coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

डोटीमा भेटियो ‘टुटा एब्सोलुटा’

जोरायलका किसानको बारीमा भेटिएको ‘टुटा एब्सोलुटा’ किरा । तस्बिर : नागरिक

डोटी– डोटीको जोरायल क्षेत्रमा तरकारीमा लाग्ने खतरनाक किरा ‘टुटा एब्सोलुटा’ भेटिएको छ। जोरायल गाउँपालिका–१, गैराका किसानका बारीमा लगाईएको गोलभेँडामा सो किरा भेटिएको हो। 

शुरुमा कृषक मान बहादुर महताको बारीमा भेटिएको सो किरा अहिले क्रमशः अन्य किसानको बारीमा समेत फैलन थालेको स्थानीय किसानले बताएका छन्। किसानको बारीमा देखिएको सो किरा टुटा ‘टुटा एब्सोलुटा’ नै रहेको अनुकुलन–एक्स परियोजनामार्फत सोही क्षेत्रमा कार्यरत कृषि प्राबिधिक रमेश कठायतले बताए। यद्यपी जिल्ला कृषि बिकास कार्यालय डोटीमा भने यसबारे कुनै जानकारी नआएको बरिष्ठ कृषि बिकास अधिकृत डा. तपेन्द्र शाहले जानकारी दिए।

यो किरा ‘सोलोनासी’ प्रजातीको तरकारी बालीमा लाग्ने खतरनाक किरा रहेको कृषि बिज्ञहरु बताउँछन्। यो प्रजातीमा गोलभेँडा, आलु, भण्डा लगायतका तरकारीहरु पर्दछन्। यसमा सबैभन्दा बढी क्षती भने गोलभेँडामा देखिने गरेको छ। ‘टुटाले गोलभेँडाको फल र बोट दुबैमा पूर्ण क्षती पु¥याउछ,’ बरिष्ठ कृषि बिकास अधिकृत शाहले भने,‘यसले संक्रमण फैलिए किसानलाई धेरै नोक्सान हुन्छ।’

यो किरा सर्बप्रथम दक्षिण अमेरिकामा देखिएको थियो। त्यसपछि युरोप, नाइजेरिया, मध्यपूर्व एसिया, दक्षिण एसिया हुदैँ भारतबाट नेपाल भित्रिएको बताइन्छ। २०७३ सालमा पहिलोपल्ट नेपालमा  भेटिएको यो किराले काठमाण्डौं, ललितपुर, भक्तपुर लगायतका जिल्लाका किसानहरुलाई निकै ठुलो क्षती पु¥याएको थियो। अहिले गोलभेँडा खेती गरिएका प्रायः अधिकांश मध्यपहाडी जिल्लाहरु र तराईका केही जिल्लाहरुमा समेत देखिएको बरिष्ठ कृषि बिकास अधिकृत शाहले बताए। डोटीमा भने यो किरा देखिएको पहिलोपल्ट हो  यसअघि सुदूरपश्चिमकै कैलाली र बाजुरा जिल्लामा भेटिएको थियो। 

‘टुटा’ पुतलीको लार्भा हो। यसलाई नियन्त्रण गर्न पुतलीलाई नै पासोमा पारेर गर्नसकिने बरिष्ठ कृषि बिकास अधिकृत शाह बताउँछन्। ‘यो किरा रोकथाम गर्ने जैविक बिधि भनेको पुतलीलाई पासोमा पारेर अण्डा उत्पादन रोक्ने नै हो,’ उनले भने, ‘रसायानिक बिधि पनि प्रयोग गर्न सकिन्छ।’ 

प्रकाशित: २० असार २०७५ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App