८ वैशाख २०८१ शनिबार
राजनीति

डा. केसीको अनशन व्यक्तिगत : गृहमन्त्री

काठमाडाैं - गृहमन्त्री रामबहादुर थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीको अनशन व्यक्तिगत भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कसैले आफ्ना माग सडकमा राख्न सक्ने तर त्यसको हल लोकतान्त्रिक विधिबाट गरिनुपर्ने बताए । सांसदले डा. केसीका मागबारे सरकारले बेवास्ता गरेको भन्दै विरोध गरेपछि उनले संसद्मा यसप्रकारको जवाफ दिएका हुन्।

लोकतान्त्रिक विधिबाट हल गर्र्ने ठाउँ भनेको जननिर्वाचित सभा हो । जनताबाट चुनिएका प्रतिनिधिले जनताको हितमा रहेर जनताका आवश्यकताको सम्बोधन गर्न सकिने उनको भनाइ थियो । माग राखेर अनशनमा बस्ने अधिकार डा. केसीलाई भएको तर उनको मागमा सरकारले दमन गरी लोकतान्त्रिक अधिकार हनन् नगरेको उनले बताए ।

डा.केसीको अनशन बस्ने अधिकार छ भन्दै गृहमन्त्री थापाले भने, ‘सबै नागरिकले कानुनको सम्मान गर्नुपर्दछ, लोकतन्त्रको नाममा व्यक्ति अनशन बसेर माग राख्नु अधिनायकवाद हो ।,’ अब निर्वाचित सरकार आएको र सदन गठन भएको बताउँदै गृहमन्त्री थापाले मुद्दाहरुलाई लोकतान्त्रिक ढंगले हल गरिनुपर्ने बताए । ‘यसलाई सदनले हल गर्ने हो वा व्यक्ति सडकमा बसेर हल गर्ने हो, कुन लोकतान्त्रिक हो ?,’ गृहमन्त्री थापाले भने, ‘हामीले डा.केसीलाई गिरफ्तार गरेका पनि छैनांै, अनशनबाट रोक्न खोजेका पनि छैनांै । सरकारको जिम्मेवारी लोकतन्त्रको रक्षा गर्ने हो ।’

डा. केसीको अनशनमा सरकारको कुनै पोजिसन छैन भन्दै उनले यो केसीको व्यक्तिगत अधिकारको कुरा भएकाले सरकारले आफ्नो विमति पनि नराखेको उनले बताए । कस्तो स्वास्थ्य नीति बनाउने जनताले फैसला गर्ने कुरा भएको बताउँदै उनले भने सडकबाट कुनै समस्या समाधान हुन सक्दैन ।

गृहमन्त्री थापाले भने, ‘सदनमा आफ्ना आवाज राखौं, मत राखौं, समस्याको हल गरौं, यो नै लोकतान्त्रिक प्रक्रिया हो ।’ डा.केसीलाई हतारोमा जुम्ला पुगेर अनशन बस्न आवश्यक थिएन भन्दै थापाले भने, ‘सरकारले विधेयक ल्याउँथ्यो त्यसमा मत राख्न सकिन्थ्यो । अल्पमतको तरिकाले नभई बहुमतको तरिकाले हलगर्ने लोकतान्त्रिक विधि हो । डा.कसीले अपनाएको विधि अधिनायकवादी विधि हो ।’

सदनले जुन आवाजको सुनुवाइ गर्छ त्यसलाई सम्मान गराैं भन्दै उनले कानुनभन्दामाथि तानाशाह मात्र हुने बताए । गृहमन्त्री थापाको भनाइपछि कांग्रेसका दिलेन्द्रप्रसाद बडुले प्रश्न गर्दै डा. केसीको स्वास्थ्य जोखिममा भए पनि सरकारले ध्यान नदिएको बताएका थिए ।

