८ वैशाख २०८१ शनिबार
राजनीति

डा. केसीको अवस्था गम्भीर, निषेधित क्षेत्र तोडेर अस्पताल लगियो

काठमाडौं– जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। 

चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाको माग गर्दै ५ दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनशन बसिरहेका डा केसीको स्वास्थ्य गम्भीर बनेपछि उनका सहयोगी र चिकित्सकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका छन्। 

स्थानीय प्रशासनले केसीको अनशनलाई मध्यनजर गर्दै प्रतिष्ठान क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। तर, उनको स्वास्थ्य अवस्था खस्किएपछि चिकित्सकले अनशनरत अवस्थामै निषेधाज्ञा तोड्दै थप उपचारका लागि अस्पताल पुर्याएका हुन्। 

डा. केसीलाई आस्मिक कक्षमा राखिएको छ। उनको उपचारमा प्रवीण डा. कुमार गिरी र सिद्धार्थ खाती संलग्न छन्। अक्सिजन दिएर उपचार भइरहेको छ।

हाम्रा जुम्ला सम्वाददाता डिबी बुढाका अनुसार डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापा र डीएसपी तपन दाहालको टोली अस्पताल पुगेको छ। टोलीले डा केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ।

अब डा. केसीको अनशन आकस्मिक कक्षबाटै हुने भएको छ।

यसरी लगियो अस्पताल

५ दिनदेखि कभर्डहलमा अनशन बसिरहेका डा केसीको स्वास्थ्यमा अपराह्न अचानक समस्या देखिएको थियो। उनको साथमा भाई किशोर केसी मात्रै थिए। उनी बोल्नै नसक्ने अवस्थामा पुगेका थिए। यो खबर प्रशासन कार्यालयमा डा. केसीको अवस्थमबारे परामर्श गर्न गएका डा. पुजन रोकायाले थाहा पाएपछि एम्बुलेन्स पठाएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५ जना चिकित्सकको टोली एम्बुलेन्ससहित अनशन स्थल पुगेर डा. केसीलाई अस्पताल पुर्याएको हाम्रा सम्वाददाता बुढाले जानकारी दिए। उनका अनुसार चिकित्सक पुग्दा केसीको शरीरमा पसिनै पसिना थियो, अवस्था चिन्ताजनक थियो।

प्रकाशित: २० असार २०७५ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App