६ वैशाख २०८१ बिहीबार
मुख्य समाचार

अन्तर्राष्ट्रिय ‘क्वाजीक्रिस्टल’ सम्मेलन धुलिखेलमा

काठमाडौं– नेपालमा १३ औं अन्तर्राष्ट्रिय ‘क्वाजीक्रिस्टल’ आइसीक्यु–१३) सम्मेलन आयोजना हुने भएको छ। असाेज २ गतेदेखि ८  सम्म काभ्रेको धुलिखेलमा सञ्चालन हुने सम्मेलनमा ‘क्वाजीक्रिस्टल’ (विशेष किसिमको ठोस पदार्थ) पत्ता लगाउने नोबल पुरस्कार विजेता प्राध्यापक ड्यानिल सेफ्टमेन उपस्थित हुने आयोजकले जनाएको छ ।

‘क्वाजीक्रिस्टल’ पत्ता लगाउने नोबल पुरस्कार विजेता प्राध्यापक ड्यानिल सेफ्टमेनलगायत विश्वका १५० वैज्ञानिक भेला हुँदै

नेपाल, भारत, युरोप र अमेरिकाका करिब १ सय ५० वैज्ञानिक उपस्थिति हुने सम्मेलनका अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिए । ‘६ दिनसम्म चल्ने सम्मेलनमा तीन वर्षदेखि हालसम्म उक्त क्षेत्रमा वैज्ञानिकले गरेका कामको लिखित तथा मौखिक प्रस्तुति हुनेछ,’ उनले भने‚ ‘भविष्यमा ‘क्वाजीक्रिस्टल’को क्षेत्रमा गरिने कामको बारेमा पनि सम्मेलनबाटै थाहा हुनेछ।’

नौ वर्षदेखि लिभरपुल विश्वविद्यालय, भौतिकशास्त्र विभागमा सहप्राध्यापक डा. शर्माले आफूले अध्ययन–अनुसन्धान गरेको विषयमा केही गरौं भन्ने उद्दश्यले नेपालमा सम्मेलन आयोजनाका लागि तीन वर्षअघि आवेदन दिएका थिए। सोहीअनुसार सम्मेलनको सल्लाहकार समितिले नेपालमा ‘आइसिक्यु–१३’ आयोजना गर्ने निर्णय गरेको थियो।

स्वदेशी तथा विदेशी नेपाली वैज्ञानिकका लागि तीन वर्षभित्र पदार्थ विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने वातावरण बनाउन लागिपरेको डा. शर्माले जनाए। त्यो हुन सकेमा विदेशी संघसंस्था खोजिरहनुपर्ने अवस्था नआउने उनको भनाइ छ।

विश्वका सयौं विश्वविद्यालयमा नेपाली वैज्ञानिकको जमात छ। ‘उनीहरूले नेपालका लागि अनुसन्धानमा सहयोग गर्ने वातावरण बनाउन छलफल चलाउनेछौं। त्यसका लागि ‘नेपाल साइन्स फाउन्डेसन’ बनाएर काम गर्न लागिरहेका छौं,’ उनले भने।

६ दिनसम्म चल्ने सम्मेलनमा भौतिकशास्त्री‚ रसायनशास्त्रीका साथै पदार्थविज्ञान तथा गणितमा काम गरिरहेका वैज्ञानिक सहभागी रहने  
आयोजकले जनाएका छन्।
 

प्रकाशित: २२ भाद्र २०७३ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App