coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मालपा खोलाको पुल बगाउँदा पैदल यात्रु अलपत्र

दार्चुला- महाकाली किनारको भारतीय क्षेत्र मालपामा दुबैतर्फको पुल बग्दा केही पैदल यात्रु बीचमै रोकिएका छन्। धारचुलादेखि करिब ५० किलोमिटर टाढा रहेको नजंङखोला र मालपा खोलामा राखिएको स्टिल पुल बाढी र पहिरोले बगाएको भारतीय अधिकारीले बताएका छन्।

भारतीय पैदलमार्ग भएर यात्रा गरिरहेका ३० जना भन्दा बढी नजंङ र मालपाको बीचमा अडिएका सुरक्षा अधिकारीले जनाएका हुन्। लगातारको वर्षाले उक्त क्षेत्रमा पहिरो गएको र खोलामा पानी बढ्दा नजंङखोला र मालपाखोलाको पुल बगेको हो। लखनपुरदेखि २ किलोमिटर दूरीमा रहेको नजङखोलादेखि उकालो चढेर मालपा पुगिन्छ। करिब ४ किलोमिटरको नजङखोलादेखि मालपासम्मको बाटोको टापुमा  ३ वटा अस्थायी पसलहरु छन्। पैदल यात्रुका लागि राखिएका पसलहरुमा यात्रु बसिरहेका छन्।

नजङखोला र मालपाखोलाको पुल बगेपछि यात्रुहरु बीचमै अडिएको जानकारी भारतीय सुरक्षा अधिकारीले नेपाली पक्षलाई दिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए। 'बीचमा रोकिएका यात्रुमध्ये केही नेपाली भए पनि संख्या खुल्न सकेको छैन', सहायक प्रजिअ जोशीले भने। भारतीय अधिकारीहरुले बीचमै रोकिएका यात्रुहरुको उद्धार गरिने बताएका छन्। एसएसवी र आइटीविपीको फौज उद्धारका लागि तयार गरिएको जानकारी नेपाली पक्षलाई दिइएको छ। नजंङखोला र मालपाखोला महाकाली नदीमा मिसिने साना सहायक नदी हुन्। यी दुबै खोलामा पानीको मात्रामा कम भए पनि भारी वर्षा र पहिरोले खोलामा राखिएका पुल बगेका हुन्। यस क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरिरहेकाले भूबनोट कमजोर समेत भएको छ। विस्फोटक पदार्थको अत्यधिक प्रयोग हुँदा भूभाग कमजोर भएको स्थानीयको बुझाइ छ। सडक निर्माणले नदी किनारको क्षेत्रमा ढुंगामाटो रहेको र वर्षाको पानीले बगाउँदा नदीमा पानीको सतह बढेको स्थानीयको भनाई छ। बीचमा रोकिएका पैदल यात्रुलाई हेलिकोप्टरमार्फत उद्धार गर्न आफन्तजनले अनुरोध गरेको व्यास गाँउ कार्यपालिका सदस्य वासुदेवसिह ऐतवालले बताए। भारतीय पक्षले भने रोकिएका पैदल यात्रु सुरक्षित रहेको र अर्को विकल्प नहुन्जेलसम्म अस्थायी होटलहरुमा बस्ने खबर गरिएको जनाएको छ।

प्रकाशित: २० असार २०७५ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App