७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिमरा गार्मेन्ट प्रशोधन क्षेत्र वर्ष दिनमा तयार हुने

काठमाडौं - सिमरा विशेष आर्थिक क्षेत्रभित्र बनिरहेको गार्मेन्ट प्रशोधन केन्द्र वर्ष दिनभित्र तयार हुने भएको छ । भौतिक पूर्वाधार निर्माण काम भइरहेको उक्त क्षेत्रलाई वर्ष दिनभित्र प्लटिङ सकेर उद्योग स्थापनाको काम सुरु गर्ने विशेष आर्थिक क्षेत्र, प्राधिकरणले जनाएको छ।

उक्त प्रशोधन केन्द्रलाई वर्ष दिनभित्र बनाएर सक्ने गरी काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । ‘वर्ष दिनमा प्लटिङको काम सकेर उद्योग स्थापनाको प्रक्रिया अघि बढाउँछौं,’ भट्टले नागरिकसँग भने, ‘अहिले पूर्वाधारको काम भइरहेको छ।’

उनका अनुसार अहिले उक्त प्रशोधन केन्द्रको लागि भवन, बाटो, बत्ती, फोहोरपानी प्रशोधन, कम्पाउन्ड, क्याबिन, हल लगायतको काम भइरहेको छ । हालसम्म बाटोको काम ६० देखि ७० प्रतिशत र भवन निर्माणको काम २० प्रतिशत सकिएको छ । दुई अर्ब ६० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको उक्त क्षेत्रमा बाटोको लागि ९० करोड र भवन निर्माणको लागि ३५ करोड रुपैयाँ बजेट छुट्याइएको भट्टले बताए ।आठ सय ४० बिघा क्षेत्रमा फैलिएको सिमरा सेजमध्ये एक सय ६५ बिघामा गार्मेन्ट प्रशोधन क्षेत्र निर्माण भइरहेको हो ।

भैरहवा सेजमा उद्योग सञ्चालनको तयारीमा भइरहँदा सिमरा क्षेत्रमा कामलाई तीव्र पारिएको भट्टले बताए । ‘भैरहवा सेजमा उद्योग सञ्चालनको तरखर भइरहेको छ,’ भट्टले नागरिकसँग भने, ‘अब सिमरा सेजभित्रको गार्मेन्ट प्रशोधन क्षेत्रको निर्माण सम्पन्न गर्ने तयारीमा छौं ।’ भैरहवा सेजका उद्योगले भौतिक संरचना निर्माण सुरु गरिसकेका छन्।

उक्त सेजमा उद्योग सञ्चालन भएपछि अन्य सेजमा पनि उद्योगीलाई उत्साह थपिने विश्वास सरकारले लिएको छ ।
सरकारले सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र बनाउने घोषणा गरिसकेको छ । सरकारको योजना अनुसार सातै प्रदेशमा जग्गा छनोट सहित सम्भाव्यता अध्ययन सकिएको प्राधिकरणले जनाएको छ ।

सरकारले प्रदेश नम्बर १ को विराटनगर, प्रदेश २ को सिमरा, प्रदेश ३ को पाँचखाल, प्रदेश ४ को गोरखा, पाँच प्रदेशको भैरहवा, प्रदेश ६ मा जुम्ला र प्रदेश ७ को धनगढीमा निर्माण गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ । यसमध्ये प्रदेश ५ को सञ्चालनमा आउने तयारीमा छ । सिमरा र पाँचखालको निर्माणाधीन अवस्थमा छ । अन्य क्षेत्रमा भने सम्भाव्यता अध्ययन सकिएको अवस्था छ ।

प्रकाशित: २० असार २०७५ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App