coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष नेपालगञ्जमा जन्मोत्सव मनाउने

गत पुसमा नेपालगन्ज आएका वखत पूर्व राजा ज्ञानेन्द्र। फाइल तस्विर/नागरिक

बाँके– पूर्व राजा ज्ञानेन्द्र शाह निजी भ्रमणमा बुधबार नेपालगन्ज आउँदैछन् । आज बेलुका श्रीएयरको विमानबाट ४ः४५ मा नेपालगन्ज आउन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपाध्यक्ष ऋषि देवकोटाले बताए।  नेपालगन्ज विमानस्थलबाट सोझै भुजईगाउँस्थित सोल्टी होटलमा जाने कार्यक्रम रहेको उनले बताए ।

भ्रमणका क्रममा राजाले धार्मिक स्थलका साथै जनतासँग वर्तमान अवस्थाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको देवकोटाले नागरिकन्यूजलाई बताए । उनले भने,  ‘राजाले नेपालगन्जमा जन्मदिन मनाउनु हाम्रो लागि गर्वको कुरा हो । भ्रमण निजी भएपनि जनतासँग भेटघाट गर्ने कार्यक्रम छ । तर अहिले कहाँ कहाँ जाने निश्चित भैसकेको छैन ।’

पूर्व राजा शाहको जन्मोत्सवलाई भव्य बनाउन नेपालगन्जमा २१ सदस्यीय शुभजन्मोत्सव नागरिक मूल समारोह समिति गठन गरिएको छ ।

शाहले यसपटक असार २३ गते आफनो जन्मदिन नेपालगन्जमै मनाउने कार्यक्रम रहेको छ । पूर्व राजाको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल(राप्रपा) र राजा निकट ब्यक्तिहरुले छुटाछुटै तयारी गरिरहेका छन् । नेपालगन्जस्थित राँझा विमानस्थलमा राजा निकटसँगै राप्रपा नेपालका महामन्त्री डा. धवल शमसेर राणाले पुर्व राजालाई स्वागत गर्ने कार्यक्रम रहेको छ। यसैगरी राजावादी भुवन कृष्ण श्रेष्ठले नेतृत्वको टोलीले पनि स्वागत गर्ने तयारी गरिरहेको छ । श्रेष्ठका अनुसार राजासंस्था हिन्दु धर्मप्रति आस्था राख्ने नेपालीले राजाको स्वागत गर्न विमानस्थल पुग्दैछन् । पूर्व राजा शाहको जन्मोत्सवलाई भव्य बनाउन नेपालगन्जमा २१ सदस्यीय शुभजन्मोत्सव नागरिक मूल समारोह समिति गठन गरिएको छ ।

भुवनकृष्णा श्रेष्ठ अध्यक्ष रहेको समितिको उपाध्यक्षमा विपिन श्रेष्ठ, सूर्य खत्री, महासचिव भीमबहादुर शाही, सहसचिव अशोक थापा र कोषाध्यक्षमा भरतध्वज शाही छन्। पछिल्लो पटक पूर्व राजा ज्ञानेन्द्र पुसमा नेपालगन्ज आएका थिए।
गत पुस १३ गते नेपालगन्ज आइपुगेका ज्ञानेन्द्रको भ्रमण धार्मिक र कुटनीतिकरुपमा केन्द्रित देखिएको थियो। सुरुमा दुई हप्ता मध्य तथा सुदूरपश्चिमका धार्मिकस्थलको भ्रमण गर्ने भनिए पनि करिब तीन साता बिताएर ज्ञानेन्द्र काठमाडौं फर्किएका थिए। त्यतिबेला पूर्वराजा शाहले बाँकेको बागेश्वरी मन्दिर, सुर्खेतको देउती बज्यै, प्युठानको स्वर्गद्वारी, दाङमा रहेको एसियाकै ठूलो त्रिशुल, बर्दियाको ठाकुराद्वारालगायतको भ्रमण गरेका थिए ।

पछिल्लो पटक नेपालगन्ज आएका बेला राजा शाहले नेपालगन्ज भुजइ गाउँस्थित होटल सोल्टीको उद्घाटन गरेका थिए। भ्रमणकै क्रममा शाहले भारत उत्तर प्रदेशको पनि भ्रमण गरेका थिए । उत्तर प्रदेशका मुख्य मन्त्रीसँग भेटे गरेपछि भने राजाको भ्रमण धार्मिकसँगै राजनीतिक भएको भनि अथ्र्याइएको थियो ।

शाहले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथसँग भेटवार्ता गरी नेपाल फर्किएका थिए। यसपटक करिब १५ दिन शाहले नेपालगन्जमा बिताउने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपाध्यक्ष देवकोटाले बताए।

यसैसाता राप्रपा अध्यक्ष कमल थापाले देशव्यापी रुपमा युवा संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै भ्रमण गरेका थिए । भ्रमणमा थापाले राजा सहितको हिन्दू अधिराज्य पुर्नस्थापनामा पार्टी सक्रिय भएर लागेका बताए।

प्रकाशित: २० असार २०७५ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App