७ वैशाख २०८१ शुक्रबार
राजनीति

गोली निकाल्न नपाउँदै जनआन्दोलनका घाइते पराजुलीको निधन

पर्वत– ०६२/०६३ को जनआन्दोलनमा घाइते कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारीका राम पराजुलीको निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित ३६ बर्षीय पराजुलीको निधन भएको हो। उनी ३० चैत २०६२ मा काठमाडौंमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीको तीन वटा गोली खुट्टामा लागेर घाइते भएका थिए।

लामो समयदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएका पराजुलीको आर्थिक अभावले पूर्ण उपचार गराउन नपाई निधन भएको परिवारजनले जनाएका छन्। पराजुलीको बुधबार मोदीबेनी घाटमा अन्त्येष्टि गरिएको छ। उनले विगत १३ बर्षदेखि खुट्टामा गोली बोकेर हिँडेका थिए। जनआन्दोलनका क्रममा तीन वटा गोली लागेपनि दुई वटा गोली खुट्टा छेडेर बाहिर गएको थियो। एउटा गोली निकाल्न बाँकी थियो। 

खुट्टामा गोली निकाल्न नपाउदा उनी सहज रुपमा हिँडडुल गर्न समेत समस्या रहेको थियो। उनले भन्ने गर्थे, ‘एक दिन यो खुट्टामा रहेको गोली निकालेरै छाड्छु।’ तर पराजुलीको त्यो गोली निकाल्ने धोको पुरा नभई निधन भएको छ। आर्थिक अभावले खुट्टाको गोली निकाल्न नसकेका पराजुलीलाई त्यो सँगै ब्लड क्यान्सर देखिएको थियो। 

पराजुलीले जनआन्दोलनमा तत्कालिन शाही सरकारले गोली चलाएर हत्याको प्रयास गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह र तत्कालिन गृहमन्त्री कमल थापालाई बिपक्षी बनाएर सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी समेत दिएका थिए। सुरक्षाकर्मीले गोली चलाएपनि आदेश दिने तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष शाह र तत्कालिन गृहमन्त्री थापा रहेकोले उनीहरुलाई कारबाही हुनुपर्ने उनको माग थियो। 

स्थानीय शान्ति समितिमार्फत उनको उजुरी दुई सय ४९ नम्बरमा दर्ता गरिएको थियो। पराजुली तत्कालिन नेकपा माओबादी केन्द्र पर्वतका जिल्ला सदस्य थिए। पर्वतका पूर्वसांसद गुणाखर बस्यालले पराजुलीको निधनप्रति दुःख ब्यक्त गर्दै जनआन्दोलनका घाइतेले पूर्ण उपचार नपाई मृत्युवरण गर्न बाध्य हुनु दुःखद भएको बताएका छन्। 

‘सत्ताका नजिक रहेका आसेपासेहरुको लागि दसै तथा विविध खर्च भनेर राज्यकोषको करोडौ खर्चनेहरुले राम पराजुली जस्ता योद्धाको लागि सहयोग नपुग्नु बिडम्बना हो यस्ता हर्कतप्रती सचेत बन्नैपर्छ’ बस्यालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 

उनको उपचारका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले समेत भेटेपनि उनलाई उपचारका लागि आवश्यक आर्थिक स्रोत जुटेको थिएन। आर्थिक अभाव भएपछि उनको उपचारसमेत प्रभावित भएको थियो। 

घरको आर्थिक अवस्था कमजोर भएका पराजुलीको उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराइदिन परिवारजनले आग्रह गर्दै आएका थिए। उनी पार्टीमा हक्की र प्रष्ट वक्ताका रुपमा चिनिने गरेका थिए। उनकी पत्नी तारादेवी गतबर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार भएकी थिइन्।

प्रकाशित: २० असार २०७५ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App