coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कति सहिष्णु छौँ हामी?

रटान एक : ‘नेपाल बहुभाषिक, बहुजातीय, सार्वभौम हिन्दु राज्यतन्त्र भएको मुलुक हो ।’ रटान दुई ः ‘नेपाल हिन्दु राज्य हो तर नेपालको परिचय भन्नु नै यहाँको धार्मिक सहिष्णुुता हो र यहाँ धर्मका नाममा कुनै दंगा भएका छैनन्।’

यी हुन्, कक्षा ६ र ७ को सामाजिक किताबका पंक्ति, २०५८–५९ सालतिरका । रटान लगाउने क्रममा शिक्षकले छिमेकी मुलुकको नकारात्मक उदाहरण हामीलाई दिन्थे । भारतमा भएका हिन्दु–मुस्लिम दंगासँग नेपालको तुलना गर्थे र त्यहाँको जस्तो दंगा यहाँ नभएको भन्थे । ‘गुरुवचन’ले हाम्रो दिमागलाई सिमेन्टको प्लास्टरजस्तै टालेको थियो । शिक्षकको व्याख्यान र किताबी अक्षर नै धु्रवसत्य थिए । हाम्रो मनमा कुनै प्रश्न हुन्थेन, प्रतिप्रश्न हुन्थेन।

घोक्ने–घोकाउने शिक्षण प्रणालीले हामीलाई प्रश्न गर्न सिकाउने कुरै भएन । वैकल्पिक इतिहास पढाउने त कुरै छाडौँ, त्यसको कल्पनाको संकेतसम्म दिइएन । हामी ‘सरकारी इतिहास’को राष्ट्रवादको महानताकै वकालतमा भुलिरह्यौँ । ‘गैरसरकारी इतिहास’को राष्ट्रियता हामीलाई के थाह!

पछि थाहा भयो, हामी स्कुलमा हुँदै भएका राष्ट्रियतासँग जोडिएका अनेक घटना । भारतीय अभिनेता ऋतिक रोशन काण्ड । २०६३ सालमा भएको नेपालगञ्जको दंगा । यस्ता अनेकन् काण्ड–दंगालाई पिर्कामुनि लुकाएर भान्छामा सफा–सिनित्त खानकी मात्र पस्किइएको पो रहेछ!

आफ्ना गल्ती–कमजोरी हेर्न नखोज्नु सबैजसो धार्मिक सम्प्रदायको समस्या हो। धर्मकै आडमा शताब्दीऔँदेखि पिँधमा पारिएकै कारण दलित समुदायका केही व्यक्तिले धर्म फेरे।

२०६१–६२ वरपर दलित समुदायले गरेको मन्दिर प्रवेशका घटनाबारे त घरघरमै चर्चा भएको थियो । अझ बेलाबेलामा गाई मारेको घटना त सुनेकै थियौँ । यस्ता घटनासँग सम्बन्धित बन्द र हिंसाको कुनै लेखाजोखा नै भएन । २०७२ मा यस्तै एउटा घटनाले सुदूरपश्चिम तातेको थियो । दर्जनौँ गाई मारेको भनेर केही अतिवादी संगठनले सुदूरपश्चिम बन्द र अन्य विरोधको कार्यक्रम गरेका थिए । सञ्चारमाध्यममा पनि घटनाको वास्तविकतै नबुझी समाचार आए । पछि खोज पत्रकारिता केन्द्रले गरेको रिपोर्टिङमा ‘नमरेका गाई मरे’ भनेर यथार्थ आयो।

बताइएन्, किन र कति कारणले यी घटना भए ? न स्कुल र कलेज, न आफन्त र परिवार, कसैले भनेन । अछूत र तल्लो जातको नाटक भन्दै आफैँभित्र जारी हिंसा र विभेदका घटनालाई छोपछाप पार्थे । यस्ता खाले सूचना र वास्तविक ज्ञानबाट हामीलाई टाढा राखियो । हामीलाई एकल जात–धर्म–क्षेत्र–लिंग–वर्ण–क्षेत्रको वर्चस्वको इतिहासका खुराक मात्रै दिइयो । प्रश्न गर्ने सीप र शक्तिबाट हामीलाई टाढा राखियो । (दुई तिहाइ मैँमत्तहरूको यो ‘क्रान्तिकारी’ शासनकालमा पनि भनिँदै छ— प्रश्न गर्न नपाई!)

