८ वैशाख २०८१ शनिबार
कला

‘थोपाहरू’ भित्र विधाताका सिर्जना

काठमाडौं – कलाकार विधाता केसी पानीका थोपासँग नभई रंगका थोपासँग खेल्न रुचाउँछिन् । उनी रंगका थोपाभित्र मानवीय भाव केलाउन मनपराउँछिन्।

कलाकारिता सुरु गरेदेखि नै उनले रंगका थोपालाई कलाको सारथी बनाइन् । अचेल उनी रंगको थोपालाई रुखका पातसँग मितेरी लगाउँदै मानवीय अस्तित्वको सार खोज्ने अभियानमा छिन् ।एघार वर्षअघि सन् २००७ मा जब उनले पहिलो प्रदर्शनी गरिन् त्यतिबेला पातका हरियापहेला रंगलाई प्रमुखताका साथ प्रस्ततु गरिन् ।

पहिलो प्रदर्शनीपछि उनले निरन्तर पात कलामा थोपारंगमा कुचीलाई चलायमान बनाइरहिन् ।चित्र बनाउन उर्जा, मानसिक शक्ति र केही गर्न सक्छु भन्ने बलियो भाव चाहिन्छ । त्यसपछि सबै कुरा दाहिना भएर उत्रन्छन् भन्ने बलियो मानसिकता बोकेकी केसीले आफ्ना सुरुवातदेखि हालसम्ममा उत्कृष्ट कला प्रदर्शनी मंगलबारदेखि ललितपुरको जीजी मचानमा सुरु भएको छ ।सिरिज कलाका रुपमा उनले सन् २००७ देखि बनाएका पातको रंगिन भाव एक्रेलिक माध्यमबाट फक्रिएका छन् । त्यस्तै, सन् २०१४ देखि उनले थालेको अर्को शृखंलात्मक मुस्ताङ यात्राको कला पातसँगै रंगिन थोपाभित्र अटाएका छन्।

‘पात र मान्छेको जीवन उस्तै हो,’ केसी तुलना गर्छिन्, ‘जसरी मान्छेको जीवन एउटा सीमाभित्र बाँधिएका हुन्छन् त्यसरी नै पातका नसा पातको परिधीभित्र सीमित हुन्छ ।’ केसीका अनुसार मान्छेको मनलाई झैं पातका नसालाई पनि पातबाट बाहिरिएर संसार हेर्न मनपर्छ । पातको आकारको घेराले त्यो सीमित पार्छ । मान्छेको मन पनि स्वतन्त्र भएर स्वच्छ आकाशमा उड्न मनपराउँछ ।

तर परिवार, समाज र परिवेशको अघि उसको केही चल्दैन । आफ्ना हरेक चाहना थाती राखेर मानिस एउटा बन्धनमा बस्न वाध्य छन् । ‘मान्छेको जस्तै पातको पहिचान अरुका निर्भर हुन्छ,’ उनी थप सुनाउँछिन्, ‘ठूलो रुख बन्न अनि फल र फूल बन्न पातको कति भूमिका हुन्छ त्यसको कुनै लेखाजोखा हुन्न ।’ मानिस र पातकोजीवन एउटा सामान्य प्रक्रियाभित्र बाँच्न विवस छन्, उनको अ्नुभव छ । त्यसले दिने फलिफापको चर्चा भए पनि त्यो प्रक्रियामा योगदान दिएको पातको कुनै मूल्य रहँदैन् । उनले प्रकृतिको विपरीत पातको मनलाई पातको घेराबाट काल्पनिक रुपमा बाहिर पुर्याउने दुस्साहस चित्रबाटै गरेकी छिन् । र त्यहीबाट सुरू हुन्छ उनको अर्को कलात्मक यात्रा मुस्ताङको कला । मुस्ताङ घुम्न जाँदा उनले अर्को संसार फेला पारिन् ।

पातभन्दा बाहिरको संसारजस्तै लाग्यो उनलाई त्यहाँको सुन्दर ढुंगा । अनि ती ढुंगाले बनेका घर र भित्ताहरू । ‘घेराबाहिर निस्केर स्वास लिँदा कस्तो हुन्छ भन्ने अनुभव मेरा मुस्ताङ चित्र हुन्,’ उनले अर्को शृखंलाको कुरा बताइन्, ‘ढुंगा र रंगिन माटाका एकलासे घर मलाई स्वर्ग जस्तै लाग्छ ।’ ढुंगा भगवान् भनेर नेपाली समाजमा पूजिन्छ । त्यही भगवानको बास रहेको एउटा फरक रमणीय स्थलजस्तो चित्रण उनका कलाले गर्छ ।त्यहाँको ढुंगाले पनि मुस्ताङको कला र संस्कृति बोकेर हिँडेजस्तै उनलाई लाग्छ । त्यसैले ती ढुंगाका हरेक आकारलाई उनले क्यानभासभित्रको रंगका थोपाले सजाएकी छिन् । चित्रात्मक व्याख्याभित्र राखिएको स्वर्गीय डीना वाङ्गदेलको भनाइ अनुसार विधाताका यी दुई कलात्मक आयामका चित्रले एकअर्कासँग अन्तरक्रिया गर्छन् ।

‘आत्मिक भाषा बोल्ने विधाताका कलाले एकात्मक सांस्कृतिक संरचनाभित्र रहेको लैंगिकताको कुरा गर्छन,’ डीनाले भनेकी छिन् । भौतिक सिजर्नामार्फत विश्वव्यापी बहस गर्न उनका कला सफल रहेको दाबी डीनाले गरेकी छिन् ।
उनका अनुसार चित्र बेचेर जीवन गुजार्न नेपालमा कठिन छ । तर जीवनको सन्तुष्टी र सार्थकता खोज्न चित्रबाहेक उनीसँग विकल्प छैन ।उनको कला प्रदर्शनीको नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसा मेसक्वेटा पेसोवाले उद्घाटन गरिन् । थोपाहरूभित्र अटाएको १३ पात र ५ वटा मुस्ताङ चित्र अटाएका छन् । कला प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

प्रकाशित: २० असार २०७५ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App