coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गुफामा फसेकाको उद्धार गर्न कठिन

टर्च लाइटको सहयोगमा गुफाभित्र बसिरहेका किशोरहरु । तस्बिर : बिबिसी

बैंकक – बाढीग्रस्त गुफामा फसेका १२ किशोर र उनीहरुका कोचलाई सुरक्षित तरिकाले बाहिर निकाल्न अत्यन्तै कठिन भएको थाइल्यान्डका उद्धारकर्ताहरुले बताएका छन्।

उनीहरुलाई कसरी सुरक्षित तरिकाले बाहिर निकाल्ने भन्नेबारे योजना बनिरहेको उद्धारकर्तालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सोमबार जीवितै भेटिएका १२ किशोर र उनीहरुका फुटबल कोचलाई मेडिकल उपचार र खाद्यान्न दिइएको बिबिसीले जनाएको छ।

थाइल्यान्डको उत्तरी क्षेत्रस्थित एउटा गुफामा पसेका उनीहरु विशाल पानी परेपछि आएको बाढीका कारण विगत दश दिनदेखि त्यही गुफामा नै बसिरहेका छन् । सोमबार गोताखोरहरु उक्त गुफामा पुगी फसेका १३ जनाको स्वास्थ्योपचार गरी उनीहरुलाई खाना दिएका थिए ।

निरन्तर ठूलो पानी परेपछि उनीहरु फसेको गुफामा पानीको सतह बढेकाले उक्त क्षेत्रमा हवाई उद्धार गर्नसमेत कठिन भएपछि सरकारले गोताखोरलाई उनीहरुले आश्रय लिइरहेको गुफामा पठाएको थियो । उनीहरुको ज्यान जोगाउनका लागि भूमिगत प्रणालीबाट पानीलाई पम्पिङ गरेर पानीको सतह घटाउने प्रयास भइरहेको बिबिसीले जनाएको छ । व्यवसायिक गोताखोरहरुले विसम परिस्थितिका बाबजुत पनि उनीहरुलाई औषधि र खाद्यान्न पु¥याउन कोशिश गरिरहेको बताइएको छ । १२ किशोर र एक फुटबल कोचको उद्धार अत्यन्तै जटिल प्रकृतिको भएको बिबिसीले उल्लेख गरेको छ ।

फसेका किशोरहरुले आफ्ना परिवारसँग कुराकानी गर्न सकँुन् भनेर गुफामा नै फोनलाई स्थापना गरिएको छ । यसअघि थाई सेनाले गुफाबाट बाहिर निस्कने हो भने किशोरहरुले पौडी खेल्न जान्नु पर्ने वा बाढीको सतह नघटेसम्म महिनौं गुफामा नै बस्नुपर्ने बताएको थियो । पौडी खेल्न नजान्ने हो वा यो विकल्पमा जान नसकिने हो भने अबको चार महिनासम्मका लागि उनीहरुलाई गुफामा नै खानेकुरा पु¥याउन आवश्यक हुने थाई सेनाले बताएको थियो । गुफामा फसेकामध्ये अधिकांशलाई पौडन नआउने र यदि यस्तै परिस्थितिमा उनीहरुलाई पौडिन लगाइयो भने उद्धारमा थप जटिलता आउनसक्ने बताइएको छ ।

किशोरहरुको अनुहारमा पुरै ढाकिने स्कुबा पौडिने मास्क उपलब्ध गराइदिन थाई प्रशासनले अपिल गरेको छ । बाढी आएको बाटोबाट उनीहरु बाहिर आउन खोजे श्वास फेर्न सजिलो होस् भनेर यस्तो आग्रह गरिएको थाई अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । किशोरहरु कैयौं दिनसम्म भोकै रहेकाले अत्यन्तै कमजोर भएको समेत बताइएको छ।

‘गुफामा फसेकालाई चिकित्सकको सुपरिवेक्षणमा भिटामिन र खनिजले भरिएको उच्च शक्ति भएको पचाउन सजिलो हुने खानेकुरा दिइएको छ,’ थाई नौसेनाको विशेष फौजका अपागर्न योकोनग्गावेलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ‘चिन्ता नगर्नुस्, हामी सकेसम्म उनीहरुलाई ख्याल राख्छौं । हामी उनीहरुलाई सुरक्षित तरिकाले बाहिर निकाल्छौं,’ उनले बताए । यदि ती किशोरहरु चार महिनासम्म गुफामा नै बस्नुपर्ने भयो भने त्यस्तो अवस्था अत्यन्तै कठिन हुने पनि उनले बताएका छन् ।

उनीहरु कसरी भेटिए ?
उद्धार गर्न उडेको टोलीमा रहेका दुई बेलायती गोताखोर उद्धारकर्ताले ती किशोरहरुलाई सोमबार राति भेटेका थिए ।

दश दिनअघिदेखि गुफामा फसेका ती किशोरहरुलाई उद्धारकर्ताले पहिलो पटक भेट गरेको भिडियो थाई सेनाको विशेष फौजले आफ्नो फेसबुक पेजमा राखेको छ । भिडियोमा ती किशोरहरु टर्च लाइटको उज्यालोमा पानीमाथि बसिरहेको र उद्धारकर्ता गोताखोरसँग १३ जनाले नै बोलेको देखिएको छ । उनीहरुले आफूहरु भोकै रहेकोसमेत उक्त भिडियोमा बताएका छन् ।

उनीहरुले आफूहरु कति दिन त्यसरी नै गुफामा बस्नुपर्ने र कहिले बाहिर निस्कन पाउने भन्दै प्रश्न गरेका छन् । गोताखोरहरुले भने उनीहरुलाई केही दिन कुर्नु पर्ने र उनीहरुको उद्धारमा मानिसहरु आउने बताएका छन् । हराएका ती किशोरहरुको समूहको खोजीलाई लिएर थाइल्यान्डभर चासो व्यक्त भएका छन् र सोमबारसम्म ती किशोरहरु अझै जिउँदै छन् वा छैनन् भन्नेबारे चिन्ता व्यक्त भएका थिए । आफ्ना छोराहरु भेटिएपछि परिवारमा भने हर्षोल्लास भएको बिबिसीले जनाएको छ।

कसरी पुगे गुफामा ?

११ देखि १६ वर्षभित्रका किशोर र उनीहरुका २५ वर्षीय कोच गत जुन २३ बाट हराइरहेका थिए । पानी नपरेको बेला उनीहरु गुफामा छिरेको र उनीहरु गुफामा छिर्नेबित्तिकै पानी परेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुलाई गुफाको मुखबाट चार किलोमिटर भित्र एउटा ढुंगामा भेटिएको बिबिसीले उल्लेख गरेको छ ।
 

प्रकाशित: २० असार २०७५ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App