रटान र कथनलाई चिर्न त्यति सजिलो भने छैन– त्यस्तै शक्तिशाली कुनै वैकल्पिक इतिहासको खोज नभएसम्म । खोज भइसकेका वैकल्पिक इतिहास नपढिएसम्म।

मौलिक खाले धार्मिक लडाइँ
‘हिन्दुलाई मात्र प्रवेश’, ‘इन्ट्रान्स फर हिन्दु अन्ली !’ पशुपतिनाथ मन्दिर अगाडिको पहेँलो भुँइमा रातो अक्षरले लेखिएको बोर्ड झुन्डिएको छ । यसको मतलब गैरहिन्दुलाई यहाँ प्रवेश निषेध छ । अध्येताहरूका अनुसार २०१० साल अघिसम्म यही प्रवेशद्वारमा ‘अछूतलाई प्रवेश निषेध’ लेखिएको चिनो पाटी थियो । अनेक संघर्षको परिणामस्वरूप त्यो बोर्ड हटाइएको थियो । त्यस्तै ‘अलिखित संविधान’ नेपालका धेरै मन्दिरमा छ, लिखित रूपमा नराखिए पनि।

लामो समयदेखि नेपालमा हिन्दु धर्ममा आधारित वर्णव्यवस्था र जातप्रथा प्रचलित थियो । १९१० सालमा बनाइएको मुलुकी ऐनले भने कानुनीरूपमै छुवाछूत प्रथा लाद्यो । यही कानुन बमोजिम चलेको राज्यले दलितलाई गैरहिन्दुसरह बनायो । मुलुकी ऐनको भाषामा ‘म्लेच्छ’ (आफ्नो धर्म बाहेकका व्यक्ति) कै हाराहारीमा पु-यायो।

यही धर्म र कानुनका कारण अहिले पनि सवर्णहरूले छुवाछूत प्रथालाई अँगालेका छन् । उनीहरूले छुवाछूत धार्मिक रूपमा अघिल्लो जन्मको पापको परिणाम भन्ने खालका भ्रमपूर्ण भाग्यवादी सोचको बीउ छरेका छन् । पाप र पुण्यको लेखाजोखा गर्न धर्म र भाग्यवादकै सहारा लिन्छन् । तर भाग्यवादसँगै जोडिएका देउतासम्म पुग्ने हक चाहिँ दलित समुदायलाई दिएका छैनन् । यो बन्देजले दलितलाई भाग्यको याचना गर्ने ठाउँ पनि नदिएको देखिन्छ।

लेखक पदम सुन्दासका अनुसार सवर्णहरूको यस्तै रवैयामा दलित समुदायलाई आफ्नै धर्ममा समेट्न चाहिँ समेटिराख्ने, तर आफूभन्दा पर पनि राख्ने नियत राखेको देखिन्छ । यसैको परिणामस्वरूप भाग्यवाद वा अघिल्लो जन्मको आडमा मन्दिर, होटल वा अन्य सार्वजनिक ठाउँबाट दलितलाई सधैँ टाढा राख्ने गरिएको छ । दलितलाई सार्वजनिक स्थलबाट टाढा राखिनु भनेकै उनीहरूलाई संगठित हुन नदिनु हो । नियतवश गरिएका यस्ता अभ्यासले सवर्णको वर्चस्वशाली प्रभाव सार्वजनिक स्थलमा रहिरहने ग्यारेन्टी गर्छ । सार्वजनिक स्थलमा भएका संघर्षका घटनाले नेपाली समाज, विशेषगरी हिन्दु समाज कति असहिष्णु रहेछ भन्ने प्रस्ट देखाउँछन्।

