएँ । यसपालि यी युवाहरू रूसबाट उपाधि जितेर फर्किन्छन् । रूसमा जित्ने उपाधि हाम्रा लागि अझै विशेष हुनेछ ।’

तर इङ्ल्यान्डका समर्थक छिटफुटमात्र देखिएको स्पार्टक रंगशालाको माहोल खेल अघि बढेसँगै फेरिन थाल्यो । कप्तान ह्यारी केनको गोलसँगै ५७औं मिनेटमा इङ्ल्यान्डले सफल नतिजायात्रालाई निरन्तरता दियो । पूरा रंगशालालाई स्तब्ध पार्दै केनले पेनाल्टीलाई गोलमा परिणत गर्दा इङ्ल्यान्ड १२ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने संकेत देखिएको थियो । युवा टोलीको उच्च प्राविधिक जुझारु प्रदर्शनले पूरा समय कोलम्बियामाथि हाबी हुँदा रंगशालाभित्र झीनो संख्यामा उपस्थित इङ्लिस समर्थकको आवाज चर्को लाग्न थाल्यो।

होसे पेकरम्यानको हार नमान्ने कोलम्बियाली स्वभावविरुद्ध अन्तिम समयमा गारेथ साउथगेटको रणनीति कमजोर बन्यो । खेल नियन्त्रणमा राखे पनि इन्जुरी समयमा साउथगेटले सही रणनीति अख्तियार गर्न नसक्दा कोलम्बिया गोल फर्काउन सफल भयो र खेल अतिरिक्त समय हुँदै टाइब्रेकरसम्म पुग्यो ।

५७औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गरेको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो ।कोलम्बियाका कार्लोस सान्चेजले पेनाल्टी एरियामा केनलाई लडाएपछि इङ्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । जारी प्रतियोगितामा केनको यो छैटांै गोल हो र उनी सर्वाधिक गोलकर्ताको सूचीको अग्रस्थानमा छन् । समान ४ गोलका साथ बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् ।
तर अतिरिक्त समयको तेस्रो मिनेटमा रक्षक यारी मिनाले हुँवा क्वार्डाडोको कर्नरमा हेड गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।

जोर्डन हेन्डरसनको तेस्रो पेनाल्टी प्रहार कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले रोकेपछि इङ्ल्यान्ड ३–२ ले पछि परेको थियो । तर कोलम्बियाका माटियोस एरिबेको चौथो पेनाल्टी प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने बाकाको पाँचौं प्रहार इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफर्डले बचाएका थिए । इरिक डायरले पाँचांै पेनाल्टी प्रहारलई जाली चुमाउँदै इङ्ल्यान्डको अन्तिम ८ मा स्थान पक्का गरेका थिए।

इङ्ल्यान्ड यसअघि तीन पटक विश्वकपको पेनाल्टी सुटआउटमा चुकेको थियो । यसअघि इङ्ल्यान्ड १९९० मा इटालीमा सम्पन्न विश्वकपको सेमिफाइनलमा पश्चिम जर्मनीसँग, १९९८ को फ्रान्स विश्वकपको अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग पराजित भएको थियो भने २००६ जर्मनी विश्वकपमा पोर्चुगलसँग क्वार्टरफाइनलमा पराजित भएको थियो । त्यस्तै १९९६ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनल र २००४ तथा २०१२ को युरोपियन च्याम्पियनसिमा पनि पनि इङ्ल्यान्ड पेनाल्टीमा पराजित भएको थियो ।

१९९६को युरोपियन च्याम्पियनसिपको सेमिफाइनल जर्मनीविरुद्ध पेनाल्टीमा चुक्दा चर्को आलोचित बनेका गारेथ साउथगेटको प्रशिक्षणमा इङ्ल्यान्डले विश्वकपमा पेनाल्टी सुटआउटमा भोग्दै आएको हारको शृंखलामा पूर्णविराम लगाएको हो ।शनिबार समारामा हुने क्वार्टरफाइनलमा इङ्ल्यान्डले स्विडेनको सामना गर्नेछ ।

प्रकाशित: २१ असार २०७५ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App