तर, गृहमन्त्री थापाले बडुको कुरा झुट भएको बताए । उनले भने डा. केसीले आफूलाई उपचार चाहिँदैन भनेर फर्काएको बताए । गृहमन्त्रीले भने ‘उहाँको उपचार गर्न काठमाडौं ल्याउन चाहन्छांै तर, उहाँ मान्नुहुन्न ।’ उनले भने, ‘जबरजस्ती ल्याउने हो भने सदनले आदेश दिनुपर्यो । जबरजस्ती गरौं भने मानवअधिकार र लोकतन्त्रको हनन् हुन्छ हामी बडो दुविधामा छौं ।’ डा.केसीलाई उपचार गर्नका लागि हेलिकप्टर ठीक पारेर राखेका पनि उनले बताए ।

गृहमन्त्री थापाले गंगामायाको अनशनको विषय राजनीतिक प्रश्न भएको बताए । यसलाई सबै दलको सहमतिमा राजनीतिक ढंगले हल गर्नुपर्ने उल्लेख गर्दै उनले एक जना गंगामायाको मात्र हैन १७ हजार गंगामायालाई न्याय दिनुपर्ने बताए ।

सो बैठकमा जनशक्ति पार्टीका संयोजक सांसद डा. बाबुराम भट्टराईले डा. केसीका माग सम्बोधन गर्न माग गरे । उनले सरकारले लगाएको निषेधाज्ञा फिर्ता गरेर अभिव्यक्ति तथा विरोध गर्ने स्वतन्त्रताको सरकारले सम्मान गर्नुपर्ने धारणा राखेका थिए ।

निशेषाज्ञाको विषयमा गृहमन्त्री

प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री थापाले राजधानीका केही स्थानमा निशेधित क्षेत्र घोषणा गर्नुको कारण सुशासन भएको बताए । उनले यो नै लोकतान्त्रिक अभ्यास भएको बताए ।

‘सबै ठाउँमा अवरोध खडा गर्ने दुनियाँमा कहीँ पनि छैन भन्दै उनले नागरिकहरुको जीउधनको सुरक्षा गर्नका लागि सरकारले यस्तो निर्णय गरेको हो ।’ उनले भने विरोध गर्ने अधिकार कहीँ कतै कुण्ठित नभएको बताए । बेलायत, अमेरिका, युरोप, भारतमा जहाँ पनि अनशन बस्न पाइँदैन भन्दै उनले संवेदनशील क्षेत्रमा गरिने विद्रोह प्रतिविद्रोह मात्र हुने बताए ।

उनले भने, ‘यो सरकार जननिर्वाचित होइन, जनताको प्रतिनिधित्व गर्दैन भने विद्रोह गर्ने नैसर्गिक अधिकार हो । त्यस्तै यो राष्ट्रघाती सरकार वा अल्पमतको सरकार भए हो भने विद्रोह गर्न सकिन्छ ।संसद्को बुधबारको बैठकमा कांग्रेसका अमरेशकुमार सिंहले सरकारले यस निर्णय फिर्ता नलिए संसदमै अनशन बस्ने चेतावनी दिएका थिए ।

बाढी पहिरोमा सरकार सचेत छ गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले हालै आएको बाढी पहिरोबाट जनधनको क्षति भए पनि सरकारले यसलाई नियन्त्रण गर्नका लागि सचेतना अपनाई राखेको बताएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा उनले प्रहरी र सेनालाइ चौबिसै घण्टा तयारीमा राखेको बताए । गृहमन्त्री थापाले विपद् व्यवस्थापन प्राधिकरण गठन गर्ने तयारी गरेको पनि बताए । मौसमविद्ले ठूलो क्षति हुन सक्ने बताएकाले सरकारले यसबारे आफ्ना तर्फबाट तयारी गरिरहेको उनले बताए । उनले दुबै सभामा बाढी पहिरोबाट भएको क्षतिको विवरणबारे जानकारी गराएका थिए ।

गृहमन्त्री थापाले यही असार १५ गते देखि अहिलेसम्म बाढीपहिरोका कारणले करिब २ दर्जन व्यक्तिले ज्यान गुमाइसकेको जानकारी दिँदै सो घटनामा परी आधा दर्जन बेपत्ता र करिब आधा दर्जन घाइते समेत भएको, २ जना बेपत्ता भएको तथा १८ जिल्लामा बाढी र पहिलोले प्रभाव पारेको उनले बताए।

प्रकाशित: २१ असार २०७५ ००:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App