नेपालमा विभिन्न समयमा मन्दिर प्रवेशका लागि संघर्ष भएका घटना उल्लेखनीय छन् । ती घटनामा भएका अहिष्णुता मात्रै होइन, हिंसा नै भएको इतिहास छ । त्यस्ता हिंसात्मक द्वन्द्व साँच्चै दुईवटा धार्मिक समुदायबीच भएका युद्धभन्दा कम थिएनन् । कस्तो विडम्बना भने यस्ता युद्धमा एकै धर्मभित्रका दुई पक्ष वा स्वधर्मीहरूबीच नै आपसी लडाइँ भएका छन् । अरू धार्मिक युद्धभन्दा यी द्वन्द्व फरक छन् । किनभने दलितहरूका लागि यी आत्मसम्मानका लडाइँ थिए भने गैरदलितका लागि आफ्नो रवाफ र दबदबा खोसिन लागेको डरको अभिव्यक्ति । यही डरको अभिव्यक्ति उनीहरूले प्रयोग गरेका भाषा, कुटपिट अनि हिंसामा देखिन्छ।

तल्लो तहमा राख्ने अनि त्यही धर्मको अनुनय गर्ने स्थानमा प्रवेश नदिने ! धर्मका अनुयायीहरूको यस्तो दोहोरो चरित्रले पनि असहिष्णुताको परिचय दिएको छ । शैलेश्वरी मन्दिर, सिद्धकाली मन्दिर, गोरखकाली मन्दिर, बैंकटेश मन्दिर, पशुपति मन्दिर प्रवेशका घटनाले हाम्रो समाजको असहिष्णु चरित्र देखाउँछ । यस्ता चरित्रको छायाँमा बसेर उनीहरूले आफ्नो समाज सहिष्णु रहेको वकालत गर्न पक्कै नसक्नुपर्ने हो, तर त्यस्तो भएको छैन।

यस्ता घटना र प्रवृत्ति कहीँ लेखिँदैनन् र कतै पढाइँदैनन, जसले गर्दा ती इतिहास पनि बन्दैनन् । तर यी वास्तविक इतिहास हुन्, त्यस्ता संघर्षका इतिहास, जुन मौलिक छन् । एकै धर्मका एकै देवता मान्ने विभिन्न वर्ण र जातका मानिसबीच मन्दिरमा पस्न र देवतालाई पूज्नका लागि गरिएको संघर्षको कथा । अन्यत्र कमै मात्र हुने यस्ता मौलिक संघर्षको इतिहासको जिकिर स्कुल–कलेजका किताबमा हुँदैन।

इतिहासको पढाइ    
धार्मिक सहिष्णुुताबारे के पढाइयो भन्ने विषयबाट अब के पढाइन्छ भन्नेतर्फ लागौँ । अबको इतिहासका पाठले धर्मको निर्माण र प्रभावसँगै द्वन्द्व र एकतालाई समेट्ने र आफैँमाथि पनि प्रश्न गर्न सक्ने पुस्ता जन्माउनुपर्ने हो । तर अझै पनि पाठ्यपुस्तक–शिक्षक केही बदलिएजस्तो देखिए पनि उही ढाँचाकाँचाका छन्।

अनौपचारिक ज्ञान दिने परिवार, छिमेक अनि समाजले पनि एकल जातीय र धार्मिक पाठ सिकाउँछन् । उनीहरूले जतिसुकै ढाकछोप गरे पनि नेपाली समाजमा धार्मिक अतिवादको उदाहरण कम देखिँदैन । त्यसको सबैभन्दा मारमा दलित र महिला परेका छन् । २०७१ साउनमा १२ जना महिला अधिकारकर्मीको समूह ‘चौकठ’माथि रत्नपार्कमा गरिएको खुला हस्तक्षेप त्यसको उदाहरण हो । महिलाहरूलाई सार्वजनिक स्थलमा पहुँच र सुरक्षा कसरी गर्न सकिन्छ भन्ने छलफल गर्दैगर्दा २०० जनाको समूहले आक्रमण गरेको थियो महिलाहरूलाई तथानाम गाली गर्दै । उनीहरूले इसाई धर्म फैलाउन लागेको, गाई खान पाउनुपर्ने मागमा छलफल गरेको जस्ता आरोप लगाएर हमलालाई पुष्टि गर्न खोजेका थिए । प्रहरी प्रशासनले गलत सूचनाका कारण ती आक्रोशित र आक्रामक भएको भन्दै टारेको थियो।

इतिहासमा जातीय वर्चस्वको दबदबा कसरी कायम गरिन्छ, कसरी द्वन्द्व र त्यसका कारण छोपछाप पारिन्छ, यसको एक नमुना हो यो घटना । कसरी ज्ञान र सूचनाका माध्यमलाई नै प्रयोग गर्दै अज्ञानता र सूचनाहीनताको अवस्था कायम गरिन्छ, त्यसको पनि उदाहरण हो यो सन्दर्भ । हाम्रो समाजको पिलोका रूपमा रहेको समस्याबारे वैकल्पिक ज्ञान निर्माण र इतिहासको अध्ययनमा सबैजसो चुके । किनभने सञ्चार, शिक्षा, प्रहरी प्रशासन र राज्य उही रटान र घोकाइका उत्पादन र उत्पादक हुन्।

यी सबै संस्थामा एउटै धर्म, एउटै वर्ण र एउटै लिंगको वर्चस्व छ । तथ्य तोडमरोड गर्दै, तर्कलाई आफ्नो पक्षमा ढाल्दै इतिहासलाई आफ्नो अनुकूल ढाल्नु सवर्ण पुरुषहरूको विशेष गुण नै हो । हिन्दु धर्ममा रहेको वर्णव्यवस्था र जातप्रथाविरुद्ध उभिएका बुद्धलाई समेत आफ्नो धर्मको एक अवतारका रूपमा समाहित गर्ने हदसम्मको कुतर्क गर्न पनि उनीहरू पछि परेका छैनन् । बुद्ध हिन्दू धर्मकै अवतार भए बौद्धहरूले जस्तै हिन्दुहरूले आफ्ना मठमन्दिर दलितहरूका लागि पनि किन खुला गर्न सक्दैनन्, वर्णव्यवस्थालाई निमिट्यान्न पार्न सक्दैनन्, यसरी गरिने प्रश्न उनीहरूका लागि रुचिकर छैन।

आफ्ना गल्ती–कमजोरी हेर्न नखोज्नु सबैजसो धार्मिक सम्प्रदायको समस्या हो । धर्मकै आडमा शताब्दीऔँदेखि पिँधमा पारिएकै कारण दलित समुदायका केही व्यक्तिले धर्म फेरेका छन् । आफ्नो आस्थाको देवता भएका ठाउँमा पनि पहुँच नहुँदा उनीहरूले अन्य धर्म अंगिकार गरेको देखिन्छ । अन्य धर्ममा लाग्नेहरूमा अधिकांश दलित या जनजाति रहेको पाइन्छ । धर्म परिवर्तन गरी अन्य धर्ममा लाग्नुलाई सवर्ण जातिले आफ्नो धर्म र राष्ट्रमाथिको वैदेशिक प्रहारका रूपमा लिन्छन् । यसरी हेर्दा धर्मको पक्षपोषण वा धर्म परिवर्तनविरुद्ध दिइएका अभिव्यक्ति धर्म विशेषको वकालतभन्दा पनि जात–विशेषविरुद्ध दिइएको अभिव्यक्तिजस्तो लाग्छ । यस्तो अभिव्यक्ति र व्यवहारमा कतै पनि सहिष्णुता र सद्भाव पाएको अनुभूति हुँदैन।

(लेखक दलित रिडर आबद्ध अध्येता हुन्)

प्रकाशित: २० असार २०७५